Tourism

सुख, समृद्धिका लागि दशैंमा जानैपर्ने उपत्यकाका १२ शक्तिपीठहरू 

Pinterest LinkedIn Tumblr

काठमाडौं । बडादशैंको समय दुर्गा भवानी लगायत विभिन्न देवीदेवताको पूजाआराधना गरिन्छ । खासगरी यो समय घरमै मन्दिर स्थापना गरी पूजाआजा गर्ने प्रचलन छ । तथापि भक्तजनहरू नवरात्रीमा नवदुर्गाको स्वरूपको पूजाआराधनाका लागि विभिन्न शक्तिपीठमा पुग्ने गरेका छन् ।

काठमाडौं उपत्यकाभित्र नवरात्रीमा भव्य पूजाआरधना हुने १२ शक्तिपीठहरूः 

१. गुह्येश्वरी मन्दिर

गुह्येश्वरी मन्दिर बागमती नदीको दक्षिणी किनारामा अवस्थित छ । गुह्येश्वरीमा दशैंका १० दिन ‘शक्ति’को पूजा गर्न भक्तजनहरूको भिड लाग्ने गर्छ ।

guheshwori tample

२. संकटा मन्दिर

न्यूरोड, टेबहालस्थित सङ्कटा मन्दिरमा दशैंको दश दिन दुर्गाका नौ अवतारको पूजा गरिन्छ । दुर्गाको अवतार मानिने सङ्कटा देवीले सबै प्रकारका संकटबाट मुक्त गराउने जनविश्वास छ । दशैं बाहेक यस मन्दिरमा हरेक शनिबार भक्तजनको भीड लाग्ने भएकाले यसलाई ‘शनि संकटा’ पनि भनिन्छ ।

sangkata tample

३. शोभा भगवती
काठमाडौंको पश्चिमी भाग स्वबहालस्थित शोभा भगवतीको मन्दिर विष्णुमती किनारमा छ । दशैंको नवरथामा शोभा भगवतीको पूजा आराधना तथा भव्य मेला पनि लाग्ने गर्छ । 

sobhabhagawati tample

४. नक्साल भगवती 

दशैंको बेला नक्साल भगवतीको मन्दिरमा १६ भुजायुक्त देविको मुर्तिको विशेष पूजाआराधना गरिन्छ । दुर्गाको रूपमा पूजा गरिने नक्साल भगवतीको मन्दिरमा घटस्थापनादेखि नै भक्तजनको भिड लाग्ने गर्छ । नक्साल भगवतीको पूजाआराधना गर्नाले मनले चिताएको पुग्ने जनविश्वास छ ।

nakxal bhagawati tample

५. तलेजु भवानी

काठमाडौं दरवार क्षेत्रमा अवस्थित प्रसिद्ध शक्तिपीठ तलेजु भवानीको मन्दिर मल्लकालमा निर्माण गरिएको हो । यो ऐतिहासिक मन्दिर हरेक वर्ष दशैंको महानवमीका दिन सर्वसाधारणका लागि खुला गरिन्छ । यस मन्दिरमा कोतपर्वपछि पाप मोचनका लागि बलि दिने राणाकालीन परम्पराअनुसार हरेक वर्षको दशैंमा ५४ वटा राँगा तथा ५४ वटा बोका बलि चढाइन्छ ।

taleju bhawani tample

६. भद्रकाली

भद्रकाली मन्दिर काठमाडौंको मुटु सिंहदरबारदेखि ५ सय मिटर पश्चिममा रहेको छ । नवदुर्गा र दश महाविद्यापीठ मध्येकी एक देवी भद्रकालीको मन्दिरमा दशैंमा पुजाआरधना गर्नाले शक्ति तथा समृद्धि प्राप्त हुने जनविश्वास छ । 

bhadrakali

७. चामुण्डा भगवती मन्दिर

ललितपुरको शङ्खमुल, जोरपाटी लगायत अन्य स्थानमा रहेको चामुण्डा भगवती मन्दिरमा दशैंको पहिलो दिन भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ । यसबाहेक नवरात्री भरी नै देशभरका चामुण्डा मन्दिरमा ठुलो भिड लाग्छ । 

chamunda bhagawoti tample

८. दक्षिणकाली मन्दिर 

राजधानी काठमाडौंबाट दक्षिण भेगमा करिब १७ किमिको दूरीमा दक्षिणकाली मन्दिर अवस्थित छ । काली देवीको यस मन्दिरमा दशैंको नवरात्रीमा विशेष मेला लाग्ने गर्छ । नवरात्रिको समयमा ठूलो संख्यामा हाँस, कुखुरा र खसीबोकाको बलि चढाइन्छ ।

dakshnkali tample

९. स्वेतकाली भगवति 

क्षेत्रपाटी र काठमाडौं दरबार स्क्वायरको बीचमा अवस्थित स्वेतकाली भगवतिलाई नरदेवी पनि भनिन्छ । स्वेतकालीलाई शक्तिस्वरूपिणी कालीहरू मध्ये सबैभन्दा शान्त स्वभावकी देवी मानिन्छ । स्वेतकालीको आराधना गर्नाले सुख, समृद्धि र मनोकामना पूरा हुने जनविश्वास छ । नवरात्रिको समयमा मन्दिरमा भक्तजनहरूको भीड लाग्ने गर्दछ । साथै दशैंको दशौं दिन, खड्ग जात्रा पनि यसै मन्दिरमा मनाइन्छ ।

naradevi

१०. मैतीदेवी 

डिल्लीबजार र ज्ञानेश्वरको बीचमा अवस्थित मैतीदेवी मन्दिर काठमाडौं उपत्यकाका प्रसिद्ध शक्तिपीठहरूमध्ये एक हो । यस मन्दिरमा प्रत्येक वर्ष दशैंको नवौं दिन मेला लाग्नुका साथै पशुबलि पनि दिइन्छ ।

matidevi tample

११. बंगलामुखी 

ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिर परिसरमा रहेको बंगलामुखी मन्दिरमा दुर्गाको पूजा अर्चना गरिन्छ । बंगला नामक राक्षसको यातनामा परेका मानिसहरूलाई देवीले उद्धार गरेको स्थानमा बंगलामुखी देवीको मन्दिर स्थापना गरी पूजा गर्न थालेको किंवदन्ती छ । दशैंको समयमा यहाँ धेरै भक्तजन आउने यस मन्दिरमा अन्य समय बिहीबार पूजा अर्चना गरिन्छ ।

banglamukhi tample

१२. बज्रबाराही मन्दिर

ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा अवस्थित बज्रबाराही मन्दिर काठमाडौं उपत्यकाका चार बाराही मन्दिरहरू मध्ये एक हो । जुन मानव शरीर वा मातृकामा बँदेलको टाउको भएकी देवीलाई समर्पित छ । नवरात्रमा बज्रबाराहीको पूजा गर्नाले जीवनमा आइपर्ने बिघ्न, बाधा, भय हट्ने र सिद्धि प्राप्त हुने जनविश्वास छ । 

bajrabarahi tample

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It