Tourism

पर्यटनको आकर्षक केन्द्र बुंगमतीः नेवारी समुदायको सुन्दर सम्पदाबस्ती,

Pinterest LinkedIn Tumblr

काठमाडौं । काठमाडौं उपत्यका धार्मिक, ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण छ । फरकफरक भाषा र भेषभुषाले सुनमा सुगन्ध बढाएको छ । यहाँका कतिपय संरचना तथा सम्पदाहरू पर्याप्त मात्रामा पर्यटकको दृष्टिमा परिसकेका छन् । भने कतिपय सम्पदाहरू सुन्दर र रहस्यमय हुँदाहुँदै पनि ओझेलमा परिरहेका छन् । 

साम्प्रदायिकताका हिसाबले महत्वपूर्ण हुँदाहुँदै अन्वेषण हुन नसकेका सम्पदा मध्येको एक हो बुंगमती । जसलाई पछिल्लो समय सरकारले सम्पदा बस्ती घोषणा गरेको छ । र पर्यटन प्रवर्द्धनका लागि विशेष प्राथमिकता समेत दिएको छ ।

नेवाः समुदायको बाहुल्यता रहेको बुंगमती धार्मिक, सामाजिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले आपूरित छ । यहाँका मठ मन्दिर र मनाइने विविध जात्राको पृथक महत्व छ । यस क्षेत्रमा ओझेल परेका सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्न स्थानीयको आर्थिक पुनरुत्थानका लागि युएन ह्याबिट्याटले निरन्तर रूपमा काम गर्दै आएको छ । 

मंगलवार युएन ह्याबिट्याट तथा लुमन्तीद्धारा सञ्चालित कार्यक्रममा पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष रमेश थापाले ललितपुरको बुंगमतीलाई पर्यटन प्रवर्द्धनको हिसाबले प्राथमिकतामा राख्ने बताएका छन् । बुंगमतीसँग पर्यटकलाई देखाउने थुप्रै ऐतिहासिक एवं पुरातात्विक संरचनाहरू रहेकाले यो सम्पदा बस्तीलाई प्राथमिकतामा राखिने उनको भनाइ छ । बुंगमतीमा पर्यटकहरू आधा दिनको लागि मात्रै आउने गरेको स्मरण गर्दै पर्यटकको बसाइ लम्ब्याउन सकिने थुप्रै आधारहरू बनिसकेकाले त्यसतर्फ ध्यान दिएर प्याकेज बनाउन उहाँले पर्यटन व्यवसायी एवं गाइडहरूलाई आह्वान गरेका छन् । 

युरोपियन युनियनको सहयोगमा स्विच एशिया कार्यक्रम अन्तर्गत युएन ह्याबिट्याट तथा लुमन्तीद्वारा सञ्चालित पर्य-सम्पदा परियोजनाले बुंगमतीको पर्यटन प्रवर्द्धनलाई सहयोग पुर्‍याउन सीप विकाससँगै विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । सोहि कार्यक्रम अन्तर्गत नाट्टाका सदस्य तथा टुर गाइडहरूलाई बुंगमतीको महत्व बुझाउने अभिमुखीकरण कार्यक्रम गरिएको हो । 

प्रज्ञा प्रधान
कार्यक्रममा बोल्दै युएन ह्यबिट्याटकी कार्यक्रम प्रबन्धक प्रज्ञा प्रधान

कार्यक्रममा बोल्दै युएन ह्यबिट्याटकी कार्यक्रम प्रबन्धक प्रज्ञा प्रधानले सम्पदा बस्तीहरूको भौतिक पुननिर्माणसँगै आर्थिक पाटोलाई पनि ध्यान दिएर काम गरिरहेको जानकारी दिइन् । बुंगमतीका स्थानीयको आर्थिक पुनरुत्थानका लागि पर्यटन गतिलो माध्यम बन्ने सक्ने भएकाले विदेशी मात्रै नभएर आन्तरिक पर्यटकका लागि समेत सुहाउँदो प्याकेजहरूको व्यवस्थापन गर्न पर्यटन व्यवसायीसँग आग्रह समेत गरिन् । 

ललितपुर वडा नम्बर २२ का अध्यक्ष सागर तुलाधर भन्छन्- ‘बुंगमती ललितपुरको सबैभन्दा ठूलो वडा भएकाले पूर्वाधारहरूको विकासमा अझै धेरै काम गर्न बाँकि छ । यसलाई स्विकारेर पर्यटकलाई आकर्षित गर्न प्रवर्तन गर्न आवश्यक छ ।’ यसका साथै आफ्नो र स्थानीयको पनि आयवृद्धिमा सहयोगी बनिदिन पर्यटन व्यवसायीहरूलाई  उनले अनुरोध गरे । 

bungamati map handover
सागर तुलाधरले नाट्टाका अध्यक्ष रमेश थापालाई बुंगमतीको पर्यटकीय क्षेत्रबारे जानकारी दिने नक्सा हस्तान्तरण

कार्यक्रममा वडाध्यक्ष तुलाधरले नाट्टाका अध्यक्ष थापालाई बुंगमतीको पर्यटकीय क्षेत्रबारे जानकारी दिने नक्सा समेत हस्तान्तरण गरेका थिए । साथै युएन ह्याबिट्याटका वरिष्ठ कार्यक्रम अधिकृत प्रविण बज्रचार्यले बुंगमतीमा रहेका ऐतिहासिक एवं धार्मिक स्थलबारे कार्यपत्र प्रस्तुत गरे । 

