Policy

कसरी लेख्ने घरजग्गा बैनाको तमसुक ? यी हुन्, छुटाउनै नहुने कुराहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । घरजग्गा कारोबार गर्दा सम्झौता स्वरुप बैना रकम बिक्रेतालाई दिने गरिन्छ । बैनाबट्टाले खरिदकर्ता तथा बिक्रीकर्तालाई सम्पत्ति खरिद तथा बिक्री हुनुभयो भन्नेमा विश्वस्त गराउँछ । कारोबारको लागि बिक्रेतालाई रकम दिँदा तयार गरिने बैनाबट्टा कागज नै तमसुक हो । 

किन लेख्ने ‘तमसुक’ ?

कारोबारलाई कानूनी रुपमा वैधता दिन तमसुकको महत्वपूर्ण भूमिका हुन्छ । यदि बिक्रेताले बैनापश्चात् घरजग्गाको राजिनामा पास गर्न तथा बैना रकम फिर्ता गर्न मनाही गरेको खण्डमा तमसुकका आधारमा कानुनी प्रकृयामा जान सकिन्छ । तमसुक नगरी दिएको बैना रकमको सम्बन्धमा कानुनी उपचार मिल्ने अतिकम सम्भावना हुन्छ । त्यसैले बैनाको तमसुक लेख्दा रीत पुर्‍याएर लेख्नुपर्ने हुन्छ । 

कसरी लेख्ने ‘तमसुक’?

हिजोआज त बैना कागजको नमुना नै पाइन्छ । सो नमुनामा सम्बन्धित विवरण भरेमात्र पुग्छ । कम्प्युटरमा तमसुकको नमुना टाइप गरी नेपाली कागजमा प्रिन्ट गरेर हस्ताक्षर वा औंठाछाप लगाउन पनि सकिन्छ ।

