News

नागढुंगा नौबिसे सुरुङमार्गकाे ५० प्रतिशत काम सम्पन्न, घण्टौँ जाममा बस्नुपर्ने समस्याबाट छुटकारा

Pinterest LinkedIn Tumblr

काठमाडौं- नेपालको राष्ट्रिय गौरवका आयोजना नागढुंगा नौबिसे सुरुङमार्गकाे काम तिव्र गतिमा भइरहेको छ । औपचारिक रुपमा २०७६ कार्तिक २८ सुरु भएको सुरुङमार्गकाे भौतिक प्रगति ५४ प्रतिशत भएको छ भने समग्र भौतिक प्रगति ३८ प्रतिशत पुगेको बताइएको छ ।

मुख्य सुरुङकाे हालसम्म १ हजार २ सय ५० मिटर काम भइसकेको छ भने सहायकको १ हजार ४ सय ५० मिटर काम सकिएको छ । क्रस प्यासेज तर्फ १ सय २८ मिटर मध्य ४८ मिटर काम भइसकेको साथै १ सय २६ मिटर वर्किङ अडिटकाे काम सकिएको छ । आयोजनाले आर्थिक वर्ष २०७७/७८ को पुसको पहिलो सातादेखि सुरुङ खन्न थालेको थियो । मुख्य सुरुङकाे लम्बाइ २६८८८ मिटर र चौडाइ ९ मिटर रहेको छ भने सहायकको लम्बाइ २५५७ मिटर र चौडाइ ४ मिटर रहेको छ । 

आकस्मिक अवस्थाकाे लागि छुट्टै एक लेनको सहायक सुरुङ पनि धमाधम बनिरहेकाे छ । मुख्य सुरुङमार्गमा कुनै समस्या तथा आपत्‌कालिन अवस्था आएमा सहायक सुरुङमार्गकाे प्रयोग गरि त्यस्ता दुर्घटना सम्बोधन गर्न आयोजनाले प्रत्येक ३ सय ७५ मिटरमा मुख्य टनेल र सहायक टनेललाई एक आपसमा जाेडेकाे छ ।

त्यसैगरी ३ ओटा अन्डर पास, ४ ओटा बक्स कल्हट, दुईओटा ओभरपास, फ्लाइओभर लगायत अन्य १२ ओटा भौतिक संरचना निर्माण गर्नुपर्नेमा हाल १० ओटा निर्माण भइसकेको बताइएको छ । अब फ्लाइओभर र अन्डर पासकाे काम मात्रै बाँकी रहेको बताइएकाे छ । एक्सेस रोडकाे काम पनि तिव्र गतिमा भइरहेको छ । सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यही निर्माणका क्रममा प्रयोग गरिएकाे छ । सुरुङबाट निस्किएकाे माटोलाई एक्सिस रोड लेबलिङमा प्रयाेग गरिएकाले दुवै काम सगँसगैँ सकिने बताइएको छ । 

धादिङ तर्फको सडक चौडा पारि पहिरो रोक्नका लागि वाल लगाइसकिएको छ । सडक फिनसिङकाे चरणमा रहेको छ । हाल १/२ ओटा जग्गा अधिकरणको गर्न र फिनसिङ गरिएको ठाउँमा कलरिङ र बत्ती जडानको काम मात्र बाँकी रहेको छन् । योजनाकाे ठेक्का १५ अर्ब र मुआब्जा ६ अर्ब रुपैयाँ भन्दा बढी गरेर करिब २२ अर्ब रुपैयाँ पुग्ने बताइएको छ । 

नेपालमा पाँच सय मिटरभन्दा बढी लम्बाइको यो पहिलो सुरुङ मार्ग हो । जापान सरकारको ‘सफ्ट लोन’ मा निर्माण भइरहेको सुरुङमार्गको निर्माण अवधि ४२ महिना रहेको छ । नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेसनबीच वि.सं २०७६ असोजमा सम्झौता भएको थियो। 

nagdhunga naubise tunnel

४२ महिनामा सम्पन्न गर्ने गरी सुरु भएको सुरुङ निर्माण कार्य काेराेना महामारी, लकडाउन र स्थानीय अवरोधका कारण ५ महिना काममा ढिलासुस्ती भएको थियो । अवरोधका कारण काममा ढिलासुस्ती भए पनि ४२ महिनामा नै काम सम्पन्न गर्ने गरि निर्माण कार्य अघि बढाइएको बताएको छ । नागढुंगा नौबिसे सुरुङमार्ग निर्माण २०८० असार मसान्त सम्म सक्ने गरि द्रुत गतिमा भइरहेको छ। धादिङको सिस्नेखाेला देखि काठमाडौंको चन्द्रागिरि नगरपालिका अन्तर्गत डाेटीटाेलमा निस्कने याे सुरसङमार्ग करिब २ किलाेमिटरकाे पहुँचमार्ग हुदैँ त्रिभुबन राजपथ बलम्बुमा जोडिन्छ । 

सुरुङमार्गमा निर्माण सामाग्री देखी प्राविधिकसम्मकाे टाेली जापानबाट ल्याइएकाे र केहि नेपाली इन्जिनियरलाई तालिमकाे साथ काममा लगाइएकाे छ । यस परियाेजनाले २ सय नेपालीलाई राेजगारी दिएकाे छ । उनिहरु याे परियाेजना सँगै दक्ष भएर निस्कने अपेक्षा गरिएको छ । ति दक्ष जनशक्तिलाई भावी सुरुङमार्ग निर्माणमा लगाउने सरकारकाे याेजना रहेको छ ।  

सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिकरुपमा घण्टौँ जाम हुने समस्याबाट छुटकारा मिल्ने र बाटाे छाेटिने छ । निर्माण सम्पन्न पश्चात याे नै नेपालकाे पहिलाे सुरुङमार्ग हुनेछ । 

प्रतिक्रिया दिनुहोस्
Pin It