यस्तै पर्यटन व्यवसायीलाई दुईजना स्थानीय गाइडले बुंगमतीभ्रमण गराएका थिए । भ्रमणपछि पर्यटन व्यवसायी एवं टुर गाइडहरुले बुंगमती बजारिकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । भिलेज टुर भनेर आधा दिनको प्याकेजहरु पर्यटक समक्ष प्रस्तुत गरिरहेको स्मरण गर्दै उनीहरुले नयाँ ढाँचाले प्याकेजहरू बनाएर बुंगमतीमा पर्यटक भित्र्याउने प्रतिबद्धता जनाएका छन् ।

bungamati tour
पर्यटन व्यवसायीलाई बुंगमतीभ्रमण गराउँदै स्थानीय गाइड

बुंगमतीः 

बुंगमतीमा काठमाडौं, ललितपुर र भक्तपुर तिनै जिल्लाका १०० परिवार मिलेर ३ सय परिवार बसेको भन्ने पनि गरिन्छ । तसर्थ तिनै जिल्लाको धार्मीक र सांस्कृतिक महत्वको संगम एकै ठाउमा पाइने विश्वास छ । बुंगमतीका हरेक घरबाट एकजना काष्टकलाको काममा लाग्ने गरेका छन् । 

नेवारी वास्तुकला

नेवारी सम्प्रदायमा ढोकामा अष्टमंगलहरू राख्नु अत्यन्तै शुभ मानिन्छ । अष्टमंगलमा श्री वत्स, पुण्डरिक, ध्वज, कलश, चमर, मत्स्ययुग्म, छत्र, शङ्ख समावेश गरिएको हुन्छ । यिनीहरूको महत्व यस्तो छ-

श्री वत्स भनेको सर्वोग्य ज्ञान हो । जुन जिवनस्तरलाई सुधार्ने ज्ञानहरू प्राप्त होस् भन्ने उद्देश्यले राखिन्छ ।  

पुण्डरिक अर्थात कमलको फुल मानिसहरू दुष्ट सोचबाट मुक्त होस् भनेर राखिन्छ । 

ध्वज कुनैपनि कुकार्य गर्नबाट जोगियोस् र जित्न सकियोस् भनेर ध्वजको प्रतिक राखिन्छ । 

कलशलाई अमृत राख्ने भाडो मानिन्छ ।  रोगसँग लड्ने क्षमता वृदि होस् र आयु लामो होस भनेर यसको प्रतिक राखिन्छ । 

चमर घरमा राम्रो होस् भनेर शुभ ऊर्जाहरू आकर्षण गर्न राखिएको हुन्छ । 

मत्स्ययुग्म हाम्रो जन्मदिन होस् वा कुनै शुभकाम हुदा नेवारी समुदायमा सगुन दिने चलन छ । सगुनमा माछा र अण्डा दिइन्छ । माछा जिवन सञ्चालनका लागि सफलताको सूचक मानेर दिइन्छ । त्यसैले सफलताको प्रतिकको रूपमा घरको ढोकामा बनाइएको हो । 

छत्र घरमा बस्दा कुनैपनि नकारात्मक उर्जाबाट सुरक्षित रहन छत्र राखिन्छ । 

शङ्ख हाम्रो वरपर भएका सकारात्मक ऊर्जालाई निमन्त्रणका लागि ध्वनि निकाल्ने हुदाँ यो चिजहरू ढोकामा राखिएको हुन्छ । 

यी चिजहरूको दर्शन हुँदा सकारात्मक उर्जा आओस् भनेर ढोकामा राख्ने गरिएको  स्थानीय गाइड कविराज बज्रचार्य बताउँछन् । यहाँको सामाजिक, सांस्कृतिक सम्पदा कार्यविनायकको मन्दिर, मनकामना मन्दिर, रातो मछिन्द्रनाथको मन्दिर, त्यहाँको वास्तुकला जात्रा पर्वले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने देखिन्छ । 

bungamati
मनकामना मन्दिर, रातो मछिन्द्रनाथको मन्दिर भ्रमण गर्दै पर्यटन व्यवसायीहरू

बुंगमती क्षेत्रमा प्रदर्शन हुने विभिन्न जात्रा मध्ये एक १२ वर्षमा मनाइने रथजात्रा हो । त्यसैगरी, दशैँको दशमीको दिन मनाइने मोहनी नख पनि विशेष छ । श्रावण शुक्ल पक्षको पुर्णिमाको दिन व्या जानक्य भनेर संसारमा भएका प्राणीको उद्दार गर्ने उद्देश्यले पातमा खाना राखेर दिने परम्परा पनि छ । गुरू पुर्णिमाको दिनको मट्या जात्राले पनि बुंगमतीको आकर्षण बढाउँदछ ।

काठमाडौं उपत्यकामा नेवारी खानपीन र नेवारी भेषभुषाको मज्जा लिन बुंगमती भ्रमण गर्नै पर्ने ठाउँ हो । नेवारी जीवनशैली देखि सांस्कृतिक पक्षलाई एकै ठाउमा खुल्ला संग्रहालयको रूपमा हेर्न चाहनेहरूका लागि बुंगमती उचित गन्तव्य हुनसक्छ । 

कार्यविनायक मन्दिर जाने पुल

bungamatiBungamati

प्रतिक्रिया दिनुहोस्
Pin It