Tourism

यी हुन् जनैपूर्णिमाका दिन मेला लाग्ने धार्मिक स्थलहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । प्रत्येक वर्ष जनैपूर्णिमाका दिन देशभरका विभिन्न शक्तिपीठहरूमा मेला लाग्ने गर्दछ । यस दिन खोला, नदीनाला, शिवालय, देवालयमा श्रावण स्नानको विधिद्वारा स्नान, दान, तर्पण गर्नाले मुक्ति प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ । आधा दर्जन प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थलमा दर्शनार्थीले उत्साहपूर्वक मेला भर्ने गरेका छन् । 

१. गोसाइकुण्ड, रसुवा 

gosaikuunda

जनै पूर्णिमाको अवसरमा रसुवाको गोसाइकुण्डमा भव्य मेला लाग्ने गर्दछ । गोसाइकुण्डलाई भगवान शिवशंकरको वासस्थानको रूपमा पनि हेर्ने गरिन्छ । हिमालयको काखमा रहेको गोसाइकुण्डमा स्नान गर्नाले धर्म प्राप्ति हुने जनविश्वास छ । धर्म शास्त्रअनुसार समुन्द्र मन्थन गरेर निस्किएको कालकूट विष पिउँदा भगवान महादेव त्यसको पीडा सहन नसकेर भौँतारिएका थिए । सोही क्रममा उनले आफ्नो त्रिशूलले पहाडमा हानेर पानी निकालेका थिए । त्यो पानी कुण्डमा परिणत भयो र त्यही कुण्डमा डुबेर महादेवले कालकूट विष सहन गरे । साथै आजको दिन भगवान शिव पशुपतिनाथ छाडेर गोसाइकुण्डमा जाने किंवदन्ती पनि रहिआएको छ । समुन्द्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्डको लम्बाइ ६ सय मिटर छ भने चौडाइ ३ सय ७० मिटर छ । 

२. कुम्भेश्वर मन्दिर

kumveshwor janaipurnima

ललितपुर ललितपुरको पाटनस्थित कुम्भेश्वर प्राङ्गणमा जनैपूर्णिमाका दिन भव्य मेला लाग्ने गर्दछ । भगवान् रामले रावणको संहार गरिसकेपछि ब्रम्ह हत्या पाप मोचन गर्न कोटी तीर्थ आह्वान गरेर कुम्भेश्वरमा जल निकाली स्नानसमेत गरेको कथन छ । प्रत्येक साउन शुक्ल चतुर्दर्शीका दिन भगवान् महादेवले जनै धारण गर्नुहुने हुँदा सो दिन मन्दिरबाट बाहिर झिकी पोखरीमा राखिन्छ । कुम्भेश्वरमा गोसाइँकुण्डबाट जल आउँछ भन्ने मान्यता रहेको छ । यसै जनविश्वास बमोजिम गोसाइँकुण्डको विकल्पका रूपमा कुम्भेश्वर मेला भर्न आउने परम्परा छ । भनिन्छ, गोसाइँकुण्ड जान नसके कुम्भेश्वर मेला भर्न जानू । 

३. गजेन्द्रमोक्ष दिव्यधाम

गजेन्द्र मोक्ष दिव्य धाम

नवलपरासी पूर्वी नवलपरासीको त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्य धाममा जनैपूर्णिमाको अवसरमा श्रावणी मेला लाग्ने गरेको छ । हरेक वर्ष श्रावण पूर्णिमा अर्थात् जनैपूर्णिमाको दिन यहाँ भक्तजनको घुइँचो लाग्ने गर्छ । जनैपूर्णिमाको दिन नारायणी नदीमा पूजा गर्नाले पुण्य प्राप्त हुने विश्वास छ । साउन पूर्णिमाका दिन श्रावण नक्षत्र पर्ने भएकाले श्रावणी मेला भनिएको हो । 

४. पाँचपोखरी, सिन्धुपाल्चोक

 पाँचपोखरी

जनैपूर्णिमाका अवसरमा सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा वर्षेनी एकादशीदेखि पूर्णिमासम्म एक हप्ता मेला लाग्ने गर्छ । यो समय भक्तजनहरू पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो, दूध लिएर चढाउन जान्छन् । विशेषगरी यहाँ जाने भक्तजन खेतिपातीमा उन्नतिको आशीर्वाद माग्ने गर्छन् । पाँचपोखरीमा रहेको शिवमन्दिरमा आई पूजा गरेमा सुख, शान्ति मिल्ने तथा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो पोखरी इन्द्रावती नदीको उद्‍गमस्थल हो । समुन्द्री सतहबाट करिब चार हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा सानाठूला गरी पाँच वटा ताल रहेका छन् । 

५. महावु धाम, दैलेख 

महावुधाम दैलेख

महावुधाम दैलेख जिल्लाको सबैभन्दा अग्लो स्थान महावुलेकको पाटनमा अवस्थित छ । यो स्थान कालीकोट जिल्ला र दैलेख जिल्लाको सिमानामा पर्छ । महावुधाममा प्रत्येक वर्ष जनैपूर्णिमाको दिनमा पूजा तथा दर्शन गरेमा पाप नष्ट हुने धार्मिक विश्वास छ । यो धाम समुद्र सतहदेखि ४ हजार २ सय मिटर उचाइमा रहेको छ । 

६. बडीमालिका, बाजुरा

बडीमालिका, बाजुरा

बाजुराको मानव बस्तीभन्दा धेरै टाढा पहाडमाथि बस्ने बडीमालिका वर्षेनी जनैपूर्णिमामा पूजा गरिन्छ । त्रिवेणी मन्दिरमा रहेको गंगा–जमुना मन्दिरमा नुहाएर बडीमालिकाको दर्शन गर्ने परम्परा छ । मन्दिर दर्शन गरेर आठ घण्टाको ओरालो झरेर नाट्यश्वरी मन्दिरमा पूजा अर्चना गरेपछि भाकल पूरा हुने जनविश्वास रहिआएको छ । समुद्री सतहबाट ४ हजार २१६ मिटर उचाइमा रहेको बडीमालिकामा तीर्थालुहरू ४ दिनको पैदलयात्रा गरेर पुग्ने गर्दछन् । सुदूर र मध्यपश्चिममा प्रसिद्ध ग्रामीण देवताहरू बाह्र भाइ मष्टा र नौ भवानीका कथाअनुसार बडीमालिका कान्छी मानिन्छिन् । 

७. छायाँनाथ धाम, मुगु 

छायाँनाथ धाम

मुगुको मुगम कार्मारोङ्ग १ डोल्फुमा समुद्र सतहदेखि ५ हजार २ सय मिटरको उचाईमा रहेको छायाँनाथ धाममा जनै पूर्णमाको अवसमा ठूलो मेला लाग्ने गर्छ । यस दिन मन्दिरमा दर्शन गर्दा मनकामना पूरा हुने, पाप नष्ट हुने, घर परिवारमा सुख शान्ति मिल्ने,घरका कुल देवता खुसी हुने मान्यता रहिआएको छ । 

यसबाहेक पशुपति काठमाडौको मणिचूड दह, दोलखाको शैलुङ, बाजुराको बडीमालि, जटापोखरीलगायतका अन्य धार्मिक शक्तिपीठहरूमा मेला लाग्ने गर्दछ ।  

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It