काठमाडौं । भ्रमणका लागि होस् या बस्नका लागि होस् पश्चिम नेपालमा निकै सुन्दर शहरहरू छन् । सुदूरपश्चिम प्रदेशको दार्चुलादेखि गण्डकी प्रदेशको बाग्लुङसम्म दर्जनौँ शहर नदी किनारमा छन् ।
अधिकतम क्षेत्र पहाडी भूभागले ओगटेको हुँदा वस्ती विस्तारको सम्भावना कम छ । एकातिर नदी र अर्कोतिर पहाडले च्यापिएको छ । सीमित ठाउँमा सुन्दर बस्ती हुनुले जग्गाको मूल्य काठमाडौं उपत्यका भन्दा महँगो भइसकेको छ । सरकारले तोकेको न्यूनतम मूल्य नै रोपनीको २० लाख देखि पौने २ करोड रुपैयाँ हाराहारी छ । यद्यपि यी ठाउँमा चलनचल्तीको मूल्य भने कयौं गुणा बढी छ ।
जग्गाको उपलब्धता घट्दै गएपछि त्यहाँ जग्गा किनबेचको शैली पनि फेरिएको छ । यी क्षेत्रमा जग्गाको क्षेत्रफल वर्गमिटर, धुर वा आना नभएर हातको आधारमा नापिन्छ । एक हात लम्बाइ र एक हात चौडाइ भएको जग्गाको मूल्य १० लाख रुपैयाँसम्म पर्छ । १० हात लम्बाइ र १० हात चौडाइ भएको जग्गाको मूल्य १ करोड रुपैयाँ पर्छ । १० हात भनेको करिब ५ मिटर लम्बाइ बराबर हो । यसरी एउटा ठिक्कको घडेरी किन्न पनि यी मध्ये धेरै ठाउँमा १ करोड रुपैयाँभन्दा बढी खर्च गर्नुपर्छ । जुन काठमाडौंका काठ क्षेत्रमा पाइने घडेरी जग्गाको मूल्यभन्दा बढि हो ।
१. खलंगा, दार्चुला

भारत र चीनसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको सदरमुकाम हो खलंगा बजार । यो बजार महाकाली नदीको किनारमा अवस्थित छ । यहाँ सरकारी मूल्याङ्कन अनुसार १ रोपनी जग्गाको न्यूनतम मूल्याङ्कन ६७ लाख ५० हजार रुपैयाँ छ । तर चलनचल्तीमा भने यहाँ सामान्य ठाउँमा पनि रोपनीको डेढदेखि २ करोड रुपैयाँ मूल्य पर्ने गरेको छ ।
२. चैनपुर, बझाङ

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङको सदरमुकाम हो चैनपुर बजार । यो बजार सेती नदीको किनारमा अवस्थित छ । यहाँ सरकारी मूल्याङ्कन अनुसार १ रोपनी जग्गाको न्यूनतम मूल्याङ्कन ५८ लाख ८० हजार रुपैयाँ रहेको छ । चलनचल्तीमा भने यहाँ पनि रोपनीको १ करोड घटिमा किनबेच हुँदैन ।
३. दिपायल, डोटी

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला हो डोटी । नेपालमा संघीयता कार्यान्वयन हुनुअघि सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय निर्देशनालयहरू रहेको ठाउँ हो दिपायल । अहिले दिपायल सिलगढी नगरपालिकामा पर्ने यो ठाउँ सेती नदीको किनारमा अवस्थित छ । डोटीको सदरमुकाम समेत रहेको यहाँ एक रोपनी जग्गाको न्यूनतम मूल्याङ्कन ९६ लाख रुपैयाँसम्म रहेको छ । चलनचल्तीको मूल्य यहाँ पनि डेढदेखि २ करोड रुपैयाँभन्दा बढी रहेको छ ।
४. साँफेबगर, अछाम

सुदूरपश्चिमकै पहाडी जिल्ला अछामको प्रमुख व्यापारिक क्षेत्र हो साँफेबगर । मध्यपहाडी राजमार्गले समेत छुने यो बजार बुढीगंगा नदीको किनारमा अवस्थित छ । यहाँ एक रोपनी जग्गाको सरकारी मूल्याङ्कन २८ लाख रुपैयाँ छ । चलनचल्तीमा भने यहाँ पनि ५० लाख देखि १ करोड रुपैयाँसम्म नै रहेको छ ।
५. चन्दननाथ, जुम्ला

