काठमाडौं । पछिल्लो समय बालुवाटारस्थित ललितानिवास परिसरका जग्गाधनीले सरकारलाई जग्गा फिर्ता गर्न थालेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले जग्गाधनीमाथि पनि अनुसन्धान थालेपछि मुद्दाबाट जोगिन जग्गाधनीले जग्गा फिर्ता गर्न थालेका हुन् ।
जग्गा फिर्ता गर्नेमा ललितानिवास प्रकरणमा पक्राउ पर्ने सिपीका खेतान लगायत अन्य केही रहेका छन् । उनले डिल्लीबजार मालपोत कार्यालयमा जग्गा सरकारको नाममा नामसारी गरेकी थिइन् । जग्गा फिर्ता गरेको जानकारी दिँदै खेतानले आफूलाई रिहा गर्न सीआइबीलाई माग गरेकी छिन् ।
जग्गा फिर्ता गर्नेलाई सिआइबीले साक्षीका रूपमा अदालतमा पेस गर्नेबारे जिल्ला सरकारी वकिल कार्यालयसँग छलफल थालेको छ ।
खेतानको नाममा हाल ललितानिवास परिसरको आठ आना जग्गा छ । उनले व्यवसायी मीनबहादुर गुरुङसँग सो जग्गा खरिद गरेकी थिइन् । जग्गा जफतको प्रयोजनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
यसअघि अख्तियारले जग्गा फिर्ता गरेको आधारमा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी तथा एमाले नेता विष्णु पौडेलका छोरा नवीनलाई मुद्दा नचलाउने विवादित निर्णय गरेको थियो ।
सीआइबीले पनि सोही नजिरमा टेकेर सरकारलाई जग्गा फिर्ता गर्नेको हकमा प्रतिवादी नबनाउनेबारे छलफल थालेको छ । तर, किर्तेमा संलग्न नभएका र जग्गा खरिद मात्र गर्नेको हकमा यस्तो सुविधा दिनेबारे छलफल थालिएको सीआइबीले जनाएको छ ।
सीआइबीले जग्गा प्रकरणमा पक्राउ परेका २२ जनासँगै खेतान र केशव तुलाधरलाई समेत थुनामा राखेको छ । तुलाधरलाई गत ३१ असारमा ब्युरोले पक्राउ गरेको थियो । उनले पनि आठ आना जग्गा खरिद गरेको आधारमा ब्युरोले पक्राउ गरेको हो । अन्य जग्गाधनी पनि सिआइबी छानबिनमा छन् ।
कतिपय व्यापारीले भने भूमाफिया समूहसँगै मिलेर न्यून मूल्यमा जग्गा खरिद गरेको देखिएको छ । उनीहरूको हकमा मुद्दा चल्ने सम्भावना छ ।
बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।