News

द लाइनः खर्बौंको लगानीमा अत्याधुनिक शहर बनाउँदै साउदी अरब, 

Pinterest LinkedIn Tumblr

सुन्नुहोस्:

 

काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य अस्वभाविक रुपमा अकासिएको छ । यसका विविध कारण मध्ये पेट्रोलको अधिकतम प्रयोगले खानी रित्तिँदै जानु एक हो । स्ट्यामफोर्ड विश्वविद्यालयको एक अध्ययन अनुसार, विगत १ सय ५० वर्षदेखि प्रयोग हुँदै आएको पेट्रोलियम पदार्थका खानी लगभग रित्तो हुने अवस्थामा छन् ।

पर्यावरणमैत्री जीवनशैली अपनाउँदै पछिल्लो समय विद्युतीय मेसिन तथा सामग्रीहरूको प्रयोग बढ्दो छ । यसो हुँदा पेट्रोलयम पदार्थले नै देशको अर्थतन्त्र धान्ने अवस्थामा रहेका खाडी मुलुकका लागि भने गम्भिर चुनौति खडा भएको छ । अहिले विश्व नै पेट्रोलियम पदार्थको प्रयोग कटौती गर्न लागिपरेको छ । यसो हुँदा पेट्रोलियम पदार्थले सिंगो अर्थतन्त्र धानिरहेको साउदी अरब पनि चिन्तित छ । 

एक अत्याधुनिक शहर- निओमः द लाइन सिटी, साउदी अरबः 

the line city

पेट्रोलियम पदार्थमा आधारित अर्थतन्त्रमा निम्त्याएको खतराको सामना गर्न साउदी अरेबियाले विकल्पको खोजी थालेको छ । यसैक्रममा, पछिल्लो समय साउदी अरेबियाले पश्चिमा पर्यटनलाई पनि प्रवर्द्धन गरिरहेको छ । जसको एक अर्को कदम हो ‘द लाइन सिटी’ । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले साउदीलाई पेट्रोलियम पदार्थमा परनिर्भर हुनबाट जोगाउन ऐतिहासिक परियोजना ल्याएका छन् । जुन परियोजनाको नाम हो- ‘द लाइन’। योजनाअनुरूप सम्पूर्ण काम अघि बढेमा सन्  २०३० सम्ममा साउदीलाई तेलमा निर्भर बनाउने लक्ष्य रहेको छ । यो शहर आधुनिक शहरका लागि परिचित दुबई भन्दा पनि झनै आधुनिक शहर हुने भनिएको छ । 

सामान्यतया शहरको आकार ठूलो भूभागमा फैलिएको पाइन्छ । तर यो शहर नाम जस्तै एउटा सिधा लाइनमा तयार हुनेछ । जसको लम्बाइ १ सय ७० किलोमिटर हुनेछ । निओम/नियोम (NEOM) नामाकरण गरिएको यस शहरले साउदीको अर्थव्यवस्थामा विविधता ल्याउने अपेक्षा गरिएको छ । पूर्ण स्वचालित प्रविधिमा आधारित NEOM र ‘द लाइन’ सहरले विश्वभरका पर्यटकलाई आकर्षित गर्नेछ ।

निओमः द लाइन शहरको विशेषताः 

गत जुलाई २९ मा क्राउन प्रिन्स मोहम्मद बिन सलमानले यस महत्वकांक्षी परियोजनाको डिजाइन विश्वसामु प्रस्तुत गरे । साउदी अरबमा निर्माण भइरहेको यो अल्ट्रा आधुनिक शहर पहाडी मरभूमिबीच हरियाली र प्राकृतिक सौन्दर्यले भरिभराउ हुनेछ । शहरलाई अत्याधुनिक सुविधाको परिकल्पना गरिएको छ । 

निओम द लाइन सिटी नामक यो परियोजना अन्तर्गतको शहर सम्पूर्ण रुपमा सीधा रेखामा निर्माण हुनेछ । आवतजावतका लागि शहरको एक छेउलाई अर्को छेउ जोड्न उच्च गतिका रेलहरू चल्नेछन् । यो सहर पूर्ण रूपमा नवीकरणीय ऊर्जामा चल्नेछ र शून्य कार्बन उत्सर्जन भएको शहर हुनेछ ।

Neom project

यो शहर तीन तहमा निर्माण गरिनेछ । जसमा ग्राउन्ड लेवल, सर्भिस् लेवल र स्पाइन लेवल समावेश हुन्छन् । ग्राउन्ड लेवल अर्थात् सबैभन्दा तल्लो तहको शहरमा हरियाली प्राकृतिक दृश्य मात्र हुनेछ । दोस्रो सर्भिस् लेवल अर्थात बीचको तह आवासिय प्रयोजनका लागि निर्माण गरिनेछ । साथै  विद्यालय, अस्पताल, महलजस्ता मानिसको दैनिकी सम्बन्धित सबै सुविधा यस तहमा उपलब्ध हुनेछन् । सबै आवश्यक चीजहरू ५ मिनेटको पैदल दूरीमा उपलब्ध गराइनेछ । यस तहमा चाहिँ यातायातका लागि सडक सुविधा पनि हुने भनिएको छ । यद्यपि बाँकी दुई तहमा सडको व्यवस्था नहुने बताइएको छ । तेस्रो स्पाइन लेवल सहरको मेरुदण्ड सावित हुनेछ । यहाँ ‘अल्ट्रा हाइ स्पिड ट्रान्पोर्ट सिस्टम’ (Ultra high speed transport system) बनाइनेछ । जसले १७० किलोमिटरको दूरी पार गर्न मात्र २० मिनेटको समय लाग्नेछ । 

