Tourism

किन सुनसान छ १०५ तल्ले होटल, यस्ता छन् कोही नजानुका कारण

Pinterest LinkedIn Tumblr

सुन्नुहोस्: 

 

काठमाडौं । विश्वमा गगनचुम्बी भवन निर्माणको होड नै चलेको छ । केही यस्ता संरचना पनि बनेका छन्, जसको छतबाट हेर्ने हो भने बादल पनि तल देखिन्छ । यद्यपि दुनियाँको ध्यान आफूतिर खिचिरहेका कतिपय संरचनाहरू खण्डहर बन्दै गएका छन् । आज हामी त्यस्तै एउटा अनौठो संरचनाका विषयमा चर्चा गर्दैछौ ।

उत्तर कोरिया आफ्नो पृथक कानुन र मिसाइल परीक्षणका कारण प्रसिद्ध छ । कोरियामा आश्चर्यका थुप्रै मिसाइल मध्येको एक पिरामिड आकारको गगनचुम्बी भवन पनि छ । हुन त यो एउटा होटेल हो । आधिकारिक नाम रयुग्योङ भएपनि यसलाई यु-क्युङ समेत भन्ने गरिन्छ ।

उत्तर कोरियाको राजधानी प्योङयोङमा रहेको यो होटेल एक हजार ८० फिट अग्लो छ । शहरका औसत अग्ला संरचनाको तुलनामा दश गुणा अग्लो यस होटलमा जम्मा १०५ तला  छन् । ४९ लाख वर्ग फिट क्षेत्रफलमा बनेको यस होटलमा ३ हजार कोठा छन् । यसको उचाइ पेरिसको आइफिल टावर भन्दा पनि अग्लो रहेको अनुमान छ ।

बाहिरबाट निकै विलासी र भव्य देखिने यो होटेल भित्र भने वर्षौंबाट सुनसान छ । आश्चर्य कुरा त यो छ कि आजसम्म यस होटलमा कोही पनि ग्राहक बस्न आएका छैनन् । विगत ३० वर्ष देखि बिरानो बनेर शहरको बीच भागमा ठडिएको छ । अत्याधुनिक र अनेकौं सुविधा रहेको यस होटेलमा दुवैको वुर्ज खलिफामा जस्तै रातको समयमा ढोकामा लाइट सो र फायर सो हुने गर्दछ । जहाँबाट शहर भरी रङ्गिन प्रकाश छरिन्छन् । 

उत्तर कोरियाले आफूलाई प्रजातान्त्रिक देश त भन्दछ । तर यो विश्वको यस्तो देश हो जसलाई सन् १९४८ देखि एउटै परिवारका सदस्यले चलाइरहेका छन् । किम परिवारका तिन पुस्ताले ७४ वर्ष देखी जबर्जस्ती शासन गरिरहेका छन् । यो त्यस्तो देश हो जहाँ हरेक वर्ष निर्वाचन त हुन्छ तर उम्मेद्वार एकजना रहने र किम परिवारले नै चयन गर्दछ ।  

कडा कानुन हुँदा उत्तर कोरियाले आफू विरुद्ध धेरै देशलाई शत्रु बनाइसकेको छ । कुनै देशसँग व्यापारिक सम्बन्ध नभएको यस देशमा पर्यटक पनि आउन मन पराउँदैनन् । यहाँ वर्षमा करिब ३ लाख पर्यटकहरू आउने गर्दछन् जबकी छिमेकी देश दक्षिण कोरियामा वार्षिक १ करोड ७५ लाख पर्यटक आउने गर्दछन् । 

सन् १९८६ मा अमेरिका र सोभियत संघबीच शीतयुद्ध चलिरहेको थियो । यस बेला उत्तर कोरिया सोभियत संघको पक्षमा थियो भने भने छिमेकी देश दक्षिण कोरिया अमेरिकाको पक्षमा रहेको थियो । शीतयुद्ध भएकाले यसमा हातहतियारको सट्टा आफ्नो शक्ति प्रदर्शन गरेर जित्नुपर्ने थियो । सन् १९८६ मा दक्षिण कोरियाली कम्पनीले सिंगापुरमा संसारको सबैभन्दा अग्लो होटेल निर्माण गरेको थियो । जुन अहिले स्ट्यामफोर्ड होटलका नामले चिनिन्छ ।

यसका साथै दक्षिण कोरियामा सन् १९८८ को ओलम्पिक खेल आयोजना गर्ने तयारी पनि तीव्र रूपमा भइरहेको थियो ।  विश्वको सबैभन्दा अग्लो होटेल निर्माण गरेको र ओलम्पिक खेल आयोजना गर्न लागेका कारण दक्षिण कोरियाको नाम अग्रपङ्तिमा थियो । 

यो कुरा उत्तर कोरियाका लागि सह्य भएन र आवेगमा आएर आफुले पनि एउटा भव्य महोत्सव आयोजना गर्ने निर्णय गर्यो । वास्तवमा यो दक्षिण कोरियामा आयोजना हुन लागेको ओलम्पिकको नक्कली स्वरूप थियो । सो महोत्सव सन् १९८९ मा गर्न लागिएको थियो ।

महोत्सवमा आउने २२ हजार सहभागीका लागि प्योङयोङको विमानस्थल मात्र विस्तार गरिएन डेढ लाख दर्शक अटाउने रङ्गशाला र ३ हजार कोठा भएको होटेल निर्माण गर्ने निर्णय पनि गरियो । 

