News

घुम्ती नपुग्दा ग्वार्को फ्लाइओभर निर्माणको काम रोकियो

Pinterest LinkedIn Tumblr

काठमाडौं ललितपुरको ग्वार्को चोकमा निर्माण भइरहेको फ्लाइओभरको निर्माण रोकिएको छ । ग्वार्को फ्लाइओभर मुनिको सडकमा घुम्ती नपुग्ने देखिएपछि डिजाइन परिवर्तन गर्नुपर्ने भन्दै निर्माण रोकिएको हो । 

फ्लाइओभरको संरचना तथा फाउन्डेसन आयोजनास्थलमै बनाउँदा लामो समयसम्म सडक बन्द गर्नुपर्ने भएपछि ट्राफिक व्यवस्थापनमा समेत चुनौती देखिएको थियो ।

एसेम्बल मोडलमा फ्लाइओभर निर्माण गर्दा लामो समयसम्म सडक बन्द गर्न नपर्ने र ट्राफिक व्यवस्थापन गर्न पनि धेरै सजिलो हुने सडक विभागले जनाएको छ ।  

फ्लाइओभरमा बन्ने पिलरलगायतका फाउन्डेसन आयोजनास्थलमै निर्माण हुनेछन् । तर, पुललगायतका संरचना भने बाहिर कन्स्ट्रक्सन ल्याबमा बनाइनेछ । 

कन्स्ट्रक्सन ल्याबमा उक्त संरचना तयार भएपछि आयोजनास्थलमा ल्याएर जडान मात्रै गर्ने काम हुनेछ ।

पहिलाको डिजाइनअनुसार फ्लाइओभर बनाउँदा पुलमुनिबाट गुड्ने सवारीसाधनलाई घुम्ती पुग्ने देखिएन ।  हाल घुम्ती पुग्ने गरी पुल तल र साइडको सडकको चौडाइ बढाउन लागिएको विभागले जनाएको छ । 

त्यसबाहेक अन्य डिजाइन साबिककै हुने बताइएको छ ।  नयाँ मोडलमा फ्लाइओभर निर्माण गर्न थप समय लागेपनि लगानी यथावत रहने भएको छ ।

निर्माण कम्पनीले पहिलाकै ठेक्का सम्झौता रकम अन्तर्गत आयोजनाको डिजाइन परिवर्तन गर्ने भएपछि विभागलाई थप आर्थिक भार नपर्ने तर निर्माण अवधि भने लम्बिने जनाइएको छ ।  

विभागले निर्माण कम्पनीसँग दुई वर्षको अवधि सहित ठेक्का सम्झौता गरेको छ । त्यसमा हालसम्म झन्डै ११ महिना समय बितिसकेको छ । अब १३ महिनामा कम्पनीले फ्लाइओभर बनाइसक्नुपर्नेछ ।   

प्रतिक्रिया दिनुहोस्
Pin It