काठमाडौं । हिउँद लागेसँगै पिकनिक अर्थात् वनभोजको लहर नै चल्न थालेको छ । नाम चलेका स्पटका कारण कतिपय राम्रा स्पटहरू ओझेलमा पर्ने र सिमित क्षेत्रमा भिँडभाड हुने हुन्छ । यस्तोमा एकै स्थानमा पटकपटक पिकनिक जानपर्यो भने खास रमाइलो नहुन पनि सक्छ । त्यसैले आज हामीले उपत्यकाबाट नजिकमा रहेका केही पिकनिक स्पटका बारेमा लेख तयार गरेका छौं ।
१. सिकाली
काठमाडौं उपत्यकाको दक्षिणी भागमा अवस्थित सिकाली प्राकृतिक सुन्दरताले भरिपूर्ण क्षेत्र हो । उपत्यकाबाट करिब १० किलोमिटरको दुरीमा रहेको सिकाली मन्दिरको रूपमा पनि परिचित छ । उपत्यकाको भीडभाड र कोलाहालबाट टाढा, साथीहरूसँग ह्याङ आउट गर्न सिकाली उपयुक्त ठाउँ हो । वरपर सफा वातावरण, हरियालीसँगै चन्द्रागिरि र चम्पादेवी पहाडको दृश्य यहाँको मुख्य आकर्षण हो ।
२. दामन
मकवानपुर जिल्लाको उत्तरी भागमा पर्ने दामन थानकोट, नौबिसे हुँदै पृथ्वी राजमार्गबाट ७५ किलोमिटर दूरी पार गरी तीन घण्टामा पुग्न सकिन्छ । २ हजार ६ सय ८८ मिटर उँचाइ रहेको दामन हिमशृंखला र वरपरका पर्वत अवलोकनका लागि निकै प्रसिद्ध छ । जहाँ रहेको भ्यू टावरबाट सगरमाथा लगायतको प्रष्ट दृष्य र अधिकांश हिमालयको दृश्य अवलोकन गर्न सकिन्छ । दामन दक्षिणकाली बाट कुलेखानी हुदैँ अथवा थानकोटको चन्द्रागिरी हुँदै दामन पुग्न सकिन्छ । यस क्षेत्रमा हिउँको मज्जा लिन पनि मानिसहरू पुग्ने गर्दछन् ।
३. गुन्डु
भक्तपुरको दक्षिणमा अवस्थित गुन्डु ड्राइ पिकनिकका लागि उपयुक्त ठाउँ हो । हरियाली र डाडाकाँडाले घेरिएको यस क्षेत्र पछिल्लो समय निकै चर्तित छ । प्रकृति प्रेमिहरूका लागि गुन्डु उपयुक्त ठाउँ हो । घाँसे मैदान र प्रकृति बाहेक तालिमका लागि नेपाली सेनाले निर्माण गरेको कृत्रिम विमान यहाँको अर्को आकर्षण हो । गुन्डु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १० किलोमिटरको दुरीमा रहेको छ ।
४. सूर्य चउर
काठमाडौं नजिकै र राम्रो पिकनिक स्पटको खोजीमा हुनुहुन्छ भने सूर्य चहुर उपयुक्त गन्तव्य हुनसक्छ । सूर्यचहुर नुवाकोटको सदरमुकाम त्रिशूली जाने मुख्य राजमार्गबाट ४/५ किलोमिटरको दूरीमा रहेको छ । लाङटाङ, मनास्लु, दोर्जे लाक्पा जस्ता हिमालहरू मनमोहक दृश्य र तलका सुन्दर उपत्यकाहरू हेर्नका लागि स्थानीय तथा पर्यटकका लागि प्रसिद्ध गन्तव्य हो । यस क्षेत्रमा पिकनिकको लागि प्रशस्त स्पटहरू रहेका छन् साथै पानीको राम्रो सुविधा रहेको छ ।
५. चित्लाङ
चित्लाङ काठमाडौं उपत्यकाको दक्षिणपश्चिम दिशामा २२ किलोमीटर दूरीमा अवस्थित छ । प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको एक साथ अनुभव लिन चाहनेहरूका लागि यो उपयुक्त गन्तव्य हुनेछ । घाँसे चहुर र नासपाती बगैंचाको बीचमा काठ, ढुंगा, माटो र टिनबाट बनाइएका स-साना कटेज यहाँको मूख्य आकर्षण हो । देशकै सबैभन्दा ठूलो चरनक्षेत्र भएको पहाड यहाँको अर्को आकर्षकिय पक्ष हो । दक्षिणमा देशकै ठूलो मानव निर्मित ताल इन्द्रसरोवर, पूर्वमा दामन, पालुङ र उत्तरमा काठमाडौंसँग जोडिएको यस क्षेत्र सुन्दरताले भरिपूर्ण छ ।
