काठमाडौं । पाल्पाको भूमि आयोगमा कर्मचारीको अभाव हुँदा काममा ढिलासुस्ति भएको छ । कर्मचारीको अभावमा जिल्लाभरका भूमिहीन सुकुम्बासीबाट आएका निवेदनको टुङ्गो लगाउन समस्या भएको आयोगका पदाधिकारीहरूले जनाएका छन् ।
आयोगको काम अगाडि बढाउन १० जना प्राविधिक तथा अन्य प्रशासनिक कर्मचारी आवश्यक छ । तर कार्यलयमा हाल एक जना मात्र कर्मचारी रहेको राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाले जनाएको छ ।
आयोगले छिटो काम गर्न खोजेपनि जग्गा, नापजाँच गर्न, फिल्डबुक तयार गर्न, स्रेस्ता कायम गर्न आवश्यक कर्मचारीको व्यवस्था नहुँदा काममा ढिलासुस्ती भएको जनाइएको छ ।
वि.स. २०७९ चैत महिनामा नियुक्त भएपछि आयोगका पदाधिकारीद्वारा २० महिनाको अवधिमा रामपुर नगरपालिकाभित्र ७६३ वटा लालपुर्जा वितरण गरिएको छ । रामपुरमा नयाँ समिति आउनुभन्दा अघि जग्गा नापजाँच तथा फिल्डबुक तयार गर्ने काम भइसकेको थियो ।
रामपुर नगरपालिकामा बाहेक हालसम्म अन्य कुनै पनि पालिकाका भूमिहीन, सुकुम्बासी तथा विपन्न दलित समुदायलाई लालपुर्जा वितरण हुन सकेको छैन ।
हाल जिल्लाभरिबाट ८ हजार ५ सय सुकुम्बासी, भूमिहीनले पुर्जाका लागि निवेदन दिएका छन् । तर कर्मचारी अभावमा भूमिहीनको निवेदन लिनेबाहेक अन्य काम अगाडि बढाउन नसकेको जनाइएको छ ।
पछिल्लो समय तानसेन-२, ३, ४, ६ र ९ वडाका भूमिहीन सुकुम्बासीका एक हजार ७२४ वटा निवेदन सङ्कलन भएको छ । हाल ती निवेदनमाथि जाँचबुझ गरेर नक्सा र फिल्डबुक तयार पार्ने काम भइरहेको आयोगले जनाएको छ । यद्यपि कर्मचारी नहुँदा तानसेनका भूमिहीन सुकुम्बासीको हातमा कहिले लालपुर्जा हात पर्छ भन्ने यकिन छैन ।
कर्मचारी अभाव र पालिकाको ढिलासुस्तीले गर्दा एक वर्षभित्रै सबै निवेदनमाथि कारबाही अगाडि बढाउन सकिने आयोगको कामले गति लिन नसकेको छैन ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।