Market

सडकभन्दा तल परेको दुईतले घर उचालेर जग थपियो

Pinterest LinkedIn Tumblr

काठमाडौं । विराटनगर–११ स्थित उत्तर कोशी राजमार्गसँगै जोडिएको एक हजार ७५० वर्गफिटमा फैलिएको घर उचालेर जग थप्ने काम भएको छ । राजमार्ग निर्माणपछि घरको बेस सडकभन्दा तल परेर समस्या आएपछि आधुनिक प्रविधिको प्रयोग गरी चारैतर्फबाट घरलाई उचालेर जगको भाग थप्ने काम भएको हो ।

भारत विहार, सहरसा जिल्लास्थित एलबिएल हाउस लिफ्टिङ कन्स्ट्रक्सनको टोलीले आरसीसी गरी बनेको दुईतले भवन करिब चार फिट उचालेको हो । ‘फ्रेम स्ट्रक्चर’ भएको घरको ‘बेसबिम’ बाट उचालेर जग थप्ने काम भइरहेको छ । हाल उचालिएको घर चारैतर्फबाट फलामको जगमा अडाइएको छ । यसरी उचालिएको घरको बेसमा मानिस नै भित्र छिरेर काम गरिरहेका छन् ।  

यसरी काम गर्दा प्रतिवर्गफिट छ सय रुपैयाँ खर्च लाग्छ तर यसमा घरको क्षेत्रफल तथा तलाको आधारमा दररेट कायम हुन्छ । फ्रेम स्ट्रक्चर (पिल्लर) घरको एक तला भए चार सय, दुई तला भए छ सय, तेस्रो तलाको आठ सय रुपियाँसम्म खर्च लाग्ने जनाइएको छ । यसमा आवश्यक पर्ने निर्माण सामग्री घरधनी आफैँले उपलब्ध गराउनुपर्ने हुन्छ । 

घरको जगदेखि बेसबिम बीचमा नयाँ संरचना निर्माण गरेर पिल्लरमा जडान गरिन्छ । त्यसका लागि सबै संरचना बेसबिमभन्दा तल निर्माण गर्नुपर्ने कन्स्ट्रक्सन कम्पनीले जनाएको छ । 

निर्माण कम्पनीका हनुसार एक हजार ७५० स्क्वायर फिटको दुईतले घर उठाउनका लागि दुई महिना लाग्छ । विराटनगरमा डेढ महिनादेखि यो घरमा काम भइरहेको छ । अब १५ दिनमा घरको संरचना पूर्ण रूपमा बस्नयोग्य हुन्छ । 

फ्रेम स्ट्रक्चर मात्रै नभई लोड बेरिङ (पर्खाल) घरसमेत उचाल्न मिल्ने दाबी छ । त्यसको दर पिल्लरको भन्दा कम छ । एक तला मात्रैको घर प्रतिवर्गफिट तीन सय रुपियाँ लाग्ने निर्माण कम्पनीले जनाएको छ । नेपालमा यसरी घर उचाल्ने काम चार वर्ष अघिबाट सुरु भइसकेको छ । 

विराटनगर महानगरपालिकाकाभित्र यसअघी ५ वटा घर लिफ्टिङ भइसकेको छ । भारतमा भने घर ‘लिफ्ट’ र ‘सिफ्ट’ दुवै हुने गरेको बताइन्छ तर भूकम्पीय जोखिम भएको देशमा घरको लिफ्ट वा सिफ्ट गर्ने काम जोखिमपूर्ण हुन सक्ने कतिपय इन्जिनियर बताउँछन् । लिफ्टिङ गर्दा सेस्मिक लोड (परकम्प) धान्ने क्षमता ह्रास हुने हुँदा जोखिमको प्रबल सम्भावना हुने इन्जिनियरहरूको भनाइ छ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It