News

घरजग्गा कारोबार बढ्न थाल्यो, कार्तिकको तुलनामा मंसीरको कारोबार २३ प्रतिशतले धेरै

Pinterest LinkedIn Tumblr

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को मंसिर महिनामा घरजग्गा कारोबारमा वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार मंसिर महिनाको घरजग्गा कारोबार कार्तिकको तुलनामा २३.३३ प्रतिशतले बढेको पाइएको छ ।

मंसीर महिनाको तथ्यांकले काठमाडौं उपत्यकामा मात्रै १ हजार ९ सय ८ संख्यामा घरजग्गा कारोबार भएको देखाएको छ । जबकि कार्तिक महिनामा १ हजार ५ सय ४७ घरजग्गा कारोबार भएको थियो । त्यसैगरी मंसिर महिनामा जग्गाको कित्ताकाट पनि दोब्बरले वृद्धि भएको छ । मंसिरमा ६ सय १६ जग्गा कित्ताकाट भएको छ भने कार्तिक महिनामा ३ सय ८७ मात्रै जग्गा कित्ताकाट भएको थियो । 

पछिल्लो समय कारोबार संख्या बढेसँगै राजस्व संकलनमा पनि वृद्धि आएको छ । केही समय यता घरजग्गा कारोबारमा मन्दी आइरहेको थियो । नयाँ भू-उपयोग नियमावली लागू भएपछि स्थानीय भू-उपयोग परिषदबाट भइरहेको जग्गा वर्गीकरणले पनि जग्गाको कारोबारमा कमी आएको थियो । 

अहिले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा स्थानीय तहले जग्गा वर्गीकरणको काम भइरहेको छ । 

पछिल्लो समय धेरै स्थानीय तहले जग्गा वर्गीकरणको कामलाई चुस्त बनाएका छन् । यसैले पनि घरजग्गाको कारोबार बढेको हुनसक्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागको अनुमान छ । 

सरकारले स्थानीय तहलाई मंसिर २३ गतेसम्ममा जग्गाको वर्गीकरणको काम सक्न निर्देशन दिएको थियो । सो निर्देशनअनुरुप हालसम्म ९० वटा पालिकाले जग्गाको वर्गीकरण सम्पन्न गरेको विभागले जनाएको छ ।

हालसम्म ९० पालिकाले कृषि र गैह्र कृषि छुट्याइसकेको छ । भने मन्त्रालयले अन्य पालिकालाई पनि जग्गाको वर्गीकरण छुट्याउन पत्राचार तथा सहजिकरण गरिहेको छ ।

काठमाडौंमा ६ वटा मालपोत कार्यालय छन्ः कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु । यी कार्यालयलाई भौगोलिक आधारमा निश्चित ठाउँहरू तोकिएको छ । ती ठाउँका जग्गासम्बन्धी सबै काम तिनै कार्यालयले गर्छन् ।

अहिले काठमाडौंमा भएको कारोबारमध्ये सबैभन्दा बढी कलंकी मालपोत कार्यालयबाट भएको छ । कलंकी कार्यालयबाट मंसिर ५ सय ५३ संख्यामा घरजग्गा कारोबार भएको छ। यस कार्यालयको क्षेत्राधिकारभित्र काठमाडौं महानगरपालिकाको वडा नम्बर १३, १४ र १५, कीर्तिपुर, चन्द्रागिरी, दक्षिणकाली र नागार्जुन नगरपालिका पर्छन् ।

दोस्रो ठूलो कारोबार गर्नेमा साँखु मालपोत कार्यालयबाट मंसिरमा ४ सय २४ संख्यामा घरजग्गा कारोबार भएको छ । यसको कार्यक्षेत्र बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी र मनोहरा नगरपालिका हुन् ।

चाबहिल मालपोत कार्यालय मंसिरमा ३ सय ४९ संख्यामा घरजग्गा किनबेच भएको छ । यस कार्यालय अन्तरगत आलापोट, इन्द्रायणी, गागलफेदी, डाँछी, सुन्दरीजल लगायतका क्षेत्र  पर्दछन् ।

त्यस्तै, मनमैजु कार्यालयबाट मंसिरमा दुई सय ८१ संख्यामा घरजग्गा कारोबार भएको छ । काठमाडौं महानगरको वडा नम्बर ६, ७, १३, १४ र १५ बाहेकका सबै वडा हेर्ने डिल्लीबजार कार्यालयबाट मंसिरमा एक सय ४६ संख्यामा घरजग्गा किनबेच भएको छ । बुढानीलकण्ठ नगरपालिका वडा नं ६ र ७, टोखा नगरपालिका, तारेकश्वर नगरपालिका वडा नम्बर १ समेट्ने टोखा कार्यालयबाट कार्तिक महिनामा १ सय ५५ संख्यामा घरजग्गा किनबेच भएको छ ।  

प्रतिक्रिया दिनुहोस्
Pin It