काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा भाडाको घरमा बस्न थालेका छन् । प्रधानमन्त्री पदबाट मुक्त भएसँगै देउवा परिवारसहित बुधबार बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट सरेका हुन् ।
बुढानिलकण्ठस्थित निजी निवास पुनर्निर्माण भइरहेकाले उनी भाडाको घरमा सर्नु परेको देउवाको सचिवालयले जनाएको छ ।
बूढानिलकण्ठको देउवा निवासको पुनर्निर्माण सकिन ३/४ महिना लाग्ने भएकाले भाडाको घर खोजिएको बताइएको छ । आफ्नो घर निर्माणाधीन अवस्थामा रहेकाले केही समय उनी धुम्बाराहीस्थित एक निजी घर भाडामा लिएर बस्ने भएका हुन् ।
पुष १० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएसँगै देउवा पदमुक्त भएका थिए । निकै रोचक ढंगबाट प्रधानमन्त्रीको नियुक्ति टुङ्गोमा पुगेसँगै राजनीतिक माहोल आलोचनाको चरम उत्कर्षमा पुगेको छ ।
पाँचौ पटकसम्म प्रधानमन्त्री बनेका देउवाको यसपटक १८ महिना बालुवाटार बसाइ रह्यो । पछिल्लोपटक उनी ०७८ साउन २९ गते प्रधानमन्त्री पदमा नियुक्त भएका थिए ।
देउवा बालुवाटारबाट सरेपछि अब प्रचण्ड बालुवाटार सर्ने तयारीमा छन् ।