News

राजधानीका जग्गाको सरकारी मूल्यांकन बढ्यो

By BN EditorialNovember 27, 20162 min read
राजधानीका जग्गाको सरकारी मूल्यांकन बढ्यो

जग्गाको मूल्य आकासिएपछि काठमाडौका विभिन्न मालपोत कार्यालयले जग्गाको मूल्यांकन बढाएका छन्। सरकारी मूल्यांकन भन्दा धेरै गुणा बढीमा जग्गाको कारोबार हुन थालेपछि कार्यालयले मूल्यांकन परिमार्जन गरेको हो।

राजधानीका अधिकांश क्षेत्रमा सरकारी मूल्यांकन भन्दा धेरै गुणा बढीमा जग्गाको कारोबार हुने गरेको छ।मूल्यांकन भन्दा बढीमा जग्गाको कारोबार हुने तर कार्यालयमा भने मूल्यांकनलार्इ देखाएर राजस्व बुझाउने गरिएको छ। कार्यालय स्रोतका अनुसार बढी मूल्यमा जग्गाको कारोबार गर्ने तर मूल्यांकन कम देखाउँदा राजस्व समेत गुमेको छ।

चालु आर्थिक वर्षमा काठमाडौं उपत्यकाका चार वटा मालपोत कार्यलयले २० प्रतिशत सम्म जग्गाको मूल्य बढाएका छन्।उपत्यकामा रहेका चक्रपथ बाहिरका जग्गाको कारोबार गर्ने साँखु, मनमैजु, भक्तपुर र लगनखेल मालपोत कार्यालयले १० देखि २० प्रतिशत सम्म मूल्यांकन बढाएका छन्।

चक्रपथसँग जोडिएका र चक्रपथ भित्र भएका जग्गाको मुल्य भने यथावत छ। कलंकी, चावहिल र डिल्लीबजार मालपोत कार्यलयले भने गतवर्षलार्इ निरन्तरता दिएको छ।

 

साँखुमा २० प्रतिशतले बढ्यो

साँखु मालपोत कार्यालय अन्तर्गत साँखु जाने मूल सडकमा प्रति आना ९ लाख रुपैयाँ न्यूनतम मूल्यांकन गरिएको छ।चक्रपथ बाहिर जग्गा किनबेचसँगै मूल्य बढेपछि मूल्यांकन परिमार्जन गरिएको साँखु मालपोतका प्रमुख किरणकुमार भट्टराईले बताए।

उनले बजार क्षेत्रमा २० प्रतिशत र बजार बाहिर ५ देखि १० प्रतिशतसम्म जग्गाको मूल्यांकन बढाइएको जानकारी दिए।चावहिलबाट १४ किलोमिटर भित्र पर्ने शंखरापुर नगरपालिका क्षेत्र भित्र साँखु पर्छ।

साँखुमा जग्गाको प्रकृति हेरेर १० हजार रुपैयाँ प्रति आना देखि ९ लाख रुपैयाँ प्रति आना सम्म सरकारी मूल्याङ्कन गरिएको भट्टराईले बताए। साँखुमा सरकारी मूल्यांकन र कारोबार रकममा भिन्नता नरहेको भट्टराईको दावी छ।

 

भक्तपुर, मनमैजु र लगनखेलमा १० प्रतिशतले बढ्यो

भक्तपुरमा अरनिको राजमार्ग र अन्य सहायक पक्की मार्ग भएको ठाउँमा १० प्रतिशतले मूल्यांकन बृद्धि गरिएको भक्तपुर मालपोतका अधिकृत बालकृष्ण अधिकारीले बताए

भक्तपुरमा अरनिको राजमार्गले छोएका सबै ठाउँमा प्रति आना ९ लाख देखि १३ लाख ५० हजार रुपैयाँ सम्म न्यूनतम मूल्यांकन गरिएको उनले बताए। अन्य ठाउँमा जग्गाको प्रकृति हेरी प्रति आना ११ हजार रुपैयाँ देखि माथी मूल्यांकन तोकिएको छ।

यस्तै मनमैजु बजारमा १० प्रतिशत र अन्य गाविसको जग्गा ५ प्रतिशत सम्म बृद्धि गरिएको मनमैजु मालपोत प्रमुख विदुर खनालले बताए। मनमैजुमा प्रति आना १० हजार देखि १३ लाख रुपैयाँ सम्म न्यूनतम मूल्यांकन कायम गरिएको  उनले बताए।

लगनखेल र आसपासका क्षेत्रमा जग्गाको मूल्यांकन १० प्रतिशत बढाइएको लगनखेल मालपोतका अधिकृत राम शाहले बताए।उनका अनुसार लगनखेल मालपोत अन्तर्गत  गोटीखेलमा प्रति रोपनी ५ हजार देखि २ लाख रुपैयाँसम्म मूल्यांकन गरिएको छ।

चक्रपथ भित्रका मूल सडकमा बढीमा २९ लाख रुपैयाँ र चक्रपथ बाहिरका मूल सडकमा बढीमा १७ लाख रुपैयाँ सम्म मूल्यांकन गरिएको उनले बताए। जग्गाको प्रकृति हेरी न्यूनतम १० हजार रुपैयाँ प्रति आना देखि मूल्यांकन सुरु गरिएको छ।

hikelandPricevalley

You May Also Like

More stories from Basobaas