News

नेपालमै पहिलोपटक स्वदेशी कच्चापदार्थ प्रयोग गर्दै सेरामिक इण्डष्ट्रिज

Pinterest LinkedIn Tumblr

काठमाडौं । नेपालमा पहिलोपटक स्वदेशी कच्चा पदार्थको प्रयोगसहित टायल उत्पादन शुरू भएको छ । नेपाल सेरामिक इण्डष्ट्रिज प्रालिले नेपोभिट ब्रान्डको टायल उद्योग स्थापना गरी स्वदेशी उत्पादन थालेको हो । बाराको जितपुर सिमरा उपमहानगरपालिका–८ मा सञ्चालित प्रालिले लामो समयदेखि विदेशी टायल र हार्डवेयर सामग्री नेपाल ल्याएर देशभर बिक्री गर्दै आएको थियो ।

भारतीय उद्योगको गहन अध्ययन पछि नेपाली भूमिमा स्वदेशी कच्चा पदार्थको प्रयोग गरी उद्योग सञ्चालनमा ल्याएको प्रालिले जनाएको छ । केहि समय अघिसम्म भारतबाट माटो आयात गर्ने गरेको भएता पनि हाल टायल उत्पादनका लागि ५० प्रतिशत नेपाली माटो नै प्रयोग हुने गरेको छ । कम्पनिका अनुसार, शुरूका तीन महिना भारतको राजस्थानबाट माटो ल्याउने गरिन्थ्यो । 

हाल बारा, मकवानपुर र दोलखा लगायतका जिल्लाको माटो परिक्षण पश्चात टायल उत्पादन गरिएको छ । टायलमा प्रयोग गरिने रङ र ग्लेज भने विदेशबाट आयात गर्ने गरिन्छ । कम्पनीले उपकरणका लागि मात्रै ७० करोड रुपैयाँ खर्च गरेको बताएको छ ।

उद्योगले सम्पूर्ण उपकरण इटलीमा बनेकाले नेपाली माटोबाट उत्पादित टायल भारतीय ब्रान्डेड टायलभन्दा राम्रो गुणस्तरको भएको उद्योगको दावी छ । उद्योगले १ हजार २ सय डिग्री तापक्रममा दुवै किसिमका माटो परिक्षण गरेको थियो । जसमा नेपाली माटो ४५ प्रतिशत पग्लिएको थियो भने भारतीय माटो ३२ प्रतिशत मात्र पग्लिएको थियो । सोहिकारण नेपाली माटो टायलका लागि उत्तम रहेको उद्योगले जनाएको छ । 

गुणस्तरका हिसाबले पनि नेपाली टायल भारतीयभन्दा अब्बल भएको कम्पनीको दावी छ । भारतीय माटोबाट बनेको टायलले ३ सय ५० केजी मात्र थेग्ने कम्पनीले जनाएको छ । जबकि नेपाली माटोबाट बनेको टायलमा चार सय ३० केजी भार थेग्नसक्ने क्षमता छ । 

माटो उद्योगसम्म आइपुग्दा नेपाली माटोको तुलनामा भारतीय माटो प्रतिकिलो पाँच रूपैयाँ महंगो पर्ने कम्पनीले जनाएको छ । उद्योगले महिनामा ७ हजार २ सय टन माटो खपत गर्दै आएको छ । झण्डै तीन वर्षअघि उद्योगको काम थाल्दा गरिएको अध्ययनमा हरेक वर्ष ३० अर्ब रुपैयाँ बराबरको टायल विदेशबाट आयात हुँदै आएको थियो । तर उद्योगले १० प्रतिशत आयात विस्थापन हुने गरी उत्पादन थालेको छ ।

हाल उद्योगले मासिक २० करोड रुपैयाँको हाराहारीका तीन सय ५० डिजाइनका टायल उत्पादन गरेर बिक्री गर्दै आएको छ । हालसम्म उद्योगबाट उत्पादित टायल देशका सबै क्षेत्रमा टायल पुगिसकेका छन् । 

५ बिघा १२ कट्ठा जमिनमा करीब १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानीमा सञ्चालनमा आएको उद्योगमा ४ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । 

शुरूमा भारतबाट १ सय ५० जना प्राविधिक कामदार ल्याएको थियो । हाल घटाएर एक सयमा झारिएको छ भने यो संख्या क्रमशः घटाउँदै लैजाने उद्योगको योजना रहेको छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It