Tourism

मनकामना मन्दिरप्रति भक्तजनको यति धेरै आस्था किन छ !

Pinterest LinkedIn Tumblr

काठमाडाैं । मनकामना मन्दिर गोरखा जिल्लाको सदरमुकामबाट दक्षिणपूर्वी भागमा अवस्थित नेपालको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । मनले चिताएको अर्थात मनको इच्छा पूरा गर्ने देवी रुपमा मनकामनालाई पुजिन्छ ।

मनको इच्छा पुरा गर्ने भएकोले यो देवीको नाम मनकामना रहन गएको हो भन्ने जनविश्वास रहेका छ । मानिसहरू अहिले पनि यो भगवती मन्दिरलाई सम्झी आफूले चिताएको काम पूरा होस भनी भाकल गर्दछन् । साथै, वर्षेनी हजारौं दर्शनार्थीहरू आफ्नो भाकल चढाउन यो मन्दिरमा पुग्छन् । 

नेपालको एकीकरण, राष्ट्रिय एकता, अखण्डता र सामाजिक सद्भाव जोडिएको यो मन्दिर गोरखा जिल्लाको पवित्र धार्मिक स्थल होदशैँको महाष्टमीका दिन यस मन्दिरमा विशेष पूजा गरिन्छ । यिनै भगवतीको कृपा र गुरु गोरखनाथको आशीर्वादले पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरण गर्न सफल हुनुभएको इतिहासमा उल्लेख छ । 

मन्दिरकाे वनावट

मनकामना मन्दिर प्यागोडा शैलीमा बनेको छ । यस मन्दिरको दुई स्तर छाना पित्तलको रहेको थियो । वि सं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले मन्दिरमा ठुलो क्षति पुर्यायो । सोही वर्षको असारमा क्षमापूजा गरी भत्काएर राष्ट्रिय पुरातत्व विभागले तोकेको मापदण्डअनुसार मन्दिरको गजुर, छाना र मूलढोकामा सुनको जलप लगाएर निर्माण गरिएको छ । अन्य मन्दिरको छानामा सुनको जलप लगाउँदा नाइट्रिक एसिड प्रयोग गरेर लगाउने गरेको भए पनि मनकामना मन्दिरको छानामा सुनको जलप लगाउँदा पुरानै प्रविधिअनुसार चुक, नुन, अमिलो र इँटाको ढुटोहरु प्रयोग गरेर बनाइएको छ । 

त्यस्तै मन्दिर निर्माणका लागि आधुनिक प्रविधिको सिमेन्ट रडलगायतका कुनै पनि सामग्री प्रयोग नगरी चना ढुङ्गा, सुर्खी, इँटा र काठ प्रयोग गरिएको छ ।

मनकामना मन्दिरको किम्बदन्ती

मनकामना माईका पुजारी इन्सान थापा मगरका अनुसार, राजा रामशाह (विसं १६१४ देखि १६३६) का रानी लिलावती या पुण्यवती देवी अवतारी थिइन रे । लखन थापा लिलावतीका भक्त थिए । एकपल्ट राजा रामशाहले गार्खाको उपल्लो कोट दरबारमा आफ्नी रानी र लखन थापालाई आफ्नो सिंहासनमा एकैसाथ देखेछन् । त्यसपछि राजा अचानक बिरामी भई स्वर्गीय भए । उनको अन्येष्टि मर्स्याङदी नदीको–दरौदी दोभान रामशाह घाटमा गरियो । त्यसबेलाको चलन अनुसार रानी लिलावती पनि राजा रामशाह सँगै सती गइन । भक्त लखन थापा शोकाकुल भई विलाप गर्दा रानीले, “तिम्रो इच्छा पूरा गर्न तिर्मै गाउँको एकछेउमा फेरी प्रकट हुनेछु,” भनेर भनिन रे । त्यसको सात महिना पछि हाल मनकामना रहेको ठाउँमा त्यहाँका एक व्यक्तिले गोरु जोत्दा हलो अड्की त्यसबाट दूध र रगत बग्न थालेछ । दिव्यदृष्टि भएका लखन थापाले तान्त्रिक विधिद्वारा पूजा गरेपछि रगत बग्न रोकिएको र सोही थलोमा देवीको मन्दिर स्थापना गरियो । सो घटनापछि गोरखाका राजाले मनकामना माईको सेवा गर्न लखन थापा र उनका दरसन्तानलाई पुजारी नियुक्ति गरि नित्य पूजा चलाउन जग्गा गुठी र विर्ता लालमोहर लगाई दिएका थिए । मनकामना माईको हालको पुजारी लखन थापाको सत्रौ पुस्ताका सन्तान हुन ।

मनकामना मन्दिर परिसरको चाँपको रुख 

मनकामना मन्दिर दर्शन गर्न वर्षेनी हजारौं भक्तजनहरू गोरखा आउँछन् । पूजाआजा गर्दछन् । बली दिन्छन् । परेवा उडाउछन् । तर मन्दिर परिसरमा रहेको भिमकाय चाँपको रूखमा कसैको ध्यान पुग्दैन । मनकामना मन्दिर अगाडि रहेको यो चाँपको रूख करिव ४०० वर्ष पुरानो भएको स्थानीयवासीहरू बताउँछन् । पहेलो फुल फुल्ने यो रूख उमेरका कारण बोक्राहरूका चाउरिँदै गए जस्तो देखिन्छ । स्थानीयवासीहरूका अनुसार चाँपको यस रुखबाट कडा वासना आउँछ । जुन वासना लम्जुङ सम्म पनि पुग्दैछ ।  उनीहरूका अनुसार हुरी बतास आउँदा धेरैपटक रुखका हाँगाहरू भाँच्चिए तर अहिलेसम्म मानवीय तथा भौतिक नोक्सानी भएको छैन । त्यसैले यो रुखमा पनि भगवती देवीको वास भएको मानिन्छ ।

यो मन्दिर परिसरमा १५ भन्दा बढी देवी देवताहरूको मन्दिरहरू छन् । ती मध्येको एउटा हो, वंकेश्वरी मन्दिर । यो मन्दिर मनकामना मन्दिरको पुर्वपट्टी अवस्थित छ जहाँ वाक्य फुट्न नसकेका वा लुला लँगडा बालबालिकालाई दर्शन गराएमा बालबालिकाको बोली फुट्ने जनविश्वास रहेको छ । यहाँ विशेषताः अष्टमीका दिन बली चढाइन्छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It