काठमाडौं । पाल्पा जिल्लाको कालीगण्डकी नदीबाट अवैध रूपमा नदीजन्य पदार्थ चोरी निकासी बढ्न थालेको छ । चोरी निकासीमा जनप्रतिनिधि, निर्माण व्यवसायी र समाजका कतिपय अगुवाकै मिलेमतो रहेको पाइएको छ ।
नदीजन्य पदार्थ चोरी हुने क्षेत्रमा तानसेन नगरपालिकाको अर्गली, बौघागुम्हा, बगनासकालीको खानीछाप, यम्घा, रम्भाको हुँगीका साथै रामपुर नगरपालिकाभित्र पर्ने गेझा, रामपुर, दर्छालगायत दर्जनभन्दा बढी घाट रहेका छन् ।
सर्वोच्च अदालतले नदिको प्रारम्भिक वातावरणीय परीक्षण नगरी नदीजन्य पदार्थ निकाल्न रोक लगाएको छ । यद्यपि चोरी निकासी गरेर डम्पिङ गरि राखेको र कतिपय निर्माण कार्य भइरहेको स्थानमा प्रयोग गर्ने गरेको स्थानीयको गुनासो छ ।
कतिपय स्थानमा नदीजन्य पदार्थ सहित ट्याक्टर, टिपर प्रहरीले बरामद गरेको जनाइएको छ ।
गाउँपालिका पदाधिकारीको स्थलगत क्रममा नदीजन्य पदार्थ चोरी निकासी भएको र विभिन्न स्थानमा डम्प गरेर राखेको भेटिएको जनाइएको छ ।
बगनासकाली गाउँपालिका-६, यम्घाका वडाध्यक्षले बोटेगाउँको मन्दिर बनाउनका लागि ४० ट्याक्टरको अनुमति दिएको स्वीकारेका छन् ।
त्यस्तै पिपलडाँडा–बाँकामलाङ क्षेत्रमा पनि कालीगण्डकी करिडोरका निर्माण व्यवसायीले अवैध रूपमा क्रसर राख्ने, एक्स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन गर्ने गरेका छन् ।
ठूला आयोजनाका निर्माण व्यवसायीले स्थानीय सरकारलाई आर्थिक प्रलोभनमा पारेर अवैध रूपमा नदी र खोलाबाट गिटी, बालुवा र ढुंगा झिक्ने गरेको स्थानीयको गुनासो छ ।
कालीगण्डकी कोरिडोरले जथाभावी एक्स्काभेटर प्रयोग गर्दा पनि सरोकारवाला निकाय मौन देखिन्छ ।