काठमाडौं । पाल्पाको तानसेन स्थित टुँडिखेल मैदानको स्तरोन्नति कार्य सम्पन्न भएको छ । टुँडिखेल सुधार योजनाअन्तर्गत विगत चारवर्षदेखि मैदानको स्तरोन्नतिका लागि मैदान सम्याउने, दुबो लगाउने कार्य भइरहेको थियो ।
नगरपालिका कार्यालय प्राङ्गणमा रहेको टुँडिखेल स्तरोन्नति कार्य सम्पन्न भएपछि निर्माण व्यवसायी नगरपालिकालाई मैदान हस्तान्तरण गर्ने प्रक्रियामा रहेको छ ।
फुटबल, भलिबल, क्रिकेट तथा अन्य खेल खेल्न तथा प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्न सकिने गरी टुँडिखेल मैदानको निर्माण कार्य सकिएको नगरपालिकाकाले जनाएको छ ।
नगरपालिकाले आव ०७६/७७ देखि टुँडिखेल मैदान सुधार योजनाअन्तर्गत खेल मैदान सुधारको काम गरिरहेको छ । निर्माण व्यवसायीका लापरबाहीले खेल मैदान निर्माण कार्यमा ढिला गरी सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
टुँडिखेलमा घुम्न आएका नागरिकलाई समेत विश्राम गर्न सहज हुनेगरि मैदानको छेउमा ज्येष्ठ नागरिक पार्क र बाल बगैँचासमेत बनाइरहेको छ ।
टुँडिखेलको दक्षिण भेगमा सार्वजनिक सभा समारोहका लागि छुट्टै मञ्चसहितको मैदानसमेत बनिसकेको छ । टुँडिखेलभित्र पशु चौपाया छिर्न नसक्ने गरी बारबन्देजसमेत गरिएको छ । मैदानको संरचनाले नगरपालिका कार्यालयलाई थप आकर्षक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तानसेन नगरपालिकाको ३ करोड ८२ लाख ९४ हजार रुपियाँको लागतमा मैदान सुधार गर्ने कार्य सुरु भएको थियो । मैदान निर्माणको काम छ महिनाअघि नै सकिए पनि नगरपालिकालाई हस्तान्तरण गरिएको थिएन ।
मैदानको स्तरोन्नतिको काम सकिएसँगै फुटबल, भलिबल, क्रिकेटलगायतका खेल गतिविधिले निरन्तरता पाउने अपेक्षा गरिएको छ ।
टुँडिखेल स्तरोन्नतिमा ढिलाईका कारण लामो समयसम्म निराश खेलाडी तथा खेल सम्बद्ध सङ्घसंस्था मैदान बनेपछि खेलका गतिविधि बढ्नेमा विश्वस्त छन् ।
हाल तानसेनमा उपयुक्त खेल मैदान नहुँदा खेलका गतिविधि माडी फाँटमा रहेको दमकडा र सराई खेल मैदानमा हुँदै आएको छ ।
केही महिनाअघि भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितासमेत सराई खेलमैदानमा भएको थियो । मैदान बनेपछि भने खेलका गतिविधि सदरमुकाममै सञ्चालन गर्न सहज हुने खेलाडीहरू बताउँछन् ।