‘तमसुक’ तयार पार्दा ध्यान दिनुपर्ने कुराहरूः
  • बैना रकमको तमसुक नेपाली कागजमा लेखिन्छ । सामान्यतया कानुनी कुराहरू नेपाली कागजमा लेख्नुपर्ने चलन छ । 
  • सकेसम्म भरपर्दो र चिनजानको व्यावसायिक लेखनदासलाई तमसुकको कागज लेख्न लगाउनुपर्छ ।
  • तमसुक लेख्दा माथिपट्टि एक इन्च, बायाँपट्टि डेढ इन्च र पुछारमा १ इन्च ठाउँ (मार्जिन) छाडेर लेख्नुपर्छ ।
  • कानुनी कुराहरू नेपाली कागजको एक साइडमा मात्र लेखिने हुँदा तमसुक नेपाली कागजको एक साइडमा मात्र लेख्नुपर्छ । 
  • तमसुक लेख्दा कालो मसी प्रयोग गर्नुपर्छ । कालो नउड्ने खालको मसी प्रयोग गरेर लेख्दा बढी सुरक्षित भइन्छ । लेख्दा केरमेट पनि गर्नु हुँदैन । केरमेट वा दोहोर्याएर लेखेको ठाउँमा हस्ताक्षर वा औंठाछाप लगाउन भुल्नुहुँदैन ।
  • बैनाको तमसुक लेख्न सुरु गर्दा ‘लिखितम धनीका नाममा’ भनेर सुरु गर्नुपर्छ । र, जग्गा बिक्री गर्न लागेका व्यक्तिको तीन पुस्ता (हजुरबुवा, बुवा र जग्गाधनीको नाम) तमसुकमा लेख्नुपर्ने हुन्छ । साथै जग्गाधनीको स्थायी (नागरिकतामा उल्लेख) ठेगाना र हाल बसिरहेको ठाउँको विवरण पनि लेख्नुपर्छ ।
  • जग्गाधनीको तीन पुस्ते विवरण र ठेगाना लेखिसकेपछि उसको नागरिकता नम्बर र उसको उमेर उल्लेख गर्नुपर्छ ।
  • सबै कुरा उल्लेख गरेपछि जग्गाधनीले बिक्री गर्न लागेको जग्गाको स्थान, कित्ता नम्बर, र क्षेत्रफल उल्लेख गर्नुपर्छ । जग्गाको क्षेत्रफल पहाडमा भए आना र रोपनीमा र तराईतिर धुर, कठ्ठा, बिघामा उल्लेख गर्ने चलन छ । यो आफ्नो ठाउँको चलनचल्ती अनुसार लेख्नुपर्ने हुन्छ ।
  • जग्गा बिक्री गर्नेको विस्तृत विवरण लेखिसकेपछि किन्ने मान्छेको विवरण उल्लेख गर्नुपर्छ । खरिदकर्ताको तीन पुस्ता (हजुरबुवा, बुवा र खरिदकर्ता) को नाम, स्थायी ठेगाना (नागरिकतामा उल्लेख), हाल बसिरहेको ठाउँ, नागरिकता नम्बर, उमेर उल्लेख गर्नुपर्छ ।
  • तमसुकमा खरिद-बिक्री गर्न लागेको जग्गाको प्रतिआना मूल्य (अंकअक्षर) मा , जग्गाको क्षेत्रफलअनुसार कुल मूल्य (अंकअक्षर) मा घरजग्गा खरिद गर्ने व्यक्ति (खरिदकर्ताको नाम) सहमत भएको भनेर उल्लेख गर्नुपर्छ ।
  • तमसुकमा खरिदकर्ताले बैनाबापत दिएको रकम अंक र अक्षरमा लेखी बिक्रीकर्ता (घरजग्गाधनी) ले बुझिलिएको भनेर उल्लेख गर्नुपर्छ । तमसुकमा बैना रकम उल्लेख गरेपछि अब दिन बाँकी रकम पनि उल्लेख गर्नुपर्छ । यदि बैना रकम चेकबाट दिइएको हो भने चेक नम्बर पनि लेख्दा राम्रो हुन्छ ।
  • तमसुकमा जग्गा कति दिनभित्र पास गर्ने सहमति भएको त्यो पनि उल्लेख गर्नुपर्छ । सामान्यतया बैना गरेको ३५ दिनभित्र घरजग्गाको कारोबार क्लियर गरी राजिनामा पास गरिदिने चलन छ ।
  • तमसुकमा उल्लिखित मितिमा जग्गा राजिनामा पास गरी नदिएमा यसै कागजलाई आधार मानी कानुनबमोजिक कारबाही होस् भनेर बिक्रेताको तर्फबाट लेख्नुपर्ने हुन्छ ।
  • जग्गाधनी र खरिदकर्ताबीच अरु सर्तनामा भएका छन् भने ती पनि सबै उल्लेख गर्नुपर्छ ।
  • इति सम्वत् लेखेर जुन दिन कागज गर्दै हुनुहुन्छ त्यो दिनको मिति स्पष्ट खुल्ने गरी लेख्नुपर्छ ।
  • अन्तिममा जग्गाधनीको नाम लेखेर हस्ताक्षर गर्ने र दायाँ बायाँ औंठाछाप लगाउनुपर्छ ।
  • हामीले जुन ठाउँबाट तमसुक लेख्न सुरु गरेका छौं, त्यसको बायाँपट्टि जग्गाधनीको दस्तखत गरेर दायाँ बायाँ औंलाको औंठाछाप लगाउनुपर्छ । जहाँ हामीले अंकहरू लेखेका छौं त्यहाँ पनि ल्याप्चे लगाएमा राम्रो हुन्छ ।
  • तमसुक लेख्दा साक्षी राख्न भुल्नु हुँदैन । तमसुक कागजको बायाँपट्टि खाली छाडिएको भागमा साक्षीहरूको तीन पुस्ते नाम, स्थायी र अस्थायी ठेगाना, उमेरलगायत लेखेर हस्ताक्षर गराउनुपर्छ । कम्तीमा दुईजनालाई साक्षी राख्नुपर्ने हुन्छ । 
  • साक्षी बसेका व्यक्तिको नामभन्दा तल तमसुक लेख्ने व्यक्तिको नाम, ठेगाना लेख्नुपर्छ । यदि कानुन व्यवसायीले तमसुक लेखेको हो भने उसको नाम, ठेगाना र प्रमाणपत्र नम्बर र मोबाइल नम्बर उल्लेख गर्नुपर्ने हुन्छ । आफू स्वयम् वा अरु कोहीबाट लेखाइएको हो भने लेखनदासको नाम, थर र ठेगाना अनिवार्य उल्लेख गर्नुपर्छ ।

तमसुक लेखिसकेपछि यो बैनाबट्टा कागज खरिद-बिक्री हुन लागेको जग्गा भएको सम्बन्धित वडामा गएर तमसुक दर्ता गर्नुपर्ने हुन्छ । वडामा दर्ता नगरेको खण्डमा पछि जालझेल भएको खण्डमा अदालत जाँदा कानुनी रुपमा कमजोर भइन्छ । खरिदकर्ताले बिक्रीकर्तालाई वडामा लगेर त्यहाँको ढड्डामा तमसुकको विवरण उल्लेख गरी हस्ताक्षर र औंठा छाप लगाउनुपर्छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 
प्रतिक्रिया दिनुहोस्
Pin It