कर्णाली प्रदेशको उत्तरी जिल्ला जुम्लाको सदरमुकाम हो चन्दननाथ नगरपालिका । यो तिला नदीको किनारमा अवस्थित छ । यहाँ १ रोपनी जग्गाको न्यूनतम मूल्याङ्कन ८८ लाख ७ हजार रुपैयाँसम्म रहेको छ । चलनचल्तीमा भने यहाँ पनि डेढदेखि २ करोड रुपैयाँ घटिमा १ रोपनी जग्गाको किनबेच हुँदैन ।
। तस्वीरः लेकाली युवा क्लव जुम्ला
६. राकम कर्णाली, दैलेख

कर्णाली प्रदेशमै पर्ने दैलेखको राकम कर्णाली उदाउँदो बजार क्षेत्र हो । मध्यपहाडी राजमार्ग र जुम्ला सुर्खेत राजमार्गसँग जोडिएको राकम बजार कर्णाली नदी किनारमा अवस्थित छ । यहाँ एक रोपनी जग्गाको सरकारी मूल्याङ्कन करिब २० लाख रुपैयाँ छ । तर चलनचल्तीमा भने यहाँ पनि एक करोड रुपैयाँ घटिमा घडेरी जग्गा किन्न सकिन्न । यहाँ एक हात जग्गाकै १० लाख रुपैयाँसम्म मोलमोलाई हुने गरेको छ ।
७. दुनै, डोल्पा

कर्णाली प्रदेशको हिमाली जिल्ला हो डोल्पा । डोल्पा सदरमुकाम दुनै बजार ठूलीभेरी नदीको किनारमा अवस्थित छ । यो सुन्दर नगरीमा जग्गाको मूल्य अन्य ठाउँमा जस्तो महँगो छैन । यहाँ प्रतिरोपनी जग्गाको न्युनतम मूल्याङ्कन करीब १८ लाख रुपैयाँ रहेको छ । तर यहाँ जग्गाको किनबेच निकै कम हुने हुँदा चलनचल्तीको मूल्यमा धेरै ठूलो अन्तर भने नरहेको मालपोत कार्यालयको भनाइ छ । यहाँ चलनचल्तीमा पनि प्रतिरोपनी ३० देखि ३५ लाख रुपैयाँमा जग्गा किनबेच हुन्छ ।
८. कुश्मा, पर्वत

गण्डकी प्रदेशमा पर्ने पर्वत जिल्ला सदरमुकाम कुश्मा बजार कालिगण्डकी नदी किनारमा अवस्थित छ । यहाँ १ रोपनी जग्गाको सरकारी मूल्याङ्कन १ करोड ३ लाख रुपैयाँ रहेको छ । चलनचल्तीमा यहाँ १ रोपनी जग्गा २ देखि ३ करोड रुपैयाँसम्म पर्छ ।
९. बागलुङ बजार, बागलुङ

गण्डकी प्रदेशमा पर्ने बागलुङ जिल्लाको सदरमुकाम हो बागलुङ बजार । यो पनि कालिगण्डकी नदीको किनारमा अवस्थित छ । यहाँ १ रोपनी जग्गाको सरकारी मूल्याङ्कन नै पौने २ करोड रुपैयाँ भन्दा बढी छ । अर्थात चालू आर्थिक वर्ष २०७९/८० का लागि मालपोत कार्यालयले तोकेको न्यूनतम मूल्याङ्कनमा प्रतिरोपनी १ करोड ८३ लाख रुपैयाँसम्म मूल्य तोकिएको छ । चलनचल्तीमा यहाँ २ देखि ५ करोड रुपैयाँसम्ममा किनबेच हुने गरेको छ ।
१०. बेनी, म्याग्दी

यो बजार पनि कालिगण्डकी नदीकै किनारमा अवस्थित छ । यहाँ १ रोपनी जग्गाको न्यूनतम मूल्याङ्कन १ करोड ५८ लाख रुपैयाँ छ । चलनचल्तीमा भने यहाँ प्रतिरोपनी २ देखि ५ करोड रुपैयाँसम्मा कारोबार भइरहेको पाइन्छ ।