News

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: सबै काम सम्पन्न उडान सुरु हुनेमा अझै अन्योल

By BabinaJuly 1, 20222 min read
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: सबै काम सम्पन्न उडान सुरु हुनेमा अझै अन्योल

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पूर्वाधार तर्फको सबै काम सम्पन्न भएको छ । पर्यटकहरूको लोकप्रिय गन्तव्यको रूपमा गण्डकी प्रदेशको राजधानी पोखरालाई सिधा अन्य देशहरूसँग जोड्ने उद्देश्य सहित विमानस्थलको निर्माण सुरु गरिएको हो । चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित तत्कालीन  प्रधानमन्त्री केपी शर्मा ओलीले वि.सं  २०७३ साल वैशाख १ गते शिलान्यास गरेका थिए । निर्माणको जिम्मा भने चिनियाँ निर्माण कम्पनी सिएमसीइले पाएको थियो । 

चीनको एक्जिम ब‌ैंकको ऋण तथा अनुदान सहयोगमा करिब २२ अर्ब रुपियाँको लागतमा विमानस्थलको निर्माण भएको हो । विमानस्थल करिब ३७ सय रोपनी क्षेत्रफलमा निर्माण भएको छ ।

गत जुलाई १० मा काम सक्ने गरि निर्माण जिम्मा लिएको चिनियाँ कम्पनीले शिलान्यासको डेढ वर्ष पछि काम थालेको थियो । कम्पनीले कोरोना महामारीको समयमा समेत निर्माण कार्यलाई निरन्तरता दिइरहेको थियो । महामारीले तोकिएको समयमा काम सम्पन्न नभएपछि थपिएको म्याद जुलाईमा सकिएको हो । 

हाल विमानस्थल हवाइ उडान र अवतरणका लागि पूर्ण रूपमा तयार भएको आयोजना पक्षले जनाएको छ । आपतकालीन अवस्थामा विमानस्थललाई प्रयोगमा ल्याउन सकिने भएको छ । विमानस्थल सञ्चालनका लागि चाहिने सम्पूर्ण उपकरणहरू जडानको काम पुरा भइसकेको छ । 

विमानस्थलमा न्यारोबडी एयर बस ३ सय २० र बोइङ ७ सय ३५ जहाज उडान र अवतरण गर्न सकिन्छ । यी जहाज २ सय सिट भन्दा कम क्षमताका हुन् । यस विमानस्थलमा ३ ओटा ठूला र ८ ओटा साना गरि ११ ओटा जहाज पार्किङ क्षमता रहेको छ । विमानस्थलको धावन मार्ग २५ सय मिटरको रहेको छ । यसको चौडाइ ४५ मिटर तथा  धावन मार्गको मोटाइ ३४ सेन्टिमिटर छ । 

व्यस्त समयमा विमानस्थलमा प्रतिघण्टा ६ सय १० जना यात्रु व्यवस्थापनको क्षमता रहेको छ । १४ हजार आन्तरिक र अन्तराष्ट्रिय टर्मिनल भवन रहेको छ । यस विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा हेरिएको छ । 

विमानस्थलको ९३ प्रतिशत काम पुरा भएपछि चैतमा चिनियाँ निर्माण कम्पनीले महत्वपूर्ण पूर्वाधार सकिएको भन्दै नेपाललाई हस्तान्तरण गरेको थियो । 

विमानस्थलका केही क्षेत्रमा तारबार र सरसफाइ बाहेक केही आन्तरिक काम बाँकी नरहेको आयोजनाका उप प्रबन्धक इन्जिनियर कृष्णप्रसाद पौडेलले सिद्बिबाबा अनलाइन टि भी लाई जानकारी दिएका छन् ।  हाल कर्मचारीहरूलाई प्रशिक्षणको लगायतका काम भइरहेको छ भने योजनामा रहेका सम्पूर्ण काम भइसकेको बताइएको छ । विमानस्थलको लागि आवश्यक ३ ओटा अग्नि नियन्त्रक साधन भित्र्याइएको छ । 

विमानस्थलको मुख्य भवनसँगै १४ भवनहरूको निर्माण र सजावटको काम सकिएको छ । आन्तरिक र बाह्य टर्मिनल भवन, धावनमार्ग, एयर ट्राफिक कन्ट्रोल रुम, ट्याक्सी वे, पार्किङ तथा ड्रेन, हाई मास्ट फ्लड लाइट, ट्रान्सफर्मर बक्स, फुटपाथ, लिफ्ट, विमानस्थललाई राजमार्गसँग जोड्ने सडक, विमानस्थल भित्रका स्थानहरूलाई जोड्ने सडक, जहाज पार्किङ, एयर साइड र ल्यान्ड साइडका मुख्य कार्यहरू सम्पन्न भइसकेको छ ।

विमानस्थल निर्माण सम्पन्न भएपनि जहाजका लागि आवश्यक इन्धन डिपो भने अझै निर्माण भएको छैन । पोखराको हाल चालु विमानस्थलबाट आयल निगमले इन्धन ढुवानी गरिदिने आश्वासन दिएको छ । त्यसका लागि निगमले इन्धन क्षमता वृद्बि गरेको छ भने दुईओटा विमानस्थलको दुरी ३ किलोमिटर रहेको छ । 

हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आगामी जनवरी १ देखि विमानस्थलबाट हवाई सेवा सञ्चालन गर्ने लक्ष्य राखेको थियो । हाल विमानस्थल तीन महिनाभित्र सञ्चालनमा ल्याइने भनिए पनि नेपाल सरकार र स्थानीय तहको उदासीनताका कारण तोकिएको समयमा उडान सुरु हुने नहुने भने निश्चित छैन । 

infrastructure of pokhara international airportlatest construction update of pokhara international airportlength of pokhara international airportpokharaPokhara International Airport

You May Also Like

More stories from Basobaas