News

क्लिंकर उद्योगमा गौरिशंकरको ८ अर्ब ९७ करोड लगानी, सस्तो मूल्यमा सिमेन्ट प्रदान गर्ने

Pinterest LinkedIn Tumblr

काठमाडौं । लुम्बिनी प्रदेशको शिवराज नगरपालिका, ६ मा क्लिंकर उत्पादनका लागि गौरीशंकर सिमेन्ट प्रालि उद्योग सञ्चालनमा आउने भएको छ । निजी लगानीमा क्लिङ्कर प्लान्टसहितको नयाँ उद्योग ८ अर्ब ९७ करोड रुपैयाँ लगानीमा गौरिशंकर सिमेन्ट प्रालि सञ्चालनममा आउन लागेको हो ।  कम्पनीले उद्योग निर्माण गर्न कर्जाका लागि रेटिङ गराइसकेको छ । 

उद्योगले दैनिक २ हजार ५ सय टन सिमेन्टको कच्चापदार्थ क्लिङ्कर उत्पादन गर्नेछ । क्लिङ्कर प्लान्टले आगामी तीन वर्षभित्र व्यावसायिक उत्पादन सुरू गर्ने उद्योगले जनाएको छ । उद्योगको पूर्वाधार तयारीको काम एभरेस्ट इरेक्टर्सले गर्नेछ।  

गौरिशंकरले ६ अर्ब ७३ करोड रुपैयाँ ऋण र बाँकी स्वपुँजीबाट जुटाउने गरी लगानी संरचना तयार पारेको छ । उद्योगले बैंकहरूसँग ऋण लगानी सम्झौता गरिसकेको हुँदा उद्योगलाई लगानीमा समस्या नरहेको कम्पनीले जनाएको छ ।

उद्योगमा तीन संस्थागत र एक व्यक्तिगत लगानीकर्ता छन् । परियोजना प्रमुख शिरोमणि ढकालसँग चार दशक सिमेन्ट क्षेत्रको अनुभव छ ।

उद्योगमा जेपी सिमेन्ट, गरिमा सिमेन्ट र महाशक्ति  सिमेन्ट उद्योग लगायतको लगानी हुनेछ । गौरिशंकरले तीन सहायक  उद्योगलाई सिमेन्ट उत्पादन गर्न आवश्यक कच्चा वस्तु क्लिङ्कर उपलब्ध गराउने छ ।

गौरिशंकरका लगानीकर्ताले ग्रान्डिङ प्लान्टबाट दैनिक २ हजार ४ सय टन सिमेन्ट उत्पादन गरिरहेका छन् । प्रस्तावित उद्योगदेखि तीन किलोमिटर दुरीमा ग्रान्डिङ युनिट छन् ।

जेपी र गरिमाको १/१ हजार टन र महालक्ष्मीको दैनिक ४ सय टन सिमेन्ट उत्पादन क्षमता छ । उद्योग लुम्बिनी प्रदेशको कपिलवस्तु शिवराज नगरपालिकामा छ । 

उद्योग नेपाल-भारत सिमाना नजिक रहेकाले लोकेसन चयनमा फाइदा नै रहेको छ । उद्योग कृष्णनगर, भैरहवा र नेपालगन्ज नजिक छ । सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशत नगद अनुदान सुविधा दिएकाले उद्योगले यसबाट थप लाभ लिन सक्ने छ । जसले बढ्दो व्यापार घाटा कम गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ ।  

नेपालमा अहिले धमाधम नयाँ सिमेन्ट उद्योग आउन थालेका छन् । हालसम्म ६० ग्रान्डिङ र २० क्लिङ्कर उत्पादन गर्ने उद्योग छन् । अहिले सिमेन्ट क्षेत्रमा प्रतिस्पर्धा बढेसँगै  स्थापित कम्पनीहरुले सस्तो मूल्यमा सिमेन्ट बिक्री वितरण गर्न थालेका छन् । तसर्थ गौरीशंकर सिमेन्ट प्रालिले पनि सेवाग्राहीलाई सस्तो मूल्यमा प्रदान गर्नका लागि क्लिङ्कर सिमेन्ट उद्योगको निर्माण गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It