यसका साथै होटेल १०५ तल्लामा निर्माण हुने निर्णय गरियो । जसले तत्कालिन समयमा सिंगापुरको विश्वको सबैभन्दा अग्लो भनिएको होटलको रेकर्ड तोड्दै थियो । त्यसबेला संसारमा १ सय भन्दा बढि तल्ला भएका २१ ओटा मात्र भवन थिए । त्यसमा रयुग्योङ होटलको नाम सबैभन्दा माथि थियो । 

उत्तर कोरियाको यो निर्णय अतिकाल्पनिक लाग्ने किसिमको थियो । किनकी भवन निर्माण गर्न आवश्यक पर्ने फलाम  उत्तर कोरियासगँ थिएन । यसो हुँदा उत्तर कोरियाले भवन निर्माणमा कंक्रिटको प्रयोग गर्ने निर्णय गर्यो । 

कंक्रिटले मात्र निर्माण गर्न लागिएको हुनाले यो भवनलाई कोन अर्थात् सोली आकारकार दिइयो । प्रत्येक साइडलाई ७५ डिग्रीमा झुकाइयो । यो होटलको टपमा रिभल्व रेस्टुरा र संसारको सबैभन्दा अग्लो भ्यूटावर बनाइने भनिएको थियो । लक्ष्य अनुसार आधुनिक सुविधा उपलब्ध गराउन सकेको भए होटलले दक्षिण कोरियालाई मात्र नभइ विश्वमा नै किर्तिमान कायम गर्ने थियो ।  सन् १९८७ मा उत्तर कोरियामा विश्वमहोत्सव भयो तब ३ हजार कोठा भएको भवन तयार हुने सङ्केत सम्म देखिएन । 

उत्तर कोरियाले प्राविधिक कारण देखाइ होटल उद्घाटनको नयाँ मिति सार्वजनिक गर्यो । सन् १९९२ मा सर्वोच्च नेता किम एन सनको ८० औ जन्मजयन्तिका दिन उद्घाटन गर्ने भनिएको थियो तर सन् १९९१ मा सोभियत संघ टुक्रियो । त्यसपछि उत्तर कोरियाको अर्थतन्त्र ओरालो लाग्यो । भने सहयोगका लागि कुनै देश तयार थिएन । अन्ततः सन् १९९२ मा होटलको निर्माण कार्य रोकियो ।

१६ वर्षदेखि अधुरो रहेको यस संरचनामा झ्याल ढोका र रंगरोगनको काम गरिएको थिएन । यसले राजधानिको शोभा विगारेको भन्दै संरचना भत्काउने निर्णय पनि गरियो । तर संसारभरी उत्तर कोरियासँग एउटा भवन बनाउने क्षमता रहेनछ भन्ने सन्देश फैलने डरले निर्णय कार्यन्वयन गरिएन । 

पुन: सन् २००८ मा इजिप्सियन कन्ट्रक्सन कम्पनीसँग होटल पुरा गर्ने र सञ्चालनमा ल्याउने सम्झौता भयो । होटलको उद्घाटन सवोच्च नेता सनको सय औं जन्मजयन्तीको अवसर पारी सन् २०१२ लाई घोषणा गरियो । त्यतिबेला सम्म नेता सनको निधन भइसकेको थियो ।

कन्ट्रक्सन कम्पनीले राजधानीको सुन्दरता नविगारोस् भनेर होटलमा आकर्षक विन्डो प्यानल लगायो तर जब होटलको आन्तरिक सजावटको कुरा आयो फेरी समस्या देखियो । सन् २०११ मा किम जोङले उत्तर कोरियाको सत्ता सम्हाले । तब अमेरिकाले लग्जरी सामग्री आयातमा प्रतिबन्ध लगायो । उद्घाटनको मिति आइपुग्दा पनि होटल भित्र पस्न लायकको समेत भएको थिएन । अन्ततः उत्तर कोरिया आफ्नो मिशनमा असफल भयो । आवेशमा होटल बनाउने घोषणा गर्नु उत्तर कोरियाका लागि घातक सावित हुन पुग्यो । 

जापानी मिडियाका अनुसार उत्तर कोरियाले यसको निर्माणमा कुल ७५ करोड डलर अर्थात करिब ५५ अर्ब रुपैयाँ खर्च गरेको छ । यो रकम त्यतिबेला उत्तर कोरियाको कुल ग्राहस्थ उत्पादनको दुई प्रतिशत थियो । निर्माणको पहिलो चरणमा भने करिब ११ अर्ब रुपैयाँ खर्च भएको थियो । 

अहिले यो होटल ‘पृथ्वीको सबैभन्दा अग्लो सुनसान भवन’ भनेर चिनिन्छ । यसको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पनि लेखिएको छ ।

लक्ष्य अनुसार निर्माण सम्पन्न भएको भए यो होटल संसारका पाँचतारे होटल भन्दा कम देखिदैन थियो । पूर्णतया समयमै बनाइएको भए यो संसारको सातौं अग्लो भवन र सबैभन्दा अग्लो होटलको रूपमा चिनिन्थ्यो ।

विश्वकै अग्लो होटलको रुपमा निर्माण भएको संरचनाको छुट्टै पहिचान बनेको छ । अहिले पनि यो होटलको बाहिरी भागमा लाइट सोज र फायर सोज हुने गर्दछ तर भित्रबाट भने खण्डहरको रूपमा नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It