News

तमोर करिडोरः पहाडी तथा हिमाली जिल्लामा समृद्धिको ढोका खुल्दै, छोटो समयमै लामो दूरीको यात्रा गर्न सकिने

By BabinaAugust 3, 20223 min read
तमोर करिडोरः पहाडी तथा हिमाली जिल्लामा समृद्धिको ढोका खुल्दै, छोटो समयमै लामो दूरीको यात्रा गर्न सकिने

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको तमोर करिडोर कालोपत्रे गर्ने भएको छ । यस करिडोरले पहाडी तथा हिमाली जिल्लामा समृद्धिको ढोका खोल्ने आशा गरिएको छ । विकाससँग प्रत्यक्ष जोडिएको तमोर करिडोर कालोपत्र भएपछि चार घण्टामै ताप्लेजुङबाट तराई पुग्न सकिने छ । 

तमोर करिडोर भारतीय सीमावर्ती क्षेत्र विराटनगर र चिनको टिप्ताला भञ्ज्याङ जोड्ने सडक हो । यो सडकले पूर्वी पहाडका ताप्लेजुङ सहित धनकुटा पाँचथर र तेह्रथुमको गाउँलाई सहरसँग जोड्छ भने तराईसँगको दूरी पनि छोट्याउँछ । यस करिडोरले २ सय ७० किलोमिटरमा टिप्ताला भञ्ज्याङ र रानी भन्सारलाई जोड्छ । टिप्तालाबाट सुरु भएको तमोर करिडोर ओलाङचुङगोला हुँदै धनकुटाको मूलघाटमा पुगेर कोशी राजमार्गमा जोडिन्छ । 

करिडोरको सुनसरी, चतरादेखि ओलाङचुङगोलासम्मको लम्बाइ २३० किलोमिटर छ । ओलाङचुङगोलादेखि टिप्ताला नाकासम्म २४ किलोमिटर पर्दछ । तमोर करिडोरको कूल लम्बाइ २५४ किलोमिटर रहेको छ । त्यस्तै, जोगवनी नाकादेखि चतराको लम्बाइ ६० किलोमिटर रहेको छ । 

करिडोर कालोपत्रका लागि बहुवर्षीय ठेक्का सम्बन्धमा ५ अर्ब ७६ करोड ८५ लाख रुपैयाँमा बजेट छुट्याइएको छ । २०७९ साल वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले करिडोरलाई बहुवर्षीय योजनामा लैजाने र  निर्माण सम्पन्न गर्ने निर्णय गरेको थियो ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको नेतृत्वमा तमोर करिडोरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) तयार गरिएको छ । बहुवर्षीय ठेक्का सम्झौताका लागि राष्ट्रिय योजना आयोग पठाइएको थियो । स्रोत सुनिश्चितता भएका धेरै आयोजनाहरूमध्ये तमोर करिडोर पहिलो नम्बरमा रहेको छ ।

कहिलेदेखि सुरु हुन्छ कालोपत्रकाे काम ?

तमोर करिडोर कालोपत्रको काम असोजको अन्तिम हप्तादेखि सुरु गर्ने तयारी रहेको छ । यसअघि साउनदेखि नै काम थाल्ने भनिएको थियो । आयोजना प्रमुख कुवेर नेपालीले कालोपत्रेको लागि ठेक्का प्रक्रियामा लैजान गृहकार्य भइरहेको जनाएका छन् ।

सम्पूर्ण पूर्व तयारी सकिए पनि यो बहुवर्षे योजना भएकाले ठेक्का सहमतिको योजना आयोगले गर्ने र ठेक्का यही हप्ता खुल्ने जनाएका छन् । पालिका तहबाट पनि केही सहयोग मिलेको र टेन्डर आह्वान पछि असोज अन्तिम हप्तादेखि कालोपत्रको काम सुरु हुनेछ ।

२०६५ सालदेखि औपचारिक रुपमा थालिएको तमोर करिडोरको २३८ किमी मध्ये ११० किमी सडक खण्ड अर्थात धनकुटाको मूलघाटबाट पाँचथरको गणेशचोक सम्म पनि कालोपत्रे हुने बताइएको छ ।  यस करिडोर धरान हुँदै धनकुटाको मूलघाट लगायत विभिन्न ठाउँबाट तमोरको किनारैकिनार पाँचथर, तेह्रथुम, ताप्लेजुङको ओलाङचुङगोला, चीनको सिमाना टिप्ताला भञ्ज्याङबाट चीनको रिउ सम्म जोडिने छ ।

कालोपत्रेको काम सुरु भएको ३ वर्षभित्रै सक्ने दाबी गरिएको छ । करिडोर कालोपत्रको काम दुईवटा कार्यालय मार्फत हेरिने छ । धरानबाट पाँचथरको सुभाङ खोलासम्म एउटा कार्यालयले र सुभाङ खोलाबाट ताप्लेजुङकाे ओलाङचुङगोला हुँदै चीन जोड्ने सडक खण्डको काम ताप्लेजुङमा रहेको कार्यालयले हेर्ने छ ।

तमोर करिडोरको मूलघाटदेखि पाँचथरको भालुचोक खण्डमा रहेका ७ वटा खोलामा पुल निर्माणका लागि ठेक्का प्रक्रिया सम्पन्न भइ काम सुरु भएको छ । सो क्षेत्रमा रहेका ठूला खोलाहरू नाबा, रगुवा र छरुवामा पुल निर्माणको काम धमाधम भइरहेको आयाेजना प्रमुख नेपालीले बताए ।

पाँचथरको सुभाङबाट ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा पर्ने थिवासम्मको ५७ किलोमिटर सडक ग्राबेलको लागि ६८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यो सडक खण्डको तीन प्याकेजमा काम भइरहेको उत्तर दक्षिण (ओलाङचुङगोला) सडक आयोजना समितिले जनाएको छ । अब ग्राबेलको काम सम्पन्न भएपछि कालोपत्रेको काम हुने बताइएको छ ।

ताप्लेजुङको ओलाङचुङगोला पुग्न तमोर नदीमा ४ वटा र अन्य स्थानमा ११ वटा गरी १५ वटा पुलको आवश्यकता रहेकाे छ ।

तमोर करिडोर सञ्चालनमा आएपछि पूर्वी पहाडी जिल्ला र तराईबीचको दूरी धेरै छोटो हुनेछ । करिडोर निर्माणपछि पाँचथरको फिदिमदेखि धरानसम्म झन्डै ३ घण्टामा पुग्न सकिन्छ भने ताप्लेजुङदेखि झन्डै ४ घण्टामा धरान पुग्न सकिन्छ । ताप्लेजुङबाट धरानको दूरी झन्डै १९० किलाेमिटरमा कम हुने बताइएको छ । हाल नागरिकहरू धरान पुग्नका लागि इलाम, झापा र मोरङ हुँदै झन्डै ३ सय ५० कि मी दूरीको लामो यात्रा तय गर्न बाध्य छन् ।

Tamor CorridorTamor Corridor being pavedTamor corridor for the prosperityTiptala Bhanjyang

You May Also Like

More stories from Basobaas