काठमाडौं । पोखरा इको रेड ब्रिक्स प्रालिले होलो ब्रिक (प्वाल भएको इँटा) उत्पादन थालेको छ । वातावरणमैत्री उत्पादनलाई जोड दिँदै कम्पनीले कास्कीको पोखरास्थित पोल्याङबाट होलो ब्रिकको उत्पादन थालेको हो ।
कम्पनीले यसअघि जर्मन प्रविधिमा आधारित हफ म्यान क्लिनबाट चाइनिज इँटा उत्पादन गर्थ्यो । इँटाभट्टाबाट प्रदुषण बढेको भन्दै चर्काे आलोचना हुन थालेपछि होलो ब्रिकको विकल्प अपनाइएको कम्पनीले जनाएको छ ।
भवन तथा पूर्वाधार निर्माणमा प्रयोग हुने इँटाको तुलनामा आर्थिक हिसाबले सस्तो, वातावरणमैत्री र प्रयोग गर्न सजिलो हुने भएकाले कम्पनीले होलो ब्रिक्सलाई जोड दिएको हो ।
देशभर १५ प्रतिशतमात्रै पनि होलो ब्रिकको प्रयोग भए कोइला खपतमा वार्षिक पाँच अर्ब बचत हुने हुँदा यस प्रविधिको विकास र विस्तारमा जोड दिनुपर्ने कम्पनीको भनाइ छ ।
यो इँटामा इन्सुलेशन (तापक्रम सन्तुलन गर्ने) हुने हुँदा घरभित्रको तापक्रम सन्तुलित हुन्छ । यसको तौल हल्का भएकाले घरको भार कम हुन्छ । फलामे डण्डीको प्रयोग धेरै नहुने हुँदा घर निर्माण गर्दा लाग्ने लागत पनि कम हुन्छ ।
साथै माटोको प्रयोग कम हुँदा कोइलाको खपत पनि स्वतः कम हुन्छ र इँटाभट्टाबाट हुने प्रदूषण पनि कम हुन्छ ।
हाल नेपालका १ हजार ३ सय ५० इँटा उद्योगबाट कोइला खरिदका लागि वार्षिक २५ अर्ब रुपैयाँ विदेशिएको तथ्यांक छ ।
बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।