News

२० वर्षपछि पशुपति गौशाला धर्मशालाको लिज सम्झौता रद्द

Pinterest LinkedIn Tumblr

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले लिजमा दिएको पशुपति गौशाला धर्मशालासँगको सम्झौता रद्द गरेको छ । कोष सञ्चालक परिषद्को बुधबार बसेको बैठकले अमालकोट कचहरी र मारवाडी सेवा समितिबीच भएको सम्झौता रद्द गरेको हो । 

बुधबार समितिलाई पत्र लेखि सम्झौता रद्द भएको जानकारी दिँदै समयसापेक्ष, उचित र जायज सर्तसहित १५ दिनभित्र सम्झौता गर्न आउन कोषले सूचना दिएको छ । पत्रमा समितिका तर्फबाट सम्झौताका लागि आएमा छलफलबाट आएका प्रस्तावमाथि परिषद्को अर्को बैठकमा छलफल हुने उल्लेख छ । सम्झौताका लागि नआएमा कोषले गौशाला धर्मशाला व्यवस्थापन र सञ्चालन गर्ने प्रबन्ध मिलाउने निर्णय पनि भएको छ । 

लिजका कारण कोषलाई ठूलो नोक्सान भएकाले पुरानो सम्झौता रद्द गरी अब चलनचल्तीको मूल्यअनुसार जग्गा लिजमा दिने कोषले जनाएको छ । 

वि.सं. २०६० सालदेखि सो जग्गा मारवाडी सेवा समितिले गौशाला चोकमा रहेको नौ रोपनी नौ आना जग्गा वार्षिक ५१ हजार रुपैयाँमा तिरेर प्रयोग गर्दै आएको थियो । कति समयका लागि लिजमा दिइएको हो उल्लेख नगरी सम्झौता भएकाले हाल २० वर्षपछि पुरानो लिज सम्झौता रद्द गरी नयाँ प्रक्रिया थालिएको छ । 

यसअघि संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र तथा महालेखापरीक्षकको कार्यालयले समेत सम्झौता रद्द गर्न निर्देशन दिएको थियो । त्यसैअनुसार हाल कार्यान्वयन अघि बढाइएको हो । 

विशुद्ध सेवाका लागि धर्मशाला सञ्चालन गर्ने सम्झौता भए पनि समितिले पशुपति गौशाला धर्मशालालाई अघोषित व्यापारिक केन्द्र बनाएको थियो । धर्मशालामा १९ सटर रहेकामा त्यसको भाडा मात्र मारवाडी सेवा समितिले मासिक करिब ६ लाख उठाउने गरेको छ । धर्मशालाभित्र दुई सय ७० कोठा छन् । जुन कोठा दैनिक हजार रुपैयाँसम्म भाडामा दिने गरिन्छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It