Policy

महानगरमा नक्सा पास गर्दा अब घरधनीको बायोमेट्रिक चाहिने

Pinterest LinkedIn Tumblr

काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सापासका लागि बायोमेट्रिक लिन सुरु गरेको छ । भवन निर्माणसँग सम्बन्धित व्यक्तिको अधिकारिकताका लागि  बायोमेट्रिक लिन सुरु गरेको हो । 

मङ्गलबारदेखि सहरी व्यवस्थापन विभागको रजिस्ट्रेसन डेक्सबाट यो सेवा थालिएको छ । हाल केन्द्रमा मात्र थालिएको यो सेवा विस्तारै सबै वडामा लगिने महानगरले जनाएको छ । 

कस्तो हुन्छ प्रक्रिया ?

यस प्रक्रियाका लागि हाल बूढी औंला र चोर औँलाको चिन्ह लिइने विभागले जनाएको छ  । यसलाई अपडेट गरेर रेटिना र हस्ताक्षरसहितको बनाउने योजना छ । 

ईवीपीएस प्रणालीबाट आवेदन दिनुअघि इन्जिनियरले नक्सा बनाउँछ । यससँग सम्बन्धित कागजात सङ्कलन गरेर फाइल (बुकलेट) तयार हुन्छ । यो डकुमेन्ट अनलाइनबाट  भवन निर्माण इजाजतका लागि पेश गरिन्छ । सामान्यतः यो प्रक्रियाका लागि घरधनीले इन्जिनियर वा परामर्शदाताको सहयोग लिएका हुन्छन् । यसरी पठाइएको विवरण ठिक छ कि, छैन भनेर घरधनी महानगरपालिकामा जाँच गर्न आउँदा बायोमेट्रिक लिइने हो । 

महानगर जाँदा घरधनीले लालपूर्जा र नापी नक्साको सक्कल लिएर जानुपर्छ । यसो गर्नाले सक्कल लालपूर्जा र नापी नक्सा विवरण दोहोरिने सम्भावना हुँदैन । प्रमाणिकरण भइसकेपछि सक्कल कागजपत्र तत्काल फिर्ता हुन्छ । 

एकपटक बायोमेट्रिक गरिसकेपछि घरधनीले जहाँ-जहाँ हस्ताक्षर गर्नुपर्ने हो, त्यो ठाउँमा प्रणालीले नै हस्ताक्षर राखिदिन्छ । यो प्रणालीलाई अहिले सम्पत्ति कर आबद्ध गरिसकेको महानगरले जनाएको छ । 

बैंकिङ प्रणालीसँग अटोमेसन भइसकेको छ भने भवन नक्सा स्वीकृतिका लागि बुझाउनु पर्ने सबै प्रकारका शुल्क मोबाइलबाटै तिर्न सकिनेछ ।

प्रणालीमा घरधनीकै मोबाइल नम्बर हुने भएकोले प्रमाणीकरण गर्न सहज हुनेछ । सम्पत्ति करसँग प्रणाली आबद्ध भइसकेकाले सम्पत्ति कर तिरेको ट्याक्स पेयर कोड (संकेत नं.) राखिसकेपछि मात्र पेज खुल्छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

प्रतिक्रिया दिनुहोस्
Pin It