News

दिगो शहरी विकास सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु 

Pinterest LinkedIn Tumblr

काठमाडौं । स्थानीय योजना निर्माण मञ्च को पाँचौ अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । ‘एकीकृत र जलवायु अनुकूलन शहरी विकासका लागि स्थानीय योजना’ भन्ने नाराका साथ सुरु भएको दुई दिने सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका १३ देशका शहरी योजनाकार, उच्च पदस्थ कर्मचारी र सम्बन्धित विषय विज्ञहरूको सहभागिता रहनेछ ।  

सम्मेलनको उद्घाटन गर्दै शहरी विकास मन्त्री विक्रम पाण्डेले दुई दिनसम्म हुने सम्मेलनले नीति निर्माता र शहरी योजनाकारलाई प्रभावकारी एवं वैज्ञानिक शहर विकासको योजना निर्माणमा सघाउने विश्वास व्यक्त गरेका छन् ।  शहरको योजना बनाउँदा एकीकृत, दिगो र जलवायु अनुकूलताजस्ता विषयहरूलाई ध्यान दिन जरुरी रहेको पाण्डेले बताए ।  

सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका सचिव  केबल प्रसाद भण्डारीले पछिल्लो समय प्रविधि र ज्ञानको उपलब्धता पर्याप्त भएपनि मानिसका लागि बस्न उपयुक्त नयाँ शहर निर्माण गर्न नसकेको स्विकारेका छन् । भोलिका शहर वा सपनाको शहर भन्ने शहरी विकासका अवधारणा विश्वव्यापी बनेपनि मानिस बस्न योग्य शहर आजको आवश्यकता रहेको उनको भनाई छ । 

नेपालमा भूउपयोग  रणनीति तयार गरेर काम भइरहेको जानकारी दिँदै उनले एशिया प्रशान्त क्षेत्रका शहरी विज्ञहरूबाट थप सिकाई प्राप्त हुने अपेक्षा गरिएको छ । दिगो, उत्थानशील र समावेशी समाज एवं शहर र बस्ती निर्माणका लागि हातेमालो गर्ने उद्देश्यका साथ जापान सरकारले सन् २०१८ मा स्थानीय योजना निर्माण मञ्च गठन गरेको थियो । 

मञ्चमा एशिया प्रशान्त क्षेत्रका नेपाल, जापान, लाओस, भियतनाम, चीन, भारत, युगाण्डा, मोजाम्बिक, भुटान, श्रीलंका, मलेसियालगायतका १३ देश आवद्ध छन् । सम्मेलनमा विभिन्न देशका विज्ञहरूले १५ वटा प्रस्तुति मार्फत आफ्ना देशमा भएका शहरी विकास योजनाका अनुभव र सिकाईहरू प्रस्तुत गर्दैछन् । 

नेपाल सरकार, शहरी विकास मन्त्रालय, जापान सरकार, भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालय र युएन ह्याबिट्याट एशिया तथा प्रशान्त क्षेत्रीय कार्यालय, जापानको  संयुक्त आयोजनामा नेपालमा यो सम्मेलन नेपालमा पहिलोपटक आयोजना गरिएको हो ।  

प्रतिक्रिया दिनुहोस्
Pin It