सामान्य शहरको तुलनामा पृथक ढंगले परिकल्पना गरिएको निओममा  विद्युतीय प्रणालीको प्रयोग गरिनेछ । इलेक्ट्रिक सिस्टम, ट्रान्सपोर्ट सिस्टम नवीकरणीय ऊर्जा, मेगासिटी आर्टिफिसियल इन्टेलिजेन्सबाट चल्नेछ । योजना अनुसार यहाँ हावामा चल्ने ड्रोन ट्याक्सी चलाइनेछ । आश्चर्यको कुरा त यो छ कि, यस शहरमा ठूलो आकारको कृतिम चन्द्रमा समेत हुने परिकल्पना गरिएको छ ।

निओम शहर साउदी अरबको ताबुक प्रान्तमा बनिरहेको छ । जसले विश्वलाई अत्याधुनिक युगमा डोहोर्याइरहेको छ । यो सहरको उचाइ ५ सय मिटर र ९० लाख जनभार क्षमताको हुने भनिएको छ । दुई सय मिटर चौडाइको सिधा रेखामा निर्माण हुने यो सहरको बाहिरी पर्खाल ऐनाले बनाइने छ । शहरको एकापट्टि अकाबाको खाडी छ भने अर्कोतर्फ रेड सी निओमबाट ५ किलोमिटर टाढा इजिप्टको शहर छ । विश्वको ४० प्रतिशत जनसंख्या मात्र ४ देखि ६ घण्टामा ‘द लाइन’ शहर पुग्न सक्नेछन्  ।

यो शहर युरोपेली देश बेल्जियमको समान उचाइमा बसाइनेछ । ३० हजार ५२८ वर्ग किलोमिटरमा फैलिएको यो शहर न्यूयोर्क भन्दा ३३ गुणा ठूलो हुनेछ ।

पानी आपूर्तिका लागि नंया प्रविधिको प्रयोगः

हाल साउदी अरबमा समुद्रको पानीलाई शुद्धिकरण गरी प्रयोग गरिन्छ । जसको लागत उच्च भएकाले निओम जस्ता अल्ट्राटेक सहरलाई पानी दिन नयाँ प्रविधि अपनाउन थालिएको छ ।

खानेपानीको उचित व्यवस्थाका लागि सिसाका कृतिम पोखरी निर्माण गरिनेछ । जसमा समुद्रको पानी भरेर सोलार ऊर्जाको मद्दतले तताइनेछ । र यसको बाफलाई चिसो गरी पिउन योग्य पानी बनाइनेछ । यसरी दैनिक ५ करोड लिटर स्वच्छ पानी उत्पादन हुने विश्वास छ । यसो गर्दा तुलनात्मक रुपमा निर्माण लागत पनि कम हुनेछ । हालको प्रणालीमा एक हजार लिटर खानेपानी बनाउन १ डलर खर्च हुन्छ । यस विधिबाट पानी बनाउन ६२ प्रतिशत कम खर्च लाग्नेछ । अर्थात् ३८ सेन्टमा १ हजार लिटर खानेपानी तयार हुनेछ । 

शहर निर्माण सम्पन्नताको लक्ष्यः

२०१७ मा  घोषणा भएको यस परियोजनालाई सन् २०३० सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।  निर्माण थालनी भइसकेको यो शहरको अनुमानित लागत ५०० अर्ब डलर रहेको छ । प्रिन्स सलमानले साउदीलाई रिब्रान्ड गर्ने योजना बनाएका छन्, जसलाई उनले “भिजन २०३०”  नाम दिएका छन्  ।

उनका अनुसार सन् २०२४ मा निओम व्यापार क्षेत्र साउदीको शेयर बजारमा सूचीकृत हुनेछ । साउदी अरेबियाले निओम इन्भेस्टमेन्ट फण्डको नाममा ३०० अर्ब रियाल छुट्याएको छ । सन् २०३० सम्ममा सम्पन्न हुने निओमको पहिलो चरणमा १.२ ट्रिलियन अर्थात १२० खर्ब रियाल लाग्ने छ । यसको आधा खर्च साउदी सार्वभौम धन कोषले वहन गर्ने र बाँकी रकमका लागि विश्वलाई पनि निओममा लगानी गर्न आह्वान गरिएको छ ।  तर, विज्ञहरूले भने २०३० सम्ममा यस्तो अल्ट्रा हाईटेक शहर निर्माण गर्न नसकिने तर्क गर्दै आएका छन् ।

Neom projectअन्त्यमाः अत्याधूनिक सुविधाले भरिभराउ निओम शहरको परिकल्पना तपाईंलाई कस्तो लाग्यो ! के सन् २०३० सम्ममा यो शहर निर्माण होला त ? कृपया कमेन्ट बक्समा आफ्नो विचार राख्नुहोला ।

 

प्रतिक्रिया दिनुहोस्
Pin It