Tourism

कतारको स्काईलाइन गेम चेन्जर ‘कटारा टावर’

Pinterest LinkedIn Tumblr

काठमाडौं । अरबी देश ‘कतार’ हजारौं नेपालीको वैदेशिक रोजगारको गन्तव्य हो । दक्षिण एसियाली मुलुकका धेरै कामदारहरूको रोजिरोटीको स्रोत बनेको कतार ‘तेल र प्राकृतिक ग्यासको विशाल भण्डार’को लागि प्रसिद्ध छ । जसले पछिल्लो समय पृथक डिजाइन र लग्जरियस संरचनाका कारण पनि विश्वको ध्यान खिचिरहेको छ ।

कतारको लुसेल शहरमा अवस्थित कटारा टावर झट्ट हेर्दा दुईवटा तरबार जोडिएको जस्ताे देखिन्छ । अर्धचन्द्राकार संरचनाको आधिकारिक नाम कटारा टावर हो । यद्यपि यसलाई मून टावर र ट्विन-टावर कम्प्लेक्सको नामले पनि चिनिन्छ ।

सन् २०२२ मा निर्माण सम्पन्न भएकाे ४० तल्ले याे भवन ६ सय ९२ फिट अग्लो छ । यो टावर कतारको १२ औं अग्लो संरचना हो । कतार सरकारको स्वामित्वमा रहेपनि कटारा टावर सरकारी काममा प्रयोग हुने गरेको छैन ।

३ लाख वर्गमिटर क्षेत्रफलमा फैलिएको टावरमा पाँचतारे र छतारे लक्जरी होटल सञ्चालित छन् । फेयरमन्ट दोहा र राफल नामक दुईवटा होटलमा विभाजित टावरमा स्थानीयवासी र पर्यटकका लागि होटल र ४९ वटा अपार्टमेन्टहरू उपलब्ध छन् । 

पर्यटकीय आकर्षणका लागि निर्माण गरिएको यस टावरमा आकर्षक डिजाइनका ३६१ वटा कोठाहरू छन् । 

जहाँ मनोरञ्जन सुविधाहरू, बुटीक, फिल्म हल, उच्चस्तरीय रेस्टुरेन्ट जस्ता हजार भन्दा बढी उत्कृष्ट इकाईहरू छन् ।

कटारा टावर दीगो दिगो भवन मूल्याङ्कन प्रणाली अन्तर्गत ग्लोबल स्टेनेबिलिटी एसेसमेन्ट सिस्टम (GSAS) बाट फाइभ स्टार सस्टेनेबिलिटी रेटिङ पाउने पहिलो होटल हो । 

क्लिङ कन्सल्ट नामक अन्तराष्ट्रिय निर्माण कम्पनीले कटारा टावरको डिजाइन गरेको हो । यसको आउटलुक कतारको राष्ट्रिय छापको वास्तुशास्त्रीय अनुवादित छ । जसले परम्परागत स्किमिटर तरवारहरूको प्रतिनिधित्व गर्दछ । 

प्रतिकात्मक रुपमा नामाकरण गरिएको यस टावरले कतारको परम्परागत वास्तुकला, र शिल्पका लागि परिचित ऐतिहासिक तथा सांस्कृतिक गाउँलाई जनाउँछ ।

प्रतिक्रिया दिनुहोस्
Pin It