News

सरकारद्वारा भारतीय नेताको काठमाडौं र धरानस्थित घरजग्गा जफत

Pinterest LinkedIn Tumblr

काठमाडौं । सरकारले आपराधिक गतिविधिमा संलग्न भारतीय नेताको काठमाडौं र धरानस्थित घरजग्गा जफत गरेको छ । गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले भारतको असाम राज्यका निरञ्जन होजाईको घरजग्गा जफत गरेको हो ।

होजाईले सिन्धुपाल्चोककी सरिता गिरीसँग बिहे गरी उनको नाममा जोरपाटीमा १२ आना जग्गा र त्यसमा बनेको घर र धरान उपमहानगर– ८ मा एउटा घर खरिद गरेका थिए । हाल सो घरजग्गा खाली गरिसकिएको र अब लिलामीबाट बिक्री गरिने विभागले जनाएको छ । भने धरानको घर पनि जफत गर्ने प्रक्रिया अघि बढाइएको छ ।

विगतमा आतंकवादी गतिविधिमा संलग्न होजाईले नेपालबाट निर्मल राईको नाममा नागरिकता लिएका छन् । उनले सरिता र उनको परिवारको नाममा सम्पत्ति लुकाएको अनुसन्धानमा भेटिएपछि मुद्दा दायर भएको थियो । 

सुरुमा अनुसन्धानका लागि सबै सम्पत्ति रोक्का गरिएको थियो । हाल जफत प्रक्रिया अघि बढेको छ । अनुसन्धानको समयमा सरिताको बैंक खातामा एक करोड ५९ लाख ८० हजार रुपैयाँ र गाडी बरामद भएको थियो ।

सरिता २०६९ सालमा पक्राउ परेकी थिइन् । उनको परिवारविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दाको सुनुवाइमा अदालतले सरितालाई १९ पुस २०७० सालमा दोषी ठहर गरी सम्पत्ति जफत गर्ने फैसला गरेको थियो । जुन फैसला हाल कार्यान्वयनमा आएको हो । 

होजाइलाई नेपाल प्रहरीले २०६८ सालमा नै पक्राउ गरि भारतलाई बुझाएको थियो । नेपालमा मुद्दा हुँदाहुँदै त्यसतर्फ अनुसन्धान गरी गोप्य रूपमा उनको सुपुर्दगी (अपराधीलाई लैजाने वा ल्याउने औपचारिक विधि) भएको थियो । 

नेपालको कानुनमा भने फरार अभियुक्त होजाईलाई अदालतले चार वर्ष कैद र आठ करोड ६३ लाख ४७ हजार चार सय ४७ जरिवाना गरेको छ । 

भारतमा नेसनल इन्भेस्टिगेसन एजेन्सी (एनआइए)ले होजाईविरुद्ध मुद्दा दायर गरेको थियो । राज्यकोषको करोडौँ रकम राज्यविरुद्ध नै युद्ध लड्न भन्दै दुरुपयोग गरेको अभियोगमा सन् २०१७ मा उनी दोषी ठहर भएका थिए । 

त्यसअघि नै जेलबाट छुटिसकेका उनी भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरी राजनीति गरिरहेका छन् । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It