News

अंशियार तथा कम्पनीका साझेदारको जग्गा कब्जा गरि बेच्ने तरखरमा छत्र गिरी

Pinterest LinkedIn Tumblr

काठमाडौं । झापाको अर्जुनधारामा परिवारका अंशियार तथा कम्पनीका साझेदारको जग्गा कब्जा गरि बिक्री गर्न लागेको खुलेको छ । गिरीबन्धु टी इस्टेटका सञ्चालक छत्रबहादुर गिरीले झापास्थित चिया बगानको ५०० बिघा जग्गा बेच्न खोजेको खुलेको हो ।

टी इस्टेट प्रालिले  हदबन्दी छुट लिएको ५०० बिघा जग्गा मध्ये आफ्नो नाममा आउनुपर्ने १०२ बिघा जग्गा समेत नदिई बिक्री गर्न खोजेको गिरीबन्धुका साझेदार कृष्णकुमार गिरी र प्रेमकुमार गिरीको आरोप छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले २४ असार ०७८ मा ‘टी इस्टेट’लाई अन्यत्र स्थानान्तरण गर्न अनुमति दिने र इस्टेटको नाममा रहेको हदबन्दीभन्दा बढी जग्गा दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले सो निर्णय गर्नु अघि नै भूमिसम्बन्धी ऐनमा भएको कुनै उद्योग वा कम्पनीलाई राख्न छुट दिएको हदबन्दीभन्दा बढीको जग्गा अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने भन्ने व्यवस्था संशोधन भएको थियो ।

२०२० सालमा दर्ता भएको गिरीबन्धु टी इस्टेट कृष्णकुमार गिरी, प्रेमकुमार गिरी र त्रिलोचन गिरी संस्थापक शेयरधनीका रुपमा रहेका थिए ।

२०२१ सालमा भूमिसुधार ऐन आएपछि जग्गाको हदबन्दी लागु भयो । तराईंमा ११ बिघा, पहाडमा ७५ रोपनी र काठमाडौं उपत्यकामा ३० रोपनीभन्दा बढी जग्गा राख्न नपाइने व्यवस्था सो ऐनमा थियो । तर कृषि व्यवसाय र केही उद्योगहरूका लागि भने हदबन्दी छुटको व्यवस्था थियो ।

सो व्यवस्थाअनुरुप गिरीबन्धुले ११ पुस २०२९ मा ५ सय बिघा जग्गाको हदबन्दी छुट लिएको थियो । सो सम्बन्धी सूचना ११ पुस २०२९ सालमा सरकारले राजपत्रमा सूचना निकालेको थियो ।

गिरी दाजुभाइबीच २०४० सालमा अंशबन्डा हुने भयो । २० वर्षदेखि सञ्चालन गरिरहेको टी इस्टेटको शेयर र जग्गा पनि बाँडफाँट गर्ने सहमति भयो । सो कम्पनीमा त्यसबेला २ हजार फेस भ्यालु भएका ८५२ कित्ता शेयर थिए ।

२०४० साल कात्तिक १७ गते बसेको कम्पनीको विशेष साधारणसभाले कम्पनीका शेयरधनीमध्ये भगवान, छोराहरू कृष्णकुमार र प्रेमकुमारका नाममा रहेको २ सय २० कित्ता शेयरबापत २३ लाख ५१ हजार रुपैयाँ र राजमार्गको उत्तरपट्टिको १ सय २ रोपनी जग्गा दिने निर्णय भयो । त्यसमध्ये  १० लाख रुपैयाँ त्यतिबेलै पाएको र बाँकी १३ लाख ५१ हजार रुपैयाँ र १ सय २ विघा जग्गा हालसम्म पनि नपाएको उनिहरूको दाबी छ ।

छत्र गिरीलगायतका सञ्चालकले पिडितले पाउनुपर्ने जग्गा ४० वर्षसम्म पनि दिएका छैनन् । उल्टै विगतमा ९७ कित्ता रहेको जग्गा घटाएर ८ कित्तामा झारेको र आफ्नो अनुमतिबिनै बेच्न खोजेको भन्दै कृष्णकुमार र प्रेमकुमारले झापा जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

२०४० सालमा भएको निर्णयअनुसार सो जग्गा पास गरी कृष्णकुमार गिरी तथा प्रेमकुमार गिरीको नामको कम्पनीमा नामसारी गरिदिन तयार रहेको गिरीबन्धुका सञ्चालकहरू छत्र गिरीलगायतले झापा जिल्ला अदालतमा पेश गरेको प्रतिउत्तरपत्रमा उल्लेख छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It