Market

रियल स्टेट’लाई उद्योगको रुपमा विकास गर्नुपर्ने

Pinterest LinkedIn Tumblr

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘रियल स्टेट’ क्षेत्रलाई प्रतिष्ठित उद्योगका रूपमा विकास गर्न व्यवसायीको सक्रियता आवश्यक रहेको बताएका छन् । नेपाल जग्गा तथा आवास विकास महासङ्घको तेस्रो स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा अधिकारीले रियल स्टेट क्षेत्रसम्बन्धी भ्रम चिर्ने जिम्मेवारी व्यवसायीकै भएको बताएका हुन् ।

“विश्वका कतिपय मुलुकमा रियल स्टेटलाई प्रतिष्ठित उद्योगका रुपमा अघि बढाइएका छन्, तर हाम्रो देशमा यस क्षेत्रले राम्रो सन्देश दिन सकिरहेको छैन”, मन्त्री अधिकारीले भने । “नेपालमा नाफाका लागि मात्रै घरजग्गा व्यवसाय गरेका छन् भन्ने भ्रम चिर्न आवश्यक छ ।” मुलुकको प्रचलित कानुनअनुसार व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै अधिकारीले त्यसखालको भ्रम चिर्न नसकेसम्म व्यवसाय विस्तार नहुने बताए ।

निजी क्षेत्रलाई सहजीकरण गर्न सरकारले नीतिगत, कानुनी तथा प्रक्रियागत सुधार गरिरहेको अधिकारीले जनाएका छन् । उनले छ दशक पूराना नापी र भूमिसम्बन्धी ऐन परिमार्जनको तयारी भइरहेको स्पष्ट गरे । “भूमीसम्बन्धी ऐनको मस्यौदा तयार गर्न मन्त्रालय समिति बनाएर काम गरिरहेको छ, विज्ञ र सरोकारवालासँगको छलफलबाट यसलाई टुङ्ग्याइन्छ, नापी ऐन तयार भइसकेको छ’, उनले भने ।

महासङ्घका संस्थापक एवं सल्लाहकार बुद्धिनारायण श्रेष्ठले मुलुकको अर्थतन्त्रमा घरजग्गा व्यवसायको ठूलो योगदान रहेको उल्लेख गरेका छन् । सो क्षेत्रमा देखिएका समस्या सम्बन्धित व्यवसायीसँग छलफल गरेर अन्त्य गरिनुपर्ने उनको भनाइ छ । “चालु आवको नौ महिनामा घरजग्गा व्यवसायबाट रु ३३ अर्ब राजस्व सङ्कलन भएको छ, यस क्षेत्रका व्यवसायीलाई परेको पीरमर्का हटाउनुपर्छ”, उनले भने ।

महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेले मुलुकको आर्थिक समृद्धिका लागि घरजग्गा व्यवसायी सरकारसँग हातेमालो गर्न तयार रहेको बताए । व्यवसायीले झल्दै आएको नीतिगत तथा कानुनी उल्झन हटाइदिन उनको आग्रह छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

प्रतिक्रिया दिनुहोस्
Pin It