काठमाडौं । काठमाडौं विश्वविद्यालय ‘केयू’ परिसरमा सुरुङमार्ग निर्माणको काम सुरु भएको छ । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि अध्ययन, अनुसन्धान प्रयोजन तथा सङ्ग्रहालयका रूपमा विकसित गर्ने उद्देश्यले सुरुङमार्ग निर्माण गर्न लागिएको हो ।
करिब पाँच करोड लागतमा निर्माण हुन लागेको सुरुङमार्गको लम्बाइ २४० मिटर हुनेछ । सुरुङमार्ग लगायतका संरचना निर्माण सुरु भएको सुरुङ मार्गको सय मिटरको दूरीमा २० मिटर लम्बाइ र ६ मिटर चौडाइको एउटा सभा हल निर्माण गरिने जनाइएको छ ।
सय मिटरको दूरीसम्म गाडी लैजान मिल्ने मार्ग र सय मिटरमा सभा हल तथा अर्को १२० मिटर दूरीमा भने मान्छे मात्रै जान मिल्ने सुरुङ निर्माण गर्ने गरिने छ । सुरुङको प्रवेशद्वारतर्फ हालसम्म १० मिटर सुरुङ मार्ग निर्माण भएको र आउटलेट स्थानतर्फ फेब्रुअरी महिनासम्म १० मिटर सुरुङ निर्माण हुने अपेक्षा गरिएको छ ।
केयूले सन् २०१४ देखि नेपालमै पहिलोपटक स्नातक तहमा सुरुङ मार्गसम्बन्धी अध्यापन गराइरहेको छ । विश्वविद्यालयमा सुरुङमार्ग सम्बन्धित अध्ययन गर्ने विद्यार्थीले नेपालमा निर्माण भइरहेका सुरुङ मार्गमा काम गर्दै आएका छन् ।