काठमाडौं । टर्कीमा सोमबार गएको विनाशकारी भूकम्पमा परी हजारौं भवन भग्नावशेष भएका छन् । भत्किएका भवनहरू निर्माण गरेको सम्बन्धमा ११३ जनालाई पक्राउ पुर्जी जारी गरिएको छ ।
टर्कीस अधिकारीहरूका अनुसार प्रहरीले निर्माण ठेकेदार सहित १२ जनालाई पहिले नै हिरासतमा लिइसकेको छ ।
देशको दक्षिणपूर्वी प्रान्त सानलिउर्फा र गाजियन्टेपमा करिब ६ हजार भवन भत्किएपछि निर्माण कार्य गुणस्तरहीन नभएको भन्दै जनता आक्रोशित छन् ।
भवन भत्किएको सन्दर्भमा टर्कीका उपराष्ट्रपति फुआट ओक्तेले शनिबार १ सय १३ जनालाई गिरफ्तार वारेन्ट जारी गरिएको बताएका थिए । यससँगै प्रहरीले थप व्यक्तिलाई पक्राउ गर्ने अपेक्षा गरिएको छ ।
अन्य प्रभावित शहरहरूमा पनि अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् । न्याय मन्त्रालयले १० प्रदेशमा विशेष ‘भूकम्प अपराध अनुसन्धान कार्यालय’ स्थापना गर्न अधिकारीहरूलाई निर्देशन दिएको छ ।
विज्ञहरूले पटकपटक, टर्कीमा स्थानीय भ्रष्टाचार र सरकारी नीतिहरूको कारण नयाँ बनेका भवनहरू असुरक्षित भएको चेतावनी दिएका थिए । यद्यपि कमजोर नितिले निर्माणकर्तालाई कमसल बिल्डिङ निर्माण तथा निति उल्लंघनमा प्रोत्साहन गरिरह्यो ।
टर्कीमा हालसम्म भुकम्पमा परेर मृत्यु हुनेको संख्या २४ हजार ६ सय १७ पुगेको छ । त्यसैगरी सिरियामा ३ हजार ५ सय ७४ जनाले ज्यान गुमाएका छन् ।
संयुक्त राष्ट्रसंघले मृतकको संख्या ५० हजार पुग्न सक्ने जनाएको छ । यी दुई देशमा छ दिनअघि गएको भूकम्पमा भग्नावशेषमुनि परेका मानिसहरू जीवित भेटिने सम्भावना कम छ ।
आठ लाख भन्दा बढी मानिसहरूले पर्याप्त खाना नपाएको भन्दै संयुक्त राष्ट्र संघले भूकम्पबाट मृत्युको संख्या दोब्बर हुन सक्ने चेतावनी दिएको छ ।