News

अब हदबन्दीभन्दा बढीको जग्गा किन्न र घर बनाएर बेच्न पाइने

By BabinaMay 19, 20251 min read
अब हदबन्दीभन्दा बढीको जग्गा किन्न र घर बनाएर बेच्न पाइने

काठमाडौं । सरकारले हदबन्दीभन्दा बढीको जग्गा किन्न र र घर बनाएर बेचबिखन गर्न पाइने व्यवस्था ल्याएको छ । बुधबार प्रतिनिधि सभामा भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको भूमि विधेयक पारित भएसँगै यस्तो कानुनी व्यवस्था स्थापित भएको हो ।

अधिकारीले प्रस्तुत गरेको भूमि विधेयकमा घरजग्गा व्यवसाय गर्न अनुमति लिएका कम्पनीहरूले सूचित आदेशले तोकेको हदभित्रको जग्गा किन्न, घडेरी बनाउन र त्यहाँ निर्माण गरिएका घरहरू बिक्री गर्न सक्ने कानुनी प्रावधान समेटिएको छ ।

भूमि व्यवस्थामन्त्री अधिकारीले २०२१ सालको ऐनलाई संशोधन गरी नयाँ व्यवस्थालाई समेट्न आवश्यक रहेको तर्क प्रस्तुत गरे । उनले नयाँ विधेयकले घरजग्गा व्यवसायका क्रममा देखिएका कानुनी द्विविधा हटाउने उद्देश्यले ल्याइएको स्पष्ट पारे ।

यसअघि, सरकारले गत माघ २ गते ल्याएको अध्यादेशमा हदबन्दी छुटको जग्गा बिक्री गर्न दिने व्यवस्था समेटिएको थियो । तर, त्यो अध्यादेश संसद्बाट पारित हुन सकेको थिएन । नयाँ विधेयकले त्यही अध्यादेशका प्रावधानलाई निरन्तरता दिने गरी संशोधन गरेको हो ।

बुधबार प्रतिनिधि सभामा प्रस्तुत भएको यो विधेयक मन्त्री अधिकारीले यही वैशाख २३ गते प्रतिनिधि सभामा दर्ता गरेका थिए ।

विधेयकमा भनिएको छ, ‘घर जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले सूचित आदेशले तोकेको हदभित्रको जग्गा प्रचलित कानूनबमोजिम जग्गा विकास गरी घडेरी वा त्यस्तो घडेरीमा घर निर्माण गरी बिक्री गर्न सक्ने ।’

यस्तो प्रावधान ल्याउनुको कारणमा सरकारले घर जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले सूचित आदेशले तोकेको हदभित्रको जग्गा प्रचलित कानूनबमोजिम जग्गा खरिद गर्न सक्ने तर बेचबिखन गर्न सक्ने वा नसक्ने भन्ने सम्बन्धमा द्विविधा हटाउन आवश्यक रहेको भनेर प्रष्टीकरण दिएको छ ।

विधेयकमा थपिएका व्यवस्थाले घरजग्गा व्यवसायका लागि थप अवसर सिर्जना गर्ने सरकारको विश्वास छ । तर, यसमा लागू गरिने सर्तहरूबारे विस्तृत प्रष्टिकरण भने अझै आउन बाँकी छ ।

बसोबासमा लिस्टेड कमर्सियल प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

Housing SectorLand CeilingLegal Provisionsnepal real estateNew Land BillProperty Development

You May Also Like

More stories from Basobaas