News

घरजग्गा कारोबार लगातार ओह्रालो, कार्त्तिकमा २८ हजार किनबेचमा साढे तीन अर्ब बढि राजश्व संकलन

By BabinaNovember 21, 20224 min read
घरजग्गा कारोबार लगातार ओह्रालो, कार्त्तिकमा २८ हजार किनबेचमा साढे तीन अर्ब बढि राजश्व संकलन

काठमाडौं । बजारमा व्याप्त तरलता अभाव र चर्को व्याजदरले अधिकांश क्षेत्रलाई संकटमा पारेको छ । गत जेठमा आएको नयाँ भूउपयोग नियामवलीका कारण सुस्ताएको घरजग्गा कारोबार बैंक तथा वित्तिय संस्थाले ऋणमा कडाइ गरेसँगै झनै संकटग्रस्त बन्यो । कोरोनाको महामारीको समयमा समेत उच्च देखिएको घरजग्गा कारोबार  पछिल्लो समय देशको चरम आर्थिक मन्दीको चपेटामा परेको छ । 

गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा यसवर्ष घरजग्गा कारोबार ४८ दशमलव ५७ प्रतिशतले घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार ले देखाएको छ । तरलताको अभाव ,भूउपयोग नियामवली र चुनावको गहिरो प्रभाव ले घरजग्गा किनबेचमा परेको देखिन्छ । 

अहिले धितोमा बन्धक राखेर ऋण लिएका व्यक्तिहरूले समयमै ऋण तिर्न नसक्दा अर्थतन्त्र धराशायी बन्दै गएको छ । त्यस्तै, धितो बन्धक राखी ऋण तिर्न नसकेपछि बैंक तथा वित्तीय संस्थाहरूले ३५ दिनको लिलामीको सूचना जारी गरिरहेका छन् ।

पछिल्लो समय प्रतिमहिना ३० हजारको हाराहारीमा पनि घरजग्गा किनबेच हुन सकेको छैन । विभागका अनुसार कार्त्तिक महिनामा देशभर २८ हजार मात्रै घरजग्गा किनबेच भएको छ । गत असोजमा देशभर २५ हजार ७८९ घरजग्गा किनबेच भएको थियो । असोजको तुलनामा कार्त्तिकमा कारोबार बढे पनि विगतको महिनामा जस्तो घरजग्गाकारोबार हुन सकेको छैन ।

विगतमा मासिक ७० हजारको हाराहारीमा घरजग्गा किनबेच हुँदै आएको थियो । विभागको तथ्याङ्कअनुसार गत असारमा देशभरका मालपोत कार्यालयबाट ४७ हजार २७ वटा घरजग्गा किनबेच भएको थियो । त्यस्तै, साउन महिनामा भने उक्त कारोबार संख्या घटेर ३३ हजार ८३४ वटा र भदौ महिनामा देशभरका मालपोत कार्यालयबाट ३४ हजार ७२० घरजग्गा किनबेच भएको थियो । 

कार्त्तिक महिनामा देशभरका मालपोत कार्यालयबाट २७ हजार ९३९ वटा घरजग्गा लिखत पारित हुँदा २ हजार २८१ नामसारी, २७ सय ५५ संशोधन, २० हजार ५६४ रोक्का, १५ हजार ५४६ फुकुवा र ७३७ वटा घरजग्गा दाखिला खारेज गरेको छ । 

कार्त्तिक महीनामा काठमाडौं उपत्यकाका नौ वटा मालपोत कार्यालयमा जम्मा दुई हजार ७७९ वटा मात्रै घरजग्गा किनबेचका लिखत पारित भएका छन् । त्यस्तै उपत्यका बाहिर कात्तिकमा सबैभन्दा बढी कारोबार इनरुवा सुनसरी कार्यालयबाट भएको छ । उक्त कार्यालयबाट कात्तिकमा १ हजार १७६ घरजग्गा किनबेच भएको छ । 

त्यस्तै, बाँके नेपालगञ्ज मालपोत कार्यालयबाट १ हजार १४२ वटा, जनकपुरधाम धनुषाबाट १ हजार ७, बेलबारी मोरङबाट ९५०, भद्रपुर झापाबाट ८५२, राजविराजबाट ८०३ र चितवनबाट ७६० वटा घरजग्गा किनबेच भएको छ । 

