News

देशभरि घरजग्गा कारोबार सुस्ताउँदा पनि यी ठाउँमा भने परेको छैन असर

By BN EditorialFebruary 1, 20222 min read
देशभरि घरजग्गा कारोबार सुस्ताउँदा पनि यी ठाउँमा भने परेको छैन असर

चालु आर्थिक वर्षको असोजपछि नेपालमा घरजग्गा कारोबार सुस्ताएको छ । बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा त्यसको असर घरजग्गा कारोबारमा समेत पर्न पुगेको छ । अहिले घरजग्गा कारोबारका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन खोज्दा नपाउने, पाए पनि ब्याजदर महँगो पर्न जाने अवस्था छ । त्यसैले पनि कोरोना कहरमा समेत फस्टाएको घरजग्गा कारोबार यति बेला सुस्ताउन पुगेको छ ।

घरजग्गा कारोबारका लागि सिजन मानिएको पुस महिनामै कारोबार घटेपछि धेरै घरजग्गा व्यवसायीहरु समस्यामा परेका छन् । तर देशभर कारोबार घट्दा पनि विभिन्न ६ ओटा ठाउँमा भने घरजग्गा कारोबार तुलनात्मक रुपमा बढेको पाइएको छ।

नेपालका १२६ मालपोत कार्यालयमध्ये पुस महिनामा कम्तीमा एक हजार कारोबार हुने मालापोत कार्यालयको संख्या ३२ छ । तीमध्ये अघिल्लो वर्षको पुसको तुलनामा यसपटकको पुस महिनामा ६ वटा कार्यालयमा घरजग्गा कारोबार बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । यस्ता ठाउँहरु तल दिइएको छ ।

१. भद्रपुर झापा

झापाका दुवै मालपोत कार्यालयमा पुसमा घरजग्गा कारोबार बढेको छ । गत वर्ष पुसमा २ हजार ६९२ घरजग्गा किनबेच भएको भद्रपुरमा यो वर्ष पुसमा २ हजार ७५५ घरजग्गा किनबेच भएका छन् । गत वर्षको तुलनामा यो वर्ष पुस महिनामा भद्रपुरमा घरजग्गा काराेबारकाे संख्या ६३ ले बढेकाे छ ।

२. दमक झापा

झापामै रहेको दोस्रो मालपोत कार्यालयले पनि गत वर्ष पुसमा १ हजार ४०० घरजग्गा किनबेच गराएकोमा यो वर्ष पुसमा १ हजार ४३४ घरजग्गा किनबेच गराएको छ । यहाँ गत वर्षको तुलनामा ३४ ओटा घरजग्गा बढी किनबेच भएका हुन् । झापामा रहेका दुवै कार्यालयमा कारोबार संख्या बढेकोले झापामा मन्दीको असर कम भएको बुझ्न सकिन्छ ।

३. साँखु काठमाडौं

काठमाडौंको उत्तर पूर्वी किनारमा रहेको साँखु मालपोत कार्यालयले गत वर्ष पुसमा ९५१ घरजग्गा मात्रै किनबेच गराएको थियो । यो वर्ष पुसमा भने साँखु मालपोत कार्यालयले १ हजार १६० घरजग्गा किनबेच गराएको छ । जुन गत वर्षको तुलनामा २०९ ले बढी हाे ।

४. कलंकी काठमाडौं

गत वर्ष पुसमा १ हजार ५६४ घरजग्गा किनबेच गराएको कलंकी मालपोत कार्यालयले यो वर्ष पुसमा १ हजार ६९९ घरजग्गा किनबेच गराएको छ ।  गत वर्षको तुलनामा याे मालपाेत कार्यालयबाट १३५ ओटा बढी घरजग्गा किनबेच भएकाे छ ।

५. चितवन

गत वर्ष पुसमा १ हजार ५५९ घरजग्गा किनबेच गराएको चितवन मालपोत कार्यालयले यो वर्ष पुसमा १ हजार ६७४ घरजग्गा किनबेच गराएको छ । गत वर्षको तुलनामा यहाँ ११५ ओटा बढी घरजग्गा किनबेच भएका छन् । यद्यपी चितवनको कारोबार यसै वर्ष मंसिरमा भएको कारोबारको तुलनामा भने कम हो । मंसिरमा यहाँ २ हजार हाराहारी घरजग्गा किनबेच भएका थिए ।

६. नेपालगञ्ज

पश्चिम नेपालमा नेपालगञ्ज मालपोत कार्यालयले मात्रै गत वर्षको भन्दा बढी घरजग्गा किनबेच गराएको छ । गत वर्ष पुसमा २ हजार ३७१ घरजग्गा किनबेच गराएको नेपालगञ्ज मालपोत कार्यालयले यो वर्ष पुसमा २ हजार ४११ घरजग्गा किनबेच गराएको छ । जुन गत वर्षको तुलनामा ४० ले बढी हाे ।

basobaasbasobaas nepalnepalrealestate

You May Also Like

More stories from Basobaas