News

१५ करोड लगानीसहित नारायणी किनारलाई ‘सी बिच’ बनाईंदै 

Pinterest LinkedIn Tumblr

काठमाडौं । नारायणी नदि किनारमा ‘सी बिच’ मोडेलको तटबन्ध निर्माण हुन थालेको छ । भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारको ६५० मिटरको दूरीमा सिँढी र चौतारी सहितको तटबन्धको काम सुरु भएको हो । 

हाल बाढीले माटो खोतल्न नसकोस् भनेर तटबन्ध निर्माणका लागि आठ मिटरको ‘पाइल’ गाड्ने काम भइरहेको छ । ‘पाइल’ नदीमा बगिरहेको पानीको नजिकै गाडिएको हुन्छ ।

पाइल माथि दुई मिटरको ‘कटअफ’ हुनेछ । ‘कटअफ’ पछि सिँढी बनाउने काम हुन्छ । दुई मिटर अग्लो संरचनामा १० वटा सिँढी रहनेछन् ।

नदी किनारको सौन्दर्य बढाउनका लागि निर्माण गर्न लागिएको सिँढीले नै तटबन्धको काम गर्ने जनाइएको छ ।  नारायणीको सौन्दर्य अवलोकन गर्न सिँढीले थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

सिँढीमा लस्करै ३० वटा रूख सहितको चौतारी पनि बन्ने छन् । पुसमा सम्झौता भएको यो आयोजनाको काम १८ महिना भित्र सक्नुपर्ने लक्ष्य रहेको छ । 

१५ करोड ८५ लाख रुपैयाँ लागतमा आयोजनाको काम गर्न डाइनामिक कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It