६. इन्द्रसरोवर
नेपालकै पहिलो मानव निर्मित जलाशयको रपमा परिचित छ इन्द्रसरोवर । इन्द्रसरोवर मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा अवस्थित छ । प्राकृतिक मनमोहक सुन्दरतासँगै इन्द्रसरोवर ताल, झरना ऐतिहासिक मन्दिर राणाकालीन दरबारहरु यस क्षेत्रको आकर्षण हो । त्यस्तै, मौसम अनुसार रङ्ग बदल्नु यस तालकोल मुख्य आकर्षण हो । ३ सय मिटर चौडा तथा ७ किलोमिटर लामो इन्द्रसरोवरमा बोटिङको समेत व्यवस्था छ । इन्द्रसरोवरको किनारमा थुप्रै लज तथा होटलहरू रहेका छन् । जसले पिकनिकको व्यवस्थापन समेत गरिदिन्छन् ।
इन्द्र सरोवर जानको लागि धेरै बाटोहरू छन् । काठमाडौंबाट इन्द्र सरोवर पुग्न तीन रुटका मोटर मार्ग छन् । फर्पिङ हुँदै ४५ किमि, सिस्नेरी हुँदै ५५ किलोमिटर र चन्द्रागिरीबाट चित्लाङ हुँदै ३० किलोमिटरको दूरीमा पर्दछ ।
७. भोटे चहुर
काठमाडौं नजिकैको यो पिकनिक स्पट सिन्धुपाल्चोक जिल्लाको पश्चिम दिशामा अवस्थित छ । भोटेचौरलाई ‘मिनी इलाम’ को रुपमा पनि चिनिन्छ । करिब १३ सय रोपनी क्षेत्रफलमा फैलिएको चिया बगान यस क्षेत्रको मूख्य आकर्षण हो । बौद्ध, जोरपाटी, साँखु, जर्सिङ पौवा, धारापानी हुँदै देउराली डाँडा खोल्सापारी नगर गिरानचौर गाविस हुँदै भोटेचौर पुग्न सकिन्छ । चावहिलबाट ३८ किलोमिटर टाढा रहेको यस क्षेत्रमा सुविधायुक्त पिकनिक स्पटका साथै होटलहरू पनि छन् ।
८. लाँकुरी भन्ज्याङ
काठमाडौंको नजिकै रहेको लाँकुरी भन्ज्याङ पिकनिकका लागि प्रसिद्ध छ । ललितपुरको महालक्ष्मी नगरपालिकामा पर्ने लाँकुरी भन्ज्याङबाट काठमाडौं उपत्यका र सगरमाथा, गणेश हिमाल लगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ । साथै लाँकुरी भन्ज्याङबाट सूर्योदयको मनोरम दृश्य पनि हेर्न पाइन्छ । लाँकुरी भन्ज्याङ वैदिक कालको सांस्कृतिक स्तम्भका रूपमा रहेको शृंग ऋषिको गुफाको कारण पर्यटन गन्तव्यका रूपमा परिचित छ । ललितपुर ग्वार्काेबाट १६ किलोमिटर दूरिमा रहेको लाँकुरी भन्ज्याङ ग्वार्काे, सानाेगाउ, लुभु हुँदै जान सकिन्छ ।
९. नगरकोट
नगरकोट राजधानी काठमाडौंबाट ३२ किलोमिटर उत्तर-पूर्व र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित छ । खानपिन र बसोबासका लागि सामान्यदेखि स्तरीय होटल तथा रिसोर्टको सुविधाका लागि प्रसिद्ध नगरकोटमा थुप्रै पिकनिक स्पटहरू पनि छन् । यहाँबाट विश्वकै सर्वोच्च शिखर सगरमाथाका साथै धौलागिरिदेखि कञ्चनजङ्घा हिमशृङ्खलासम्मका मनास्लु, गणेश हिमाल, लामटाङ हिमाल, गौरीशङ्कर, ल्होत्सेलगायत हिमाल देख्न सकिन्छ ।
१०. नमोबुद्ध
उपत्यकाबाट नजीकमा रहेको शान्त र रमणिय स्थान हो नमोबुद्ध । बौद्ध धर्मप्रतिको आस्था र शान्त परिवेश झल्काउने यो क्षेत्र काठमाडौंबाट करीब ४० किलोमिटरको दूरीमा छ । काभ्रे जिल्लाको धुलिखेल नजिकै रहेको नमोबुद्धको थुम्कामा कलात्मक चैत्य, गुम्बा, गुम्बाभित्रका मनमोहक बुद्धका मुर्तिहरू, जंगलको पाउमा फिँजारिएर सुतेको सम्म परेको फाँट र महाभारत लेकले जो कोहिलाई मोहित पार्छ ।