Tourism

नेपालमै पहिलोपटक १ अर्ब लगानीसहित सिसाको पुल निर्माण हुँदै

Pinterest LinkedIn Tumblr

काठमाडौं । नेपालमै पहिलोपटक तनहुँको बन्दीपुरमा सिसाको पुल (स्काइ वाक) निर्माण हुने भएको छ । उक्त पुल बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको सहायक कम्पनी ‘स्काइवाक एन्ड बन्जिजम्प’को निजी लगानीमा निर्माण हुन लागेको हो ।  

१ अर्ब रुपैयाँमा पुल निर्माण गर्ने प्रारम्भिक अनुमान गरिएको भएपनि लागत बढ्नसक्ने सम्भावना छ । हाल सिसाको पुल निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम भइरहेको छ । डिपिआर तयारपछि आयोजनाको काम सुरु हुने जनाइएको छ । डिपिआरपछि मात्र सिसाको पुलको लागत यकिन हुने छ । 

डिपिआरपछि आवश्यक स्वीकृति लिएर पूर्वाधार निर्माणको काम सुरु हुने छ । भने एक वर्षमा सिसाको पुल बनाइसक्ने लक्ष्य कम्पनीको छ । 

पूर्वाधार निर्माणको काम सुरु गर्न अझै केही समय लाग्ने जनाइएको छ । यस्तै डिपिआरपछि मात्र बैंकसँग ऋण लिने काम अघि बढ्ने छ । 

स्काइवाकमा नेपाल एसबिआई बैंक र एनएमबी बैंकको लगानी हुनसक्ने जनाइएको छ ।  

‘सिसाको पुल’ निर्माणाधीन बन्दीपुर केबलकारको माथिल्लो तहमा रहने १७ तले पाँचतारे होटलको सभाहल पछाडिको भीरमा बन्ने छ । जसको लम्बाइ ६५ मिटर हुनेछ ।  

बन्दीपुर केबुलकार चढेर माथिल्लो भागमा पुगेपछि सिसाको पुलबाट घना जंगललगायत अन्य मनमोहक दृष्यावलोकन गर्न सकिने छ । 

जमिनको सतहबाट ३ सय मिटरमाथि निर्माण हुने सिसाको पुलमा भीरबाट सिधै हिँड्न मिल्ने छ । जहाँबाट पर्यटकले थ्रिल्ड अनुभव गर्न सक्नेछन् ।  

बन्दिपुरमा थप पर्यटक आकर्षणका लागि साढे २ अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटलसहित केबुलकार निर्माण भइरहेको छ । केबुलकारको काम अन्तिम चरणमा पुगेको छ । बन्दीपुरमा केबुलकार, होटलसँगै सिसाको पुल परियोजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It