सबैभन्दा ठूलो मन्दी घरजग्गा कारोबारको केन्द्र काठमाडौं उपत्यकामा आएको छ । त्यस्तै, अपार्टमेन्टको किनबेच पनि सुस्ताएको छ । कार्त्तिकमा जम्मा ३० वटा अपार्टमेन्टको मात्रै कारोबार भएको छ । गत वर्षको कार्त्तिकमा ३५ वटा अपार्टमेन्ट किनबेच भएका थिए ।

कार्त्तिक महिनामा मात्रै ३ अर्ब राजस्व संकलन
वार्षिक जग्गा कारोबार, कित्ताकाट र राजस्व संकलनः
वर्ष (साउन, भद्रौ, असोज) कारोबार (रुपैयाँमा) कित्ताकाट (कित्ता संख्या) राजस्व (रुपैयाँमा)
०७७/७८ ४,२६,२५६ ३,७७,९९६ १२,३९९,६७८,५१३
०७८/७९ ६,९६,८४३ ५,५२,६०९ २९,२२९,९९२,४३२
०७९/८०  ३,५८,३५७ ७,८,९२५ ११,८७७,११९,२६७

भूमि व्यवस्थापन तथा अभिलेख विभागको गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांक तुलना गर्दा घरजग्गा कारोबार ४८ दशमलव ५७ प्रतिशतले घटेको छ । घरजग्गा कारोबार घटेसँगै उठाइने राजस्व समेत स्वतः घटेको विभागले जनाएको छ । कार्त्तिक महिनामा विभागले देशभरको मालपोत कार्यालयबाट ३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।

विभागले कार्त्तिकमा ३ अर्ब ७६ लाख २६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । विभागका अनुसार असोजमा सेवा करबापत १३ करोड ५७ लाख रुपैयाँ संकलन भएको छ । बागमती बापत ६ करोड ५० लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुरबापत १ अर्ब ८८ करोड ३५ लाख ५६ हजार रुपैयाँ संकलन गरेको छ । 

त्यसैगरी पूँजीगत लाभकरबापत ७० करोड २२ लाख ९४ हजार रुपैयाँ र मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबापत १ करोड ७६ लाख ५० हजार रुपैयाँलगायत अन्य विभिन्न सेवा दिएबापत राजस्व संकलन गरेको छ । साथै, विभागले सो अवधिमा २० करोड रुपैयाँ राजस्व छुट दिएको छ ।

देशभरका मालपोत कार्यालयमध्ये चितवनले सबैभन्दा बढी राजस्व संकलन गरेको पाइएको छ । चितवनबाट कार्त्तिकमा कम घरजग्गा किनबेच भएपनि महंगा घरजग्गा किनबेच हुँदा ५९ करोड ८ लाख १९ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।

त्यसैगरी, भक्तपुरबाट १७ करोड ५६ लाख रुपैयाँ, चावहिलबाट १५ करोड ९० लाख रुपैयाँ, लगनखेलबाट १५ करोड ८४ लाख रुपैयाँ, कलंकीबाट १४ करोड रुपैयाँ, डिल्लिबजारबाट १३ करोड ७६ लाख रुपैयाँ, कास्कीबाट ७ करोड १२ लाख रुपौयँ र धनगढीबाट ६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

१० हजार जग्गा कित्ताकाट

सरकारको नयाँ नितिका कारण देशभर कित्ताकाटमा शतप्रतिशत कमी आएको विभागको तथ्यांकले  देखाएको छ । 

गत वर्षको पहिलो चार महिनाको तुलनामा यस वर्ष ८५.७१ प्रतिशतले कित्ताकाट घटेको छ । सरकारले आगामी मंसिर २३ गतेसम्ममा कृषि, गैह्रकृषिमा अनिवार्य जग्गा वर्गीकरण गर्न निर्देशन दिएको छ । तर, स्थानीय तहमा भने अझैपनि वर्गीकरणमा अन्यौल नै देखिएको छ ।

विभागका अनुसार गत साउनमा ८ हजार ७८५ जग्गा कित्ताकाट भई ५ हजार ३०५ कित्ता कायम भएको थियो । भदौमा १० हजार ९२२ जग्गा कित्ताकाट भई २१ हजार ८७७ कित्ता कायम भएको छ । त्यस्तै, असोजमा ९ हजार ४२६ जग्गा कित्ताकाट भई १९ हजार १७८ वटा कित्ता कायम भएको थियो । त्यस्तै, कार्त्तिकमा १० हजार ५४४ जग्गा कित्ताकाट भई २२ हजार ५६५ कित्ता कायम भएको छ ।

high interest ratesLack of liquidityLand use regulationsReal estate transactions of KartikRevenue collection of kartik

You May Also Like

More stories from Basobaas