काठमाडौं । पश्चिम नेपालको हब भनेर चिनिने नेपालगञ्ज विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण सुरु भएको छ । विमानस्थलमा रहेको पुरानो भवनको विकल्पमा आधुनिक सुविधा सम्पन्न टर्मिनल भवन निर्माणको काम सुरु भएको हो । भवन निर्माणका लागि कुल लागत ३ अर्ब १ करोड (करसहित) छुट्याइएको छ ।
टर्मिनल भवन निर्माणको जिम्मा पाएको शर्मा एण्ड कम्पनीले हाल टर्मिनल भवन निर्माणको फाउन्डेसनको काम थालेको छ । एउटा भवनको फाउन्डेसन निर्माणको काम ८० प्रतिशत भइसकेको छ भने २ वटाको फाउन्डेसनको काम सम्पन्न गरिसकेको छ ।
फाउन्डेसन निर्माणको काम सकिएको भवनमध्ये एउटामा डन्डी कस्ने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । सम्झौताअनुसार कम्पनीले तीन वर्षमा भवन निर्माणको काम सम्पन्न गरिसक्नुपर्नेछ । पिक आवरमा प्रतिघण्टा १६ सय यात्रु क्षमताको हुने नयाँ भवनमा बालबालिकाका लागि खेल्ने ठाउँसमेत निर्माण हुनेछ ।
भवनमा व्यवसायिक प्रयोजनका लागि धेरै स्पेस छुट्याइएको छ । कुल १३ हजार १ सय ४४ वर्गमिटरमा निर्माण हुने भवनसँग पार्किङ, पहुँच मार्ग र ल्यान्ड स्केपिङ आदिको संरचना निर्माण हुनेछ । त्यस्तै, हाल विमानस्थलको धावनमार्ग १५०० मिटरबाट २०० मिटर थप गरि १७०० मिटर बनाइएको छ ।
रनवे लाइट र ओभर-ले समेत सम्पन्न भएको छ भने ६ वटा एटिआर वा सोसरहको जहाज पार्क गर्नको निमित्त रिजिट एप्रोनको निर्माणसमेत सम्पन्न भइसकेको छ ।
भवन मूलतः आन्तरिक हवाई यात्रुका लागि डिजाइन गरिए तापनि क्रस बोर्डर उडान अवतरणको सम्भावनालाई समेत मध्यनजर गरेर आन्तरिक तथा अन्तराष्ट्रिय हवाइ यात्रुलाई समेत सोही भवनबाट सुविधा दिन सकिने गरी व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।
त्यसबाहेक नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालगञ्ज लगायत विराटनगर, महेन्द्रनगर, रामेछाप विमानस्थलमा पनि भवन बनाउने उद्घोष गरिसकेको छ । यसैगरी प्राधिकरणले चितवनको भरतपुर विमानस्थलमा नेपाली सेनाको घोडा प्रजनन केन्द्र लिएर विमानस्थल विस्तार तथा भवन बनाउने उद्घोष गरेको छ ।