News

शहर रुपान्तरणमा युवा सहभागितालाई जोड

By BabinaOctober 8, 20242 min read
शहर रुपान्तरणमा युवा सहभागितालाई जोड

काठमाडौं । कर्मशील युवा: समुन्नत शहर’ नाराका साथ विश्व बसोबास दिवस—२०८१ मनाइएको छ । दिवसको अवसरमा शहरी विकास मन्त्रालयसँग समन्वयमा शहरी विकास तथा भवन निर्माण विभाग, युएन-ह्याबिट्याट, नेपाल राष्ट्रिय शहरी मञ्चसँगै यस क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले कार्यशाला गोष्ठी र राष्ट्रिय शहरी मञ्चको आयोजना गरेका छन् ।

कार्यक्रमको औपचारिक उद्‌घाटन चन्द्रागिरि नगरपालिकाको स्वैच्छिक स्थानीय समीक्षा (VLR) प्रतिवेदनको विमोचनसँगै गरिएको थियो । यो प्रतिवेदनले स्थानीय तहमा दिगो विकासका लक्ष्यहरू (SDGs) प्राप्त गर्न गर्नुपर्ने क्रियाकलापहरूको महत्त्वलाई उजागर गरेको छ। 

चन्द्रागिरि नगरपालिकाको स्वैच्छिक स्थानीय समीक्षा (VLR) प्रतिवेदनको विमोचन

कार्यक्रमका सहभागीहरूले नेपालमा दिगो शहरीकरणका लागि युवाहरूलाई शहरी विकासका काममा समावेश गर्नु पर्नेमा जोड दिएका छन् । 

कार्यक्रममा सहभागीहरू

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवाहरूलाई शहरी योजनामा सक्रिय रूपमा संलग्न गराउनुपर्नेमा जोड दिएका छन् । सिंहले युवालाई उचित शिक्षा, रोजगारमूलक सीप, उचित रोजगारका अवसर उपलब्ध गराई उनीहरूको सिर्जनात्मक शक्तिलाई बृहत्तर राष्ट्रिय हितसँगै समग्र शहरी विकासमा पनि समाहित गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह

शहरी विकासमा युवाको संलग्नता बढाउन सरकारले पहल थाल्ने सिंहले प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, दिगो विकास एजेण्डा-२०३० का लक्ष्यहरू प्राप्त गर्न सरकारको प्रतिबद्धता रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशप्रसाद सिंहले वातावरणमैत्री शहरी पूर्वाधारको आवश्यकता रहेको बताएका छन् । शहरी विकास मन्त्रालयका सचिव मणिलाल गेलालले विदेशिने युवाहरूको संख्या बढेकाले, शहरी विकासमा युवा संलग्नता चुनौतीपूर्ण रहेको बताए ।

यस्तै, नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हान्ना सिंगर हाम्दीले शहरी विकासमा युवा वर्गको संलग्नतामा जोड दिएकी छिन् । नेपालका युवाहरूमा नवप्रवर्तन र शहरी विकासमा योगदान गर्ने क्षमता रहेको भन्दै उनले त्यसको सदुपयोग गर्नु पर्नेमा जोड दिइन् ।  उनले चन्द्रागिरि नगरपालिकाले जस्तै स्वैच्छिक स्थानीय समीक्षा प्रतिवेदन बनाएर सोही अनुसार दिगो विकासका लक्ष्य पुरा गर्ने कामको अनुसरण गर्न सबै स्थानीय सरकारसँग आग्रह गरेकी छिन् ।

संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हान्ना सिंगर हाम्दी

यसै क्रममा, युएन-ह्याबिट्याटका कार्यक्रम प्रबन्धक प्रज्ञा प्रधानले कार्यक्रमको निष्कर्ष प्रस्तुत गर्दै, नेपालका शहरहरूको भविष्य युवाहरूको नेतृत्वमा रहेको र शहरी विकासका लागि उनीहरूलाई उचित उपकरण र सहयोग आवश्यक रहेको बताइन् ।

घर तथा जग्गा किनबेच गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

Sustainable CitiesUrban DevelopmentWorld Habitat Day

You May Also Like

More stories from Basobaas