Market

एसपीको निजी घर बनाउँदै प्रहरी जवानहरू, प्रहरीकै गाडीमा निर्माण सामग्री ढुवानी

Pinterest LinkedIn Tumblr

काठमाडौं । नेपाल प्रहरी विशेष सुरक्षा गण धनुषा, ढल्केबरका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कार्कीले आफ्नो निजी घर बनाउन गणकै प्रहरी र गाडी खटाएको पाइएको छ । कार्कीले मिथिला नगरपालिका-१० लालगढमा आफ्नो घर बनाउन मजदुरका रूपमा गणकै प्रहरी कर्मचारी र निर्माण सामग्री ढुवानी गर्न गणकै गाडी प्रयोग गरेको पाइएको हो । 

स्रोतका अनुसार एसपी कार्कीले दैनिक बिहान र साँझ गरी ८ घण्टा ६ देखि ८ जनालाई खटाउने गरेका छन् । 

निर्माण सामग्री घामपानीले नबिग्रुन् भनेर बनिरहेकै घरको छेउमा टेन्ट बनाएर राखिएको छ । सो टेन्ट पनि गणकै सामग्री प्रयोग गरी बनाइएको खुलेको छ । 

गणकै गाडीमा एसपी कार्कीको घर बनेको ठाउँमा प्रहरी लैजाने र ल्याउने गरिएको खुलेको छ । कार्कीको नीजी घर  बनाउन खटिने प्रहरीहरूलाई पुरस्कृत गर्ने गरिएको छ । नमाने विभिन्न पीडाहरू भोग्नुपर्ने छ ।  

एसपी कार्कीको घर निर्माणको काम भइरहेको केही तस्बिरहरु समेत फेला परेका छन् । उक्त तस्वीरमा केही कामदारहरू घर बनाइरहेका छन् ।

तस्बिरमा देखिएका प्रहरी हुन् कि अन्य मजदुर हुन् भन्नेबारे बुझ्दा तस्बिरमा देखिएका केही कामदार प्रहरी नै भएको पुष्टि भएको छ । घर निर्माणमा खटिने सबै प्रहरी जवानहरू नेपाल प्रहरी विशेष सुरक्षा गणमा दरबन्दी रहेको गण स्रोतको भनाइ छ ।

एसपी कार्की आफैले पनि प्रहरी कर्मचारीले घर निर्माणमा सघाइरहेको स्वीकार गरेका छन् । प्रहरीकै रिफ्रेश सेन्टरको काम पनि लालगढ नजिकै पर्छ । त्यहाँबाट जाँदा कहिलेकाहीँ काम गर्ने गरेको उनले बताएका छन् । 

हामीले हाकिमले आफ्नो घर बनाउन मातहतको प्रहरी परिचालन गर्न पाउँछ भनी मधेस प्रदेश प्रहरी प्रमुखलाई सोधेका छौं । 

मधेस प्रदेश प्रहरीले भने व्यक्तिगत काममा प्रहरी र सरकारी सवारी साधान प्रयोग गर्न नमिल्ने बताएका छन् । एसपी कार्कीले आफ्नो घर बनाउन प्रहरी परिचालन गरेको भन्ने विषय आफ्नो जानकारीमा नभएको र त्यसरी व्यक्तिगत काममा प्रहरी र गाडी परिचालन गरेको हो भने कारबाही हुने मधेस प्रदेश प्रहरीले जनाएको छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It