News

‘पोखरा घर’ निर्माणका लागि महानगरले डोजर चलायो 

Pinterest LinkedIn Tumblr

काठमाडौं । मंगलबार पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित साविकको अस्थायी ट्राफिक कार्यालयमा डोजर चलाएको छ । सो ठाउँमा ‘पोखरा घर’ बनाउने योजनाका साथ महानगरले भवन भत्काएको हो ।

‘पोखरा घर’ को भुइँतलामा सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय, तेस्रो तलामा ग्यालरी र त्यसमाथि घन्टाघर बनाउने महानगरको योजना छ । जसका लागि महानगरले चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ पनि विनियोजन गरिसकेको छ । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको २ रोपनी जग्गामा ‘पोखरा घर’ बनाउन लागिएको हो ।

महानगरले यसअघि नै ‘पोखरा घर’मा आर्ट ग्यालरी र पुस्तकालय सार्ने भन्दै भदौ २३ गते महेन्द्रपुलस्थित ग्यालरी र पुस्तकालय भत्काएको थियो । 

जनस्तरबाट चर्को विरोध भएपछि महानगरले पृथ्वीचोकमा बन्ने ‘पोखरा घर’मा सुविधासम्पन्न पुस्तकालय र आर्ट ग्यालरी बनाउने आश्वासन दिएको थियो । 

तत्कालिन समयमा बसपार्कका लागि टिकट घर बनाउन समितिले अधिग्रहण गरेको जग्गामा लामो समयसम्म ट्राफिक कार्यालय रह्यो ।

करिब दुई वर्ष अघिमात्र ट्राफिक कार्यालय नयाँ भवनमा सरेपछि महानगरले उक्त जग्गामा पोखरा घर बनाउने निर्णय गरेको हो । ट्राफिक कार्यालय सरेपनि त्यहाँ रहेको संरचना हटाउन डोजर चलाएको महानगरपालिकाले जनाएको छ ।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने योजनासहित अघि बढेको ‘पोखरा घर’का लागि साविकको अस्थायी ट्राफिक कार्यालय (गोलघर) भत्काउन कम्तीमा १५ दिन लाग्ने महानगरले जनाएको छ । हाल ‘पोखरा घर’का लागि डीपीआर निर्माणको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It