News

भेरी नदि किनारमा आधुनिक सहर बन्दै, १५ किलोमिटर दूरीमा सातवटा पक्की पुल 

Pinterest LinkedIn Tumblr

काठमाडौं । भेरी नदीको किनारमा भूकम्प प्रतिरोधक आधुनिक सहर बन्ने भएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयअन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाइले यो आर्थिक वर्षबाट आधुनिक सहर निर्माणको कामलाई तीव्रता दिइने जनाएको हो । पूर्वी सुर्खेतका गुर्भाकोट, लेकबेसी र भेरीगंगा नगरपालिकामा आधुनिक सहर निर्माण परियोजना अघि सारिएको छ ।

स्मार्ट सिटी निर्माणका लागि ‘भेरीगंगा उपत्यका नमुना आधुनिक सहर’ को कार्यालय स्थापना गरेर काम सुरु भइसकेको छ । आर्थिक वर्ष २०७३/७४ मा विविध कारणवश अघि बढ्न नसकेको निर्माण कार्यले तिव्रता पाउने भएको हो ।  

घोरेटारदेखि घाटगाउँसम्मको ११५ किलोमिटर भेरी किनारमा निर्माण हुने यस आधुनिक सहरअन्तर्गत मेहलकुनामा सिटी हल, गुमीमा बहुउद्देश्यीय हल, बोटेचौर र छिन्चुमा आधुनिक बसपार्कलगायतका संरचना निर्माण हुनेछन् । 

पहिलो चरणमा गुर्भाकोटको मेहेलकुनामा सिटी हल, गुमीमा बहुउद्देश्यीय हल, बोटेचारमा वसपार्क लगातयका संरचना निर्माण हुनेछन् । हालसम्म सिटी हलको निर्माण सम्पन्न भइसकेको छ । सम्भाव्यता अध्ययन भइसकेको आयोजना कार्यालयकाले तीन महिनाभित्र डीपीआरको काम पूरा गरी योजना अघि बढाइने छ । 

चालू आर्थिक वर्षको बजेटबाट घोरेटारदेखि घाटगाउँसम्म १ सय १५ किलोमिटरमा पर्ने तीन नगरपालिकाको आधुनिक सहर निर्माण गरिने छ । 

स्मार्ट सिटीको लागत र निर्माण योजनाः

चालु आर्थिक वर्षमा १९ करोड रुपैयाँ बजेट स्मार्ट सिटी निर्माणका लागि विनियोजन गरिएको छ  । आयोजना सम्पन्न गर्न करिब २२ अर्ब रुपैयाँ लाग्ने अनुमान छ  । 

नेपालकै नमुना सहर बनाउने  उनको उद्देश्यका साथ २०७४ सालमा अघि बढाइएको यस स्मार्ट सिटीको अवधारणाले कर्णालीको पर्यटन व्यवसायलाई थप उचाइमा पुग्ने अपेक्षा गरिएको छ ।  

२० बर्षे दीर्घकालीन योजनाका साथ आधुनिक सहर निर्माण थालनी गरिएको यस सहरलाई ‘ग्रिन सिटी’ का रूपमा समेत विकास गरिने छ । 

आधुनिक सहरलाई मूर्तरूप दिन भेडाबारीदेखि रामघाटसम्मको करिब १५ किलोमिटर दूरीमा सातवटा पक्की पुल रहने भएका छन् । तीमध्ये सञ्चालनमा आइसकेको पुल भेडाबारी र मेहलकुनाको पुल बीच साढे एक किलोमिटरको दूरी रहेको छ । यी नेपालमै सबैभन्दा नजीकमा भएका पूल हुन् । 

त्यस्तै; जहरेमा निर्माण भइरहेको पुल केही महिनामै सञ्चालनमा आउने छ । रामघाट, चिप्ले र कल्याणमा पुल निर्माण कार्य भइरहेको छ । भेरी किनारमा आधुनिक सहर बनेसँगै बस्ती विकास, सडक, हाटबजार, जंगल क्षेत्र, सिटी हल, बसपार्क र पार्कहरूको प्रतिवेदन तयारी भइरहेको छ । 

सिटीअन्तर्गत पर्ने छिन्चु-जाँजरकोट सडकखण्डको छिन्चुदेखि सिमघाटसम्म फोरलेन सडक निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ  । १ अर्ब १३ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको फोरलेन सडकका भित्री सडक पनि कालोपत्रे हुँदै गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It