News

घर-जग्गा कारोबारमा थप कडाइ, बैंक स्टेटमेन्ट अनिवार्य

By BabinaJune 4, 20253 min read
घर-जग्गा कारोबारमा थप कडाइ, बैंक स्टेटमेन्ट अनिवार्य

काठमाडौं । सरकारले घर-जग्गा कारोबारमा थप कडाइ गरेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले गत जेठ १४ गते ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०८२’ जारी गर्दै कारोबारमा कडाइ गरेको  हो ।

विभागबाट जारी निर्देशनअनुुसार अब घरजग्गाको कारोबार सूचीकृत कम्पनीबाट मात्रै गर्नुपर्ने भएको छ ।  आर्थिक करोबार बैंकिङ प्रणालीमा देखिनेगरी विद्युतीय वा चेकमार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, जग्गा पास गर्दा केवाइसी (KYC) फारम समावेश गर्नुपर्ने र खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा रकम जम्मा भएको बैंक स्टेटमेन्ट लिखतसँगै अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्ता छन् घरजग्गाको कारोबार गर्दा पालना गर्नुपर्ने नियमः

केवाइसी फाराम अनिवार्यः सूचक संस्थाले घर जग्गा खरिद बिक्रीको कारोबार गर्दा केता तथा विक्रेता दुवैको केवाइसी फाराम भर्न लगाई लिखत साथ सिस्टममा अपलोड गर्नुपर्नेछ । त्यस्ता फाराम भूसेवा केन्द्र भएका कार्यालयमा भूसेवा केन्द्रले र भुसेवा केन्द्र लागू नभएका कार्यालयमा कार्यालयको सर्भिस डेक्सले भर्न लगाइ लिखत साथ सिष्टममा अपलोड गर्नुपर्नेछ ।

भूसेवा केन्द्रले KYC फाराम भरी पेश गर्नुपर्नेः नयाँ सेवा केन्द्र दर्ता गर्न चाहने व्यक्ति वा संस्था र पुराना भूसेवा केन्द्रको नवीकरण गर्न चाहने भूसेवा केन्द्रले त्यस्ता भूसेवा केन्द्रको अनुसूची- ३ बमोजिम र सोका सञ्चालकको अनुसुची- २ बमोजिमको केवाइसी फाराम भर्न लगाई कार्यालयले सुरक्षित राख्नुपर्नेछ ।

बैंकिङ्ग प्रणालीमार्फत् कारोबार गर्नुपर्नेः घर जग्गा खरिद बिकीको कारोबार गर्दा १० लाखदेखि माथि ५० लाख रुपैयाँसम्मको कारोबार बैंकिङ प्रणाली वा विद्युतीय भुक्तानी प्रणालीमार्फत गर्नुपर्नेछ । तर ५० लाख रुपैयाँ भन्दा बढी रकमको करोबार विद्युतीय भुक्तानी प्रणाली मार्फत सोझै र चेक मार्फत गर्दा बिक्रीकर्ताको नाममा तयार गरिएको ‘गुड फर पेमेन्ट’ मार्फत गर्नुपर्नेछ ।

बैंकिङ विवरण संलग्न गर्नुपर्नेः घर जग्गा खरिद बिक्रीको कारोबार गर्दा सूचक संस्थाले खरिदकर्ताको बैंक खाताबाट बिक्रेताको बैंकमा कारोबार बराबरको रकम जम्मा भएको प्रमाण (बैंक स्टेटमेन्ट) लिखतसाथ समावेश गर्नुपर्नेछ ।

राजश्व खातामा जम्मा गर्नुपर्नेः बैंक मार्फत राजश्व दाखिला गर्ने व्यवस्था भएका कार्यालयको हकमा दश लाख भन्दा बढीको घर जग्गा खरिद बिक्रीको कारोबार गर्दा लाग्ने रजिष्ट्रेशन बापतको शुल्क र दस्तुर खरिदकर्ताको खाताबाट र लाभकर बापतको राजश्व बिक्रेताको खाताबाट सम्बन्धित कार्यालयले तोकिदिएको राजश्च खातामा जम्मा गर्नुपर्नेछ ।

बैनाबट्टाको कागजमा खुलाउनुपर्नेः घरजग्गा कारोबार गर्दा स्थानीय तहले प्रमाणित गरेको वैनाबट्टाको कागज पेश गरेमा १० लाख रुपैयाँ भन्दा बढीको वैनाबट्टा भएको भए त्यस्तो रकम खरिदकर्ताको बैंक खाताबाट विक्रीकर्ताको बैंक खातामा बैंकिङ्ग वा विद्युतीय कारोवार प्रणाली मार्फत लेनदेन भएको विवरण बैनाबट्टाको कागजसाथ पेश गर्नुपर्नेछ ।

कारोबारको विवरण वित्तीय जानकारी इकाइमा पठाउनुपर्नेः घर जग्गाको खरिद विक्री गर्ने खरिदकर्ता वा विक्रीकर्ताले एक दिनमा एकपटक वा पटकपटक गरी रु तीन करोड वा सो भन्दाबढि रकमको कारोबार गर्दा कार्यालयले सो को विवरण नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा पठाउनु पर्नेछ ।

शङ्कास्पद कारोवारको विवरण पठाउनु पर्नेः घर जग्गा खरिद वा विक्रीको कारोबार शंकास्पद देखिएमा कार्यालय र सूचक संस्थाले सो को जानकारी नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा पठाउनु पर्नेछ ।

प्राकृतिक व्यक्ति र कानुनी व्यक्तिलाई जनाउनेः यस निर्देशनमा उल्लेख भएको घर जग्गा खरिद बिक्रीको कारोवार गर्ने व्यक्ति भन्ने शब्दले प्राकृतिक व्यक्ति र कानुनी व्यक्ति दुवैलाई जनाउँछ ।

निर्देशनको पालना गर्ने दायित्वः यस निर्देशनको पालना गर्ने दायित्व घर जग्गा खरिद र विक्रीकर्ता, सूचक संस्था र कार्यालयको हुनेछ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले यस निर्देशनको पालना भए नभएको अनुगमन गरी निर्देशन विपरीत भएको पाइएमा ऐन र नियमावली बमोजिम कार्वाहीको प्रकृया अगाडि बढाउनेछ ।

घर-जग्गा किनबेचसम्बन्धी निर्देशनमा उल्लेख भएको ‘व्यक्ति’ भन्ने शब्दले प्राकृतिक व्यक्ति (जस्तैः व्यक्ति) र कानुनी व्यक्ति (जस्तैः कम्पनी वा संस्था) दुवैलाई जनाउँछ । यस निर्देशनको पालना गर्ने दायित्व घर-जग्गा किन्ने र बेच्ने दुवै पक्ष, सूचक संस्था (जस्तै: नोटरी वा रजिष्ट्रार कार्यालय), र सम्बन्धित सरकारी कार्यालयको हुने निर्देशिकामा उल्लेख छ । सो निर्देशनको कार्यान्वयन भए-नभएको अनुगमन भूमि व्यवस्थापन तथा अभिलेख विभागले गर्नेछ । यदि यो निर्देशनको उल्लंघन भएको पाइएमा, सम्बन्धित कानुन र नियमावलीअनुसार आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइने निर्देशिकामा उल्लेख छ ।

घर तथा जग्गा खरिदबिक्रि गर्न बसोबास डटकम भिजिट गर्नुहोला ।

Property Law 2025Property Transaction Rules 2025Real Estate Regulation Nepal

You May Also Like

More stories from Basobaas