News

‘चोभार बन्दरगाह’ चल्न नसक्दा पार्किङ र गोदामस्थल बन्दै 

Pinterest LinkedIn Tumblr

काठमाडौं । काठमाडौंको चोभारस्थित ‘चोभार सुक्खा बन्दरगाह’मा पार्किङ र गोदामस्थल निर्माण हुने भएको छ । व्यापार सहजीकरणका लागि निर्माण भएको बन्दरगाह प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेको बन्दरगाहलाई वैकल्पिक प्रयोगमा ल्याउन लागिएको हो । 

विश्व बैङ्कको सहयोगमा निर्माण गरिएको बन्दरगाह चैत २२ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको थियो । यद्यपि सञ्चालनमा आएको नौ महिना बितिसक्दा पनि प्रभावकारी रुपमा सञ्चालन नहुँदा पूर्वाधारको अधिकतम प्रयोग गर्न बन्दरगाहलाई ‘लजिस्टिक हब’का रूपमा सञ्चालन गर्न लागिएको हो । 

आगामी एक साताभित्र पार्किङ र गोदाम सञ्चालनमा ल्याउने तयारी गरिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । समितिका अनुसार हबका रूपमा विकास गर्न पूर्वाधार तयार भइसकेको हुँदा भाडाको दररेट निर्धारण गरेलगत्तै सञ्चालनमा ल्याइने छ । 

पार्किङ स्थल र गोदाममा खासगरी मालवाहक ट्रकलाई पार्किङ सुविधा उपलब्ध गराउनुका साथै व्यवसायीले निश्चित शूल्क तिरेर गोदामका रूपमा प्रयोग गर्ने व्यवस्था गरिएको छ ।

बन्दरगाहभित्र प्रयोग नभएको ठाउँमा १ करोड रुपैयाँ खर्च गरेर लजिस्टिक हब विकास गरिएको हो । बन्दरगाहभित्र रहेको २६० रोपनी जग्गामध्येमा ९० रोपनी जग्गामा पार्किङ स्थल र गोदाम सञ्चालन हुनेछ, जहाँ १ सय ५० देखि २ सय वटा ट्रक पार्किङ गर्न सकिन्छ ।

त्यस्तै १२ हजार स्क्वायर फुट गोदाम र लोड/अनलोड गर्ने ठाउँमा प्याकेजिङ स्थल रहेको समितिले जनाएको छ । बन्दरगाहमा साना उद्यमीले उत्पादन गरेका सामान प्याकेजिङ समेत गर्न सकिने छ । बन्दरगाह सञ्चालनमा आएदेखि हालसम्म ८० वटा कन्टेनरमा सामान भित्रिएका छन् भने चार कन्टेनर सामान निर्यात भएका छन् । 

बन्दरगाहमा बाहिरी मुलुकबाट आयात गरेर ल्याइएका ५/५ सय कन्टेनर तथा ट्रकका लागि आवश्यक ६५ हजार वर्गमिटरको पार्किङ क्षेत्र, भन्सार, क्वारेन्टाइन, सुरक्षा र अपरेटर कम्पनी रहेका समितीले जनाएको छ । 

बैंकलगायत अन्य संरचनाका लागि तीन भवन, तीन गोदाम, तीन एप्राइजल सेड, स्टफिङ/डिस्टफिङ सेड, तीन धर्मकाँटा, विद्युतीय सबस्टेसन, बाउन्ड्री लाइटलगायतका पूर्वाधार निर्माण गरिएको छ । 

बन्दरगाहभित्र भन्सार जाँचपास कार्यालय, क्वारेन्टाइन, प्रशासनिक भवन, कन्टेनर पार्किङ, गोदाम घर, चेकजाँच कक्ष सबै सुविधा एकै ठाउँमा छन् । 

१ अर्ब ५४ करोड रुपैयाँ सहयोगमा निर्माण गरिएको बन्दरगाहमा ३५० वटा ट्रक पार्किङ, ढल प्रशोधन केन्द्रलगायतका सुविधा छन् । कुल आयोजना क्षेत्रको ६ प्रतिशत क्षेत्रफलमा हरियाली राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It