Tourism

पर्यटन प्रवर्द्धनका लागि बुंगमतीमा महोत्सव हुँदै, प्रवेश शुल्क नलाग्ने

Pinterest LinkedIn Tumblr

काठमाडौं । आगामी शनिबार बुंगमतीमा ‘बुंग महोत्सव’ हुने भएको छ । ‘इकोज इन द भ्याली’ले मंगलबार पत्रकार सम्मेलन गरी महोत्सबबारे जानकारी गराएको हो । महोत्सव बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म चल्ने आयोजक ‘इकोज इन द भ्याली’का सहसंस्थापक भूषण शिल्पकारले बताए । युरोपियन युनियनको सहयोगमा स्विच एशिया कार्यक्रम अन्तर्गत युएन ह्याबिट्याट, लुमन्ती, सिआइयुडी, आइएचएस र सभाद्वारा सञ्चालित पर्य-सम्पदा परियोजना मार्फत बुङ्गमतीको प्रवर्द्धनका लागि महोत्सव गर्न लागिएको हो ।

बुंगमतीमा रहेका मुर्त तथा अमुर्त सम्पदाहरू र हराउँदै गएका परम्परागत संङ्गित उजागर गर्ने र पुनरोत्थान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागेको शिल्पकारले बताए । महोत्सवले आगामी समयमा बुंगमतीप्रति पर्यटकको आकर्षण बढाउनेछ । जसले गर्दा स्थानियवासीको आर्थिकस्तरमा उन्नति हुने अपेक्षा गरिएको छ । 

बुंग महोत्सबका बारेमाः

महोत्सवमा लाइभ म्युजिक, नेवारी खाना, नेवारी वास्तुकलाको प्रदर्शनी गरिनेछ । साथै गाइडको सहायतामा बुंगमती सम्पदा भ्रमण गराउने कार्यक्रम रहेको छ । बुंग महोत्सब सबै उमेर समूहका मानिसका लागि निःशुल्क हुनेछ । जहाँ बालबालिकाको लागि कथा कथन, बोर्ड गेम र बडि आर्टको व्यवस्था गरिएको छ । त्यसैगरी अन्यले चिउरा, आइला र मकैको भुसीका सामान बनाउने जस्ता गतिविधिमा लागेर महोत्सवको रमाइलो लिन सक्नेछन् ।

महोत्सवमा नेपाल भाषा लिपि स्टल पनि हुनेछ । जहाँ मानिसहरूले रञ्जना लिपि र परम्परागत नेपाल भाषामा आफ्नो नाम लेख्न सिक्नुका साथै अन्य परम्परागत खेल खेल्न पाउनेछन् । बुंगमती हस्तकला तालिम केन्द्रका कलाकारहरूको विशेष कला प्रदर्शनी रहनेछ । महोत्सवको आकर्षण बढाउन सांगितिक प्रस्तुति राखिएको छ । कार्यक्रममा कुटुम्ब, रात्री, पञ्थामृत, रैथाने, कान्त डब डब र कल्पकुञ्ज लगायतका ब्यान्डहरूको प्रस्तुति रहनेछ ।

performers
महोत्सवमा प्रस्तुति दिने ब्यान्ड तथा कलाकारहरू

बिहान ९ बजे स्थानिय गाइडले बुंगमती भ्रमण गराउने कार्यक्रम समेत रहेको यु एन् हेविटेटका कम्युनिकेसन एसोसिएट हरि जंग थापाले जानकारी दिए । बुंग महोत्सवको ‘हेरिटेज वाक’मा बुंगमतीको इतिहाँस, कला, संस्कृति तथा रहनसहनको निःशुल्क ‘गाइड टुर’ गराइने छ । गाइड टुरका लागि आयोजकले खुल्ला गरेको गुगल फारममा नाम दर्ता गराउन पर्नेछ । पहिलो दर्ताको आधारमा सहभागिलाई प्राथमिकता दिइनेछ । फारम भर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

यो पनि पढ्नुहोस्ः

पर्यटनको आकर्षक केन्द्र बुंगमतीः नेवारी समुदायको सुन्दर सम्पदाबस्ती

भ्रमणमा सहजताका लागि बुंगमतीको म्यापको समेत व्यवस्था गरिएको छ । महोत्सवले पाँच हजारको संख्यामा जनउपस्थिति रहने अनुमान गरिएको छ । महोत्सवले स्थानिय कला र सांस्कृतिक सम्पदा उन्मुख पर्यटनमा प्रोत्साहन गराउने अपेक्षा गरीएको छ । 

भ्रमण सहजताको लागि उपलब्ध गराइने बुंगमतीको नक्सा

नेवाः समुदायको बाहुल्यता रहेको बुंगमती धार्मिक, सामाजिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले आपूरित छ । यस क्षेत्रमा ओझेल परेका सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्न स्थानीयको आर्थिक पुनरुत्थानका लागि युएन ह्याबिट्याटले निरन्तर रूपमा काम गर्दै आएको छ । महोत्सव पनि सो क्षेत्रको सम्पदा संस्कृति, र त्यस क्षेत्रमा ओझेलमा परेका कुराहरूलाई पर्यटक माझ पुर्याउन सञ्चालन गर्न लागिएको हो । 

प्रतिक्रिया दिनुहोस्
Pin It