News

सुरुङमार्गको डाइभर्सन निर्माण गर्न दैनिक आठ घण्टा सिद्धार्थ राजमार्ग बन्द हुने

Pinterest LinkedIn Tumblr

काठमाडौं । सिद्धबाबा सुरुङमार्गका लागि डाइभर्सन निर्माणका लागि १५ दिन सिद्धार्थ राजमार्ग बन्द गरिने भएको छ । तत्कालका लागि  राजमार्ग अन्तर्गतको पाल्पा-बुटवल सडकखण्ड दैनिक आठ घण्टा बन्द हुनेछ । फागुन १३ गते शनिबारदेखि दिउँसो र राति गरी दैनिक आठ घण्टा बन्द हुने राजमार्ग सुरक्षा समितिले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको समितिको बैठकले वैकल्पिक सडकको व्यवस्थापन गरेर बिहान ११ बजे देखि २ बजेसम्म राजमार्ग बन्द गरेर काम गर्न दिने निर्णय गरेको हो । त्यस्तै रातिको १० बजेदेखि ३ बजेसम्म सडक बन्द गरिने निर्णय भएको छ । 

आकस्मिक रुपमा यात्रा गर्नुपर्ने र साना र हलुका सवारी साधनका लागि वैकल्पिक रुट निश्चित गरिएको छ । यद्यपि दोभानदेखि नुवाकोट हुँदै बेलबास निस्कने सडकको स्तरोन्नति गरेर मात्र काम गर्न दिने निर्णय भएको जनाइएको छ । 

हालसम्म सुरुङमार्ग निर्माणको जिम्मेवारी प्राप्त निर्माण कम्पनीले सम्झौता अनुसार डीपीआरको काम सकेर सडक विभागलाई बुझाइसकेको छ । विभागले डिपिआर स्विकृत नगरेकाले हाल पूर्व तयारीको काम भइरहेको जनाएको छ । 

सुरुङमार्ग निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको छ । जसका लागि ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ । भने मुख्य सुरुङमार्ग एक हजार एक सय २६ मिटरको हुने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It