काठमाडौं । पूर्वी भारतको विहार राज्यस्थित मोतिहारीमा इटाभट्टा विष्फोट भएको छ । चिम्नीमा आगलागी भई इँटाभट्टा विष्फोट हुँदा इटाभट्टाका मालिकसहित ९ जना मजदुरको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घाइतेहरूको रक्सौल स्थित एक निजी अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीय अधिकारीका अनुसार विहारको राजधानी पटनाबाट १ सय ५४ किलोमिटर उत्तरमा अवस्थित पूर्वीचम्पारण जिल्लाको नारिगिर गाउँमा शुक्रबार साँझ दुर्घटना भएको थियो ।
पूर्वीचम्पारण जिल्ला मजिस्ट्रेट कार्यालयका अनुसार विष्फोटको जानकारी प्राप्त हुनासाथ उद्धारकर्ता र प्रहरी घटनास्थलमा पुगेका थिए । राज्यको विपद् व्यवस्थापन केन्द्रका उद्धारकर्ता भग्नावशेषमुनि खोजी गरिरहेका छन् । हालसम्म विष्फोटको कारण सार्वजनिक गरिएको छैन । सम्बद्ध निकायले अनुसन्धान अघि बढाइसकेको छ ।
यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।