काठमाडौं । जुम्लामा अव्यवस्थित घर निर्माणले खेतीयोग्य जमिन मासिन थालेको छ । जनसंख्या वृद्धिका कारण घरहरू निर्माण हुने क्रम बढेसँगै जुम्लाका आठै स्थानीय तहका सबैजसो क्षेत्रको खेतीयोग्य जमिन मासिँदै गएको हो ।
५\६ वर्षको अवधिमा यस क्षेत्रमा सयौँको सङ्ख्यामा घरहरू बनेका छन् जसले गर्दा क्रमिक रुपमा खेतीयोग्य जमिन घट्दै गएको छ ।
जुम्ला सदरमुकामको पूर्व राजसिमदेखि पश्चिम कारागारसम्मका धान, जौ, गहुँ फल्ने अधिकांश जग्गामा भवन निर्माण भएका छन् ।
सङ्घीयता कार्यान्वयनपछि चन्दननाथ नगरपालिकाको वडा नं. ५ र ६ को मार्सी फाँटमा ह्वात्तै कंक्रिट संरचना निर्माण बढेका छन् ।
खेतीयोग्य जमिनमा कंक्रिट संरचनाले भरिन थालेपछि ५ वर्षपहिले नै चन्दननाथ नगरपालिकाले घर निर्माण तथा खरिद बिक्री गर्न नपाइने मापदण्ड बनाएको थियो । यद्यपि मापदण्ड कार्यान्वयन हुन नसक्दा जग्गाको खरिद बिक्री रोकिएको छैन ।
चन्दननाथ नगरपालिका क्षेत्रको राजसिम ज्यूलो, छिना ज्यूलो, छिना साघु ज्यालोका खेतीयोग्य जमिनको खरिद बिक्री गरि धमाधम घर निर्माण भइरहेका छन् । यही गतिमा कंक्रिट संरचना निर्माण हुँदै जाने हो भने केही वर्षमै जुम्ला सदरमुकाममा मार्सीफाँट अस्तित्व नै बिलाएर जान बेर नलाग्ला ।
जग्गाको खरिद बिक्रीलाई व्यवस्थित बनाउन गम्भीरता नदेखाउँदा परेको असर भविष्यमा भोग्नु नपरोस भनेर नगरपालिकाले खेतीयोग्य जमिन संरक्षणको गुरुयोजना बनाउन थालिएको जनाएको छ ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।