News

भेरी नदि किनारमा आधुनिक सहर बन्दै, १५ किलोमिटर दूरीमा सातवटा पक्की पुल 

By BabinaDecember 11, 20222 min read
भेरी नदि किनारमा आधुनिक सहर बन्दै, १५ किलोमिटर दूरीमा सातवटा पक्की पुल 

काठमाडौं । भेरी नदीको किनारमा भूकम्प प्रतिरोधक आधुनिक सहर बन्ने भएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयअन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाइले यो आर्थिक वर्षबाट आधुनिक सहर निर्माणको कामलाई तीव्रता दिइने जनाएको हो । पूर्वी सुर्खेतका गुर्भाकोट, लेकबेसी र भेरीगंगा नगरपालिकामा आधुनिक सहर निर्माण परियोजना अघि सारिएको छ ।

स्मार्ट सिटी निर्माणका लागि ‘भेरीगंगा उपत्यका नमुना आधुनिक सहर’ को कार्यालय स्थापना गरेर काम सुरु भइसकेको छ । आर्थिक वर्ष २०७३/७४ मा विविध कारणवश अघि बढ्न नसकेको निर्माण कार्यले तिव्रता पाउने भएको हो ।  

घोरेटारदेखि घाटगाउँसम्मको ११५ किलोमिटर भेरी किनारमा निर्माण हुने यस आधुनिक सहरअन्तर्गत मेहलकुनामा सिटी हल, गुमीमा बहुउद्देश्यीय हल, बोटेचौर र छिन्चुमा आधुनिक बसपार्कलगायतका संरचना निर्माण हुनेछन् । 

पहिलो चरणमा गुर्भाकोटको मेहेलकुनामा सिटी हल, गुमीमा बहुउद्देश्यीय हल, बोटेचारमा वसपार्क लगातयका संरचना निर्माण हुनेछन् । हालसम्म सिटी हलको निर्माण सम्पन्न भइसकेको छ । सम्भाव्यता अध्ययन भइसकेको आयोजना कार्यालयकाले तीन महिनाभित्र डीपीआरको काम पूरा गरी योजना अघि बढाइने छ । 

चालू आर्थिक वर्षको बजेटबाट घोरेटारदेखि घाटगाउँसम्म १ सय १५ किलोमिटरमा पर्ने तीन नगरपालिकाको आधुनिक सहर निर्माण गरिने छ । 

स्मार्ट सिटीको लागत र निर्माण योजनाः

चालु आर्थिक वर्षमा १९ करोड रुपैयाँ बजेट स्मार्ट सिटी निर्माणका लागि विनियोजन गरिएको छ  । आयोजना सम्पन्न गर्न करिब २२ अर्ब रुपैयाँ लाग्ने अनुमान छ  । 

नेपालकै नमुना सहर बनाउने  उनको उद्देश्यका साथ २०७४ सालमा अघि बढाइएको यस स्मार्ट सिटीको अवधारणाले कर्णालीको पर्यटन व्यवसायलाई थप उचाइमा पुग्ने अपेक्षा गरिएको छ ।  

२० बर्षे दीर्घकालीन योजनाका साथ आधुनिक सहर निर्माण थालनी गरिएको यस सहरलाई ‘ग्रिन सिटी’ का रूपमा समेत विकास गरिने छ । 

आधुनिक सहरलाई मूर्तरूप दिन भेडाबारीदेखि रामघाटसम्मको करिब १५ किलोमिटर दूरीमा सातवटा पक्की पुल रहने भएका छन् । तीमध्ये सञ्चालनमा आइसकेको पुल भेडाबारी र मेहलकुनाको पुल बीच साढे एक किलोमिटरको दूरी रहेको छ । यी नेपालमै सबैभन्दा नजीकमा भएका पूल हुन् । 

त्यस्तै; जहरेमा निर्माण भइरहेको पुल केही महिनामै सञ्चालनमा आउने छ । रामघाट, चिप्ले र कल्याणमा पुल निर्माण कार्य भइरहेको छ । भेरी किनारमा आधुनिक सहर बनेसँगै बस्ती विकास, सडक, हाटबजार, जंगल क्षेत्र, सिटी हल, बसपार्क र पार्कहरूको प्रतिवेदन तयारी भइरहेको छ । 

सिटीअन्तर्गत पर्ने छिन्चु-जाँजरकोट सडकखण्डको छिन्चुदेखि सिमघाटसम्म फोरलेन सडक निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ  । १ अर्ब १३ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको फोरलेन सडकका भित्री सडक पनि कालोपत्रे हुँदै गरेको स्रोतले जनाएको छ ।

bheri riverCost and Construction Plan of Smart Cityearthquake resista smart city on Bheri RiverEarthquake resistant modern citymodern citysmart city

You May Also Like

More stories from Basobaas