काठमाडौं । गत माघ महिनामा उकालो लागेको घरजग्गा कारोबार फागुनमा फेरि खस्किएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार फागुनमा देशभरका मालपोत कार्यालयहरूबाट ४० हजार ७३४ लिखित पास भएको छ ।
जुन माघको तुलनामा करिब १ हजार ७ सयले कम हो । नयाँ भूउपयोग नियमावलीको प्रभावले लामो समय ओह्रालो लागेको कारोबार माघमा तुलनात्मक सुधार भएको थियो ।
चालु आर्थिक वर्षको असोजमा सबैभन्दा कम २५ हजार ७८९ घरजग्गा किनबेच भएको विभागको तथ्यांक छ । त्यस्तै, गत वर्षको तुलनामा घरजग्गाको कारोबार आधाले घटेको देखिएको छ ।
गत आर्थिक वर्षको पहिलो आठ महीना (माघसम्म) मा ५ लाख २७ हजार ९४९ वटा घरजग्गा किनबेच भएकोमा यो वर्षको सोही अवधिमा २ लाख ७२ हजार १५७ मा कम देखिएको छ ।
विभागको तथ्याङ्कअनुसार फागुनमा नेपालगञ्जबाट धेरै घरजग्गा खरिदबिक्री भएको छ । उक्त मालपोत कार्यालयबाट फागुनमा १ हजार ६ सय ९ वटा लिखत पारित भएको छ ।
त्यस्तै, इनरुवामा १ हजार ५ सय ४७, जनकपुरधाममा १ हजार ५ सय ३३, बेलबारीमा १ हजार २ सय ७५, राजविराजमा १ हजार १ सय ९२, भक्तपुरमा १ हजार १ सय १३, तौलिहवामा १ हजार ८७, भद्रपुरमा १ हजार ७७, लगनखेलमा १ हजार ३१ र विराटनगर मालपोतमा १ हजार २७ वटा लिखत पारित भएको विभागको तथ्याङ्कले देखाएको छ ।
त्यसैगरी, काठमाडौं उपत्यकाका कलंकी मालपोतमा ७ सय १, साँखुमा ४ सय ८४, चाबहिलमा ४ सय ३४, मनमैजुमा २ सय ७४, डिल्लीबजारमा १ सय ९०, टोखामा १ सय १३ लिखत पारित भएका छन् ।
फागुन महिनाको राजश्व संकलनः
कारोबारमा देखिएको गिरावटको प्रभाव राजस्वमा पनि परेको छ । फागुनमा घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब ५७ करोड राजस्व उठाएको छ । जबकि माघमा ३ अर्ब ७५ करोड रुपैयाँ राजस्व उठेको थियो ।
फागुनमा लगनखेल मालपोतले ३२ करोड १५ लाख, भक्तपुरले २२ करोड ९० लाख, कलङ्कीले १८ करोड ७६ लाख, चाबहिलले १६ करोड ८८ लाख, डिल्लीबजारले १४ करोड ५२ लाख र कास्कीले १२ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन गरेको विभागको तथ्